भर्खरै :

सामुदायिक विद्यालयहरूलाई स्तरीय बनाउनुपर्नेमा जोड

भक्तपुर, १ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा आर्जनको लागि अभिभावक र विद्यार्थीको पहिलो रोजाइ सामुदायिक विद्यालय हुनुपर्नेमा जोड दिनुभयो ।
आधारभूत विद्यालय समितिको २० औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख प्रजापतिले सामुदायिक विद्यालयहरू निजी विद्यालयसँगको प्रतिस्पर्धामा जान नहुने विचार राख्नुभयो ।
सामुदायिक विद्यालयको स्तर राम्रो बनाउन स्थानीय सरकार, शिक्षकको मेहनत र विद्यार्थीहरूको लगनशीलता आवश्यक भएको उल्लेख गर्दै उहाँले नगरभित्रका सामुदायिक विद्यालयहरूको भौतिक सुधारको लागि आर्थिक सहयोग प्रदान गर्दै आएको र शैक्षिक स्तर उठाउन शिक्षक–शिक्षिकाहरूलाई मन्टेश्वरी सिकाइ प्रविधिको तालिम सञ्चालन गरेको बताउनुभयो ।
भक्तपुरको इतिहास, भूगोल, कला–संस्कृति, सम्पदा, खेलकुद आदिको विषयमा नयाँ पुस्तालाई जानकारी दिन भक्तपुर नगरभित्रका सबै विद्यालयहरूमा शिक्षा ऐन र स्थानीय पाठ्यक्रम लागू गरेको बताउनुभयो ।
पद्म माविका स्रोतव्यक्ति धु्रवलाल हमालले आधारभूत विद्यालय समिति विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गठन भएको बताउनुभयो । शिक्षकहरूको दायित्व विद्यार्थीलाई पढाउनेमात्र नभएको चर्चा गर्दै उहाँले समाजलाई अगाडि बढाई समुदायको आवश्यकता परिपूर्तिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बासु माविका प्रअ अम्बिका न्याइच्याईले समितिले गुणस्तरीय शिक्षा र शिक्षण पद्धति परिष्कृत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै विद्यार्थीको बौद्धिक क्षमता विकासको निम्ति अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखूले देशको लागि असल नागरिक तयार गर्ने उद्देश्यले समितिको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले २०७५ सालमा अवकाश प्राप्त शिक्षक–शिक्षिकाहरूलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्नुभएको थियो । विभिन्न प्रतियोगिताका विजयीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *