भर्खरै :

मान्छे बोक्ने गाडी मान्छेले बोकेर पहिलोपटक काठमाडौँ भित्र्याएको सडकमा पुग्दा

राजन
चित्लाङबारे छलफल हुँदै गर्दा ऐतिहासिक घटनाको सम्झना आयो । बेलायतका राजाले चितवनको जङ्गलमा आजभन्दा ९७ वर्षअघि गाडी चढेर शिकार खेलेको देखेपछि राणालाई पनि गाडी चढ्न हुटहुटी जाग्यो तर सडकको पहुँच नहुँदा २७ वर्षपछि मात्र त्यो इच्छा पूरा भयो । २७ वर्षपछि पूरा भएको इच्छा सडक निर्माण भएर होइन । जहाँनिया राणा शासकले आफ्नै गाडी गुडाउनु पर्दा पनि त्यति छिटो सडक बनाउने जाँगर चलाएन बरू गाडी नै मान्छेलाई बोकाउने सजिलो उपाए रोजे । मान्छे बोक्नुपर्ने गाडी मान्छेलाई बोकाएर पहिलोपटक गाडी चित्लाङको बाटो भएर काठमाडौं भित्याह्योे । हो, त्यहीँ गाडी भित्याएको बाटो भएर जानुपर्ने भयो, हामी ख्वप कलेजका शिक्षकहरू ।
शिक्षण पेशामा आबद्ध भएर पनि अहिलेसम्म नेपालको इतिहासमा छुट्टै ऐतिहासिक घटनासँग जोडिएको ठाउँको भ्रमण गर्न नपाएकोमा सङ्कोच लागेको थियो । त्यसकारणले पनि वार्षिक रूपमा हुने शैक्षिक भ्रमणअन्तर्गत यसपालि चित्लाङको भ्रमणप्रति म उत्साहित थिएँ । ख्वप कलेजका उप–प्राचार्य राजेश श्रेष्ठको नेतृत्वमा हामी शिक्षकहरू राजकुमार प्रधान, प्रकाश नातरी, भरत ढुङ्गेल, रूपक खड्का र म फागुन २४ गते स्नातक तहका विद्यार्थीसँगै दुईदिने शैक्षिक भ्रमणमा निस्केका थियौँ।
दक्षिणकालीबाट उकालो चढ्दै गर्दा ठाउँँठाउँमा बाटो साँघुरो हुँदा निकै बेर जाममा फस्यौं । गाडीको गति बयलगाडाझैं हुन्थ्यो । दैनिक हजारांैको सङ्ख्यामा यात्रु आवतजावत गर्ने सडकको हविगत देख्दा ओलीको रेल ल्याउने उद्घोष सम्झन्छु । आफ्नै स्रोत साधनबाट बन्न सक्ने जाबो एक मिटर सडक फराकिलो बनाउन पनि असमर्थ हुने तर विदेशीसँग हात थाप्नुपर्ने योजनाको सपना जनतालाई देखाएर उनले जग हँसाइरहेका छन् । जम्मा ६० किलोमिटरको बाटो काट्न ४ घण्टा लाग्छ । गतिलो सडक भए १ घण्टामा यति दूरीको सडक पार गर्न सकिन्थ्यो । सडकको यो दुर्गतिले गाडीको टिकाउपना कति घटाउँछ, कति वातावरण प्रदूषित हुन्छ, विदेशबाट आयात गर्नुपर्ने तेलको लागि कति विदेशी मुद्रा बाहिर जान्छ, हजारौँ यात्रुको गाडीभित्रै बस्नुपर्दाको समयको मौद्रिक लागत कति होला ? यी सबै आर्थिक नोक्सानीलाई मनन गर्न जानेका भए हावा गफभन्दा यस्तो ठोस कार्यमा ध्यान दिन्थे होलान् ।
चित्लाङ पुग्नुभन्दा ११ किलोमिटर वरै कुलेखानी ड्याम छ । भूपरिवेष्ठित राष्ट्रमा बस्ने हामी अलि ठूलो पोखरीमात्र देख्दा रमाउनेको लागि कुलेखानीको केही अंश परैबाट देख्दा नै खुसीले मन गद्गद् हुन्छ । त्यही भएर होला, विद्यार्थी कुलेखानी ड्याम देख्नेबित्तिकै उत्साहित भएर चिच्याउन थाले । साँच्चै लगभग ८ किलोमिटर लम्बाइ भएको कुलेखानी जलविद्युत्को लागि पानी थुनेर बनाएको कृत्रिम ताल इन्द्रसरोवर साह्रै रमणीय रहेछ । यस ताललाई उक्त क्षेत्रको पर्यटन विकासको निम्ति प्रमुख माध्यम बनाउन सकिन्छ । पर्यटन विकास गरी स्थानीय जनताको आय आर्जन बढाउन सकिन्छ । तर, त्यति ठूलो क्षेत्रमा फैलिएको ताल भएर पनि पर्यटनको हिसाबले सीमित क्षेत्रमात्र उपयोग भएको रहेछ । सडक सञ्जालको अवस्था साह्रै दयनीय रहेकोले आन्तरिक पर्यटकसमेत निकै कममात्र आउने गरेका रहेछन् । साना साना केही सङ्ख्याको काठे डुङ्गाले पर्यटकलाई सेवा दिइरहेका रहेछन् । यहाँ त प्रधानमन्त्रीको पानी जहाजभन्दा साना साना मोटरबोटको आवश्यकता देखियो । साना साना मोटरबोट सञ्चालन गर्न दिने हो भने तालको पूरै परिक्रमा गराउँदै पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ । त्यसैगरी तालको वरिपरिको क्षेत्रलाई पर्यटक टहल्न मिल्ने गरी व्यवस्थापन गर्न सकेको भए हाम्रोजस्तो समुद्रसँग नजोडिएको देशको निम्ति समुद्री तटको भान दिलाउन सकिन्छ । जसले गर्दा फेवातालमा थुप्रिएका विदेशी पर्यटकलाई यता पनि आकर्षित गर्न सकिन्छ । आन्तरिक पर्यटक सङ्ख्या बढ्ने त छँदैछ । परिणामतः स्तरीय होटलको माग बढ्नेछ र होटलमा लगानी बढ्नेछ । यसरी समग्र क्षेत्रको आर्थिक गतिविधि ह्वात्तै बढ्नेछ ।
त्यहीको होटलमा बिहानको खाना खाएर इन्द्रसरोवरमा केही समय नौका विहारको आनन्द लिएपछि ११ किलोमिटर उत्तरमा रहेको हाम्रो प्रमुख गन्तव्य चित्लाङतिर लग्यौं । जम्मा ११ किलोमिटरमात्र भए पनि पूरै १ घण्टा धुलो खाँदै चित्लाङ पुग्यौँ। तीनतिर अग्लो पहाडले घेरिएको चित्लाङ काभ्रे जिल्लाको खोपासी बजारको झल्को दिने खालको रहेछ । पानी त छेलोखेलो नै रहेछ । जहीँतहीँपानीको कुलो पुगेको रहेछ । तर खेत बाँझै छोडेर विदेश पलायन हुने समस्या यहाँ पनि देखियो । सिँचाइको व्यवस्था पूरापूर भएर पनि थुप्रै खेतीयोग्य भूमि बाँझै छन् । मुलाको लागि प्रख्यात चित्लाङमा मुला खेतीको नामोनिशान भेटिएन । बरू भिरालो जङ्गललाई सम्याएर अर्गानिक नासपाती खेति गरिएको कृषि फार्म लोभलाग्दो छ । यस्तैगरी उपयोगविहीन भिरालो भूमिलाई वातावरणअनुकूल खेती गर्नसके नेपालको थुप्रै भूभागलाई उपयोगमा ल्याई कृषि उत्पादन बढाउन सकिन्छ ।
स्थानीय पर्यटन गन्तव्य भ्रमण गर्ने क्रममा चित्लाङको प्रख्यात धार्मिक स्थल भैरव मन्दिर पुग्यौँ । हाम्रोजस्तो अन्धविश्वासले गाँजिएको समाजमा धार्मिक संवेदनशीलतालाई दुरूपयोग गर्ने प्रवृत्ति जहाँ पनि हुनेरहेछ । हाम्रो पथप्रदर्शकले भैरवका बारेमा गुह्य कुरा खोले, “चित्लाङवासीले भैरवसँग बरदान मागे पूरा हुँदैन तर गैरचित्लाङवासीले मागे भने पूरा हुने । त्यही भएर बाहिरी जिल्लाका धेरै भक्तालु आउने गर्छन् ।” पर्यटन विकास गर्ने यो अनौठो कुरालाई पनि एउटा सिर्जनशील उपाय मान्ने कि !
भोलिपल्ट चिया नास्ता गरी चन्द्रागिरि डाँडाको टुप्पोतिर हानियो । केबुलकार नचढी चन्द्रागिरि डाँडाको टुप्पो पुग्ने नयाँ अनुभव पाउने भएर सबै विद्यार्थी रमाएका थिए । चित्लाङबाट लगभग ७ किलोमिटर पहाडको मोटर बाटो पुगेपछि त्यसभन्दा माथि गाडी जान दिँदोरहेनछ । त्यहाँबाट लगभग १५ मिनेटको ठाडो उकालो हिँडेपछि चन्द्रागिरिको टुप्पोमा पुगिदोँरहेछ । अच्चम्म ! उत्तरतिर हे¥यो भने मुन्तिर काठमाडौंको थानकोट, दक्षिणतिर हे¥यो भने मुन्तिरै चित्लाङ । तर त्यही काठमाडौंबाट चित्लाङ आइपुग्न भने लगभग ६० किलोमिटरको फन्को मार्नुपर्छ । भ्यु टावर निर्माण गर्न करोडौँ खर्च गर्नसक्ने, अर्बौंको धरहरा निर्माण गर्ने सरकारले लाखौ जनतालाई सहज हुने यति छोटो सडक बनाउन किन जाँगर नचलाएकोे होला ! थानकोटबाट लगभग १० किलोमिटर छिचोल्यो भने चित्लाङ पुग्नेरहेछ । तर, त्यो सडक निर्माणको काम रोकिएको छ । यसको पछाडि ‘समृद्धि’ ल्याउने हाम्रा नेताहरूको नै हात रहेछ । बहुसङ्ख्यक जनताको नाम लिँदै राजनीति गर्ने नौटङ्कीबाज नेताले कसरी केही व्यक्तिको स्वार्थसिद्ध हुने गरी सरकारी निर्णयलाई फेरबदल गर्छन् भन्ने उदाहरण चित्लाङदेखि थानकोटसम्मको बाटो निर्माणलाई लिन सकिन्छ । गाडीको पहुँच हुँदा चन्द्रागिरिसम्म सजिलै पुग्ने भएपछि केबुल कारको आकर्षण घट्ने र त्यसको परिणाम चन्द्रागिरि केबुलकार कम्पनीको स्वार्थमा धक्का लाग्ने हुँदा राजनीतिक दलाललाई कमिसन दिएर बाटो निर्माण कार्य ढिलो गरेको भन्ने स्थानीयको गुनासो छ ।
लगभग १ घण्टा चन्द्रागिरीको मनोरम दृश्यको अवलोकन गरी हामी सबै फेरि चित्लाङ होमस्टेको रूपमा खोलिएको घरमा फक्र्यौं जुन कहीँबाट पनि होमस्टेजस्तो चाहिँ लागेन । होमस्टेको रूपमा नेपालमा पर्यटक गाउँको विकास हुँदै गइरहेको समयमा मकवानपुर जिल्लाअन्तर्गत थाहा नगरपालिकामा रहेको चित्लाङ पनि त्यसमध्ये एक हो । अहिले चित्लाङमा होटल वा रेष्टुरेन्ट नभनी होमस्टे भन्ने चलन रहेछ । वास्तवमा होमस्टेको अर्थ घरमै बसेसरि, अघिपछि जस्तै घरमै पाक्ने खानाद्वारा अतिथिलाई सत्कार गर्ने र त्यहाँको संस्कृति र परम्परा बुझ्ने वातावरण रहन्छ । स्थानीयस्तरमा उपलब्ध हुने खाद्यवस्तुको प्रयोग गरेर अतिथिको सत्कार गरिन्छ । तर अहिले होमस्टेको वास्तविक अर्थभन्दा पनि फरक ढङ्गले होमस्टे चलिरहेका छन् । जसरी होटेल चलाइन्छ त्यसरी नै होमस्टे चलाइँदो रहेछ । नाममात्र होमस्टे अरू सबै व्यवस्थापन होटलजस्तै । जे जस्तोखाले होमस्टे भए पनि “जिब्रोको गरिमा मीठो बोलीमा” भन्ने भनाइलाई सार्थक बनाउँदै होमस्टेका मुलीले मीठो खाना खुवाएपछि मीठो बोली बोल्दै हात मिलाउँदै हामीलाई बिदाइ गरे । अनि हामी पनि प्रत्यिुत्तरमा बिदाइको हात हल्लाउँदै आफ्नो गन्तव्य ख्वप कलेजतिर लाग्यौँ ।
मान्छे बोक्नुपर्ने गाडी मान्छेलाई बोकाएर पहिलोपटक गाडी चित्लाङको बाटो भएर काठमाडौं भित्याइएको थियो । हो, त्यही गाडी भित्र्याइएको बाटोमा हिँड्दै फर्कियौँ हामी ख्वप कलेजका शिक्षकहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *