भर्खरै :

अफगानिस्तानको युद्ध अन्त्य गर्न अमेरिकी सांसदहरूको दबाब

वासिङ्टन, ३० फागुन (सिन्ह्वा) । अमेरिकी संसद्ले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दबाब दिएका छन् ।
सबैभन्दा लामो अवधिसम्म चलेको मानिने अफगानिस्तान युद्ध झण्डै १८ वर्षदेखि जारी छ ।
“अफगानिस्तानमा भइरहेको युद्ध चाँडै नै अन्त्य गरिनुपर्दछ । लडाइँ सुरु हुँदाताका जन्मिएका अमेरिकी बालबच्चा अहिले त्यही लडाइँमा होमिन योग्य हुन थालिसके,” एक जना रिपब्लिकन सांसद रान्ड पल र डेमोक्र्याटिक सांसद टोम उडालले अमेरिकी सञ्चारमाध्यम दी एट्लान्टिकमा लेख्नुभएको छ ।
उहाँहरूले लेख्नुभएको छ, “हामीले अमेरिकी जनताको आवाजलाई ध्यानपूर्वक सुन्नुपर्दछ । अमेरिकी जनता मध्यपूर्वमा जारी कहिल्यै नटुङ्गिने युद्धको पूरै विपक्षमा छन् ।”
उहाँहरूले भन्नुभएको छ, अमेरिकी सेनाको निरन्तरको उपस्थितिले पनि अफगानी जनता र त्यहाँको केन्द्रीय सरकारलाई कुनै पनि हालतमा सक्षम तुल्याउन सक्दैन । दुवै सांसदले गत साता एक वर्षभित्र अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता गर्ने गरी अमेरिकी रक्षा मन्त्रालयसमक्ष एउटा योजना तयार गर्न आग्रह गर्नुभएको थियो ।
मङ्गलबार कतारको राजधानी दोहामा जारी अमेरिका र अफगानिस्तनमा युद्धरत तालिबान पक्षबीचको वार्ता सकिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त वार्तामा “अर्थपूर्ण प्रगति” भएको जनाएको छ ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गरेयता झण्डै २ हजार ४०० अमेरिकी सेना मारिएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घको मिसनको कार्यालयले गत वर्ष सन् २०१८ मा १० हजार ९९३ जना मारिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *