भर्खरै :

मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा

– हरिकुमार राई
गाईघाट, ३० फागुन ।
वारी है, खोला नी हौ पारी है खोला
बिचैमा दोभान हौ देशै रमाइलो
हासेर नी हौँ पनि, बोलेर नी हौँ
बिताउन जोवन, लङ्घा मजुले…
पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुटा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा रहँदै आएको छ । मुख्य गरेर धनकुटा तथा मोरङको ज्यामिरे, बुधबारे, केराबारी तथा पथरी, लेटाङ क्षेत्रका मगरमा लोकप्रिय रहेको हुर्रा नृत्य पन्ध्र वर्षदेखि उदयपुरमा पनि भित्रिन पुगेपछि यतिखेर उदयपुरका मगरजातिहरू हुर्रा नाचको संरक्षण तथा प्रचारप्रसारको अभियानमा जुटेको जिल्लाका मगरयुवाहरू बताउँछन् ।
जिल्ला मगर सङ्घ उदयपुरका अध्यक्ष भक्तबहादुर बुर्जामगरका अनुसार २०६० सालमा पहिलोपटक उदयपुरमा पूर्वेली मगरमाझ लोकप्रिय रहेको हुर्रानाच उदयपुरको मुर्कचीमा भित्रिएपछि त्यहाँ पनि यो लोकप्रिय बन्दै गएको हो ।
अहिले हुर्रा नृत्य उदयपुरको मुर्कची, जिल्लाको सदरमुकाम गाईघाट, साउने, खाँबु, बासबोटे, कटारी, सिद्धिपुर, पाँबु, नामेटार, रामेटार, रौता मलबासे क्षेत्रमा व्यापक लोकप्रिय बन्दै गएपछि मगरका विभिन्न सङ्घसंस्था तथा युवा यसको संरक्षण अभियानमा लागेको कुरा जिल्ला मगर सङ्घका प्रतिनिधि बताउँछन् ।
जिल्ला मगर सांस्कृतिक सङ्घ उदयपुरका अध्यक्ष दलबहादुर मगरका अनुसार हुर्रा नाच पूर्वेली मगरको पहिचना भएका कारण उदयपुरमा पनि यसको संरक्षण अभियानमा आफूहरू जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका पस्श्चिमे मगरहरू कौडा नृत्यले चिनिन्छन् भने पूर्बेली मगर हुर्रानाच र सोरठी नाचले चिनिन्छन्, यसमा पनि हुर्रानाच पन्ध्र वर्ष अगाडिमात्र उदयपुरमा भित्रिएकाले यसको संरक्षणमा सङ्घ अहिले लागिपरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *