भर्खरै :

छुटेका भूकम्प प्रभावितको पुनःसर्वेक्षण गरिने

काठमाडौँ, १ चैत (रासस) : लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ जिल्लाका भूकम्प पीडितको छुट तथा पुनःसर्वेक्षण यही चैत १५ देखि शुरु गरिने भएको छ ।
भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा तोकिएका इञ्जिनीयरमार्फत स्थलगत लगत सङ्कलन गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । निजी आवास पुनःनिर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका, थप एकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताका हकमा सर्वेक्षण हुने प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।
विसं २०७४ मा छुट तथा पुनःसर्वेक्षण लगत सङ्कलन नभएका गुनासोकर्ता र तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोको पनि सर्वेक्षण गर्न लागिएको उहाँले बताउनुभयो । प्राधिकरणका सहप्रवक्ता एवं सर्वेक्षणको समन्वय गरिरहनुभएका उपसचिव मनोहर घिमिरेले यही चैत १५ देखि सर्वेक्षण शुरु गर्ने गरी तयारी भइरहेको बताउनुभयो । यसमा करीब ५५० इञ्जिनीयर परिचालन गरिएको छ ।
“कुनै वास्तविक पीडित नछुट्नु भनेर स्थानीय जनप्रतिनिधिको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो । प्राधिकरणले स्थानीय तहमा परिचालन गरेका इञ्जिनीयरमार्फत तोकिएको समयमा आ–आफ्नो लगत सङ्कलन गराउन गुनासोकर्तालाई अनुरोध गरेको छ । स्थानीय तहका पदाधिकारीलाई वास्तविक पीडितको यथार्थपरक लगत सङ्कलनमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ ।
सर्वेक्षणका बारेमा थप जानकारी चाहिएमा सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत सम्पर्क गर्न वा प्राधिकरणको पैसा नलाग्ने टेलिफोन नम्बर (टोल फ्रि) १६६०–०१–७२००० र ९८०१५–७२१११ मा फोन गर्न आह्वान गरिएको छ । तोकिएका इञ्जिनीयर एवं जिल्ला सहयोग इञ्जिनीयरका लागि ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षित इञ्जिनीयरले आ–आफ्ना जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनीयरलाई तालीम दिनेछन् । विसं २०७६ वैशाख मसान्तसम्ममा सर्वेक्षण सक्ने प्राधिकरणको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *