भर्खरै :

सपना

श्यामकृष्ण खुलिमुली
सपना सपना ।
जीवनको आधार ।
जिउने कला । सपना चाँद जस्तै हो, जसले औंसी परेको जीवनलाई पनि रश्मी प्रदान गरेर उज्यालो पार्छ । एकजना गरिब बाँच्छ– सपना देखेर । एकजना मजदुर बाँच्छ – सपना साँचेर । एकजना किसान बाँच्छ – सपना रोपेर । एकजना कर्मचारी बाँच्छ – सपना फुलाएर । सपनाको हत्या गर्नु जीवनको हत्या गर्नु हो ।
सपना देखाउनु ठूलो कुरा हो । तर, सपनाको व्यापार गर्नु जीवनको मोलमोलाइ गर्नु हो । सायद यही थाहा पाएर होला सपनाको व्यापार हाइब्रिड जस्तै हुर्कंदो छ । सबभन्दा घटिया व्यापार हो–सपनाको व्यापार । सबभन्दा सस्तो व्यापार हो–सपनाको व्यापार । कालो व्यापार ।
हावादारी सपना मन्द विष हो । मलाई डर लाग्न थालेको छ कतै तासको सपनाले गर्दा मानिसले सपना नै देख्न छाड्ने त होइन ? नक्कली सपनाले वास्तविक सपनाको मृत्यु हुने त होइन ?
यहाँ सपना हराउन थालेको थियो । तर, आज फेरि सपना बौरी उठेको छ । एकाएक सपनाका व्यापारीले अद्भूत, जादुमयी सपना देखाउन थालेको छ । ऊ सपना बुन्छ हरदम–मछुवारेले जाल बुनेझैं । अनि बुनिएका सपनाहरू चोक, गल्ली, सडक, सदन, सिंहदरबार जताततै बेचिहिँड्छ । मान्छे ती सपना सुनेर ताली पड्काउँछ, वाहवाही गर्छन् । अनि मीठो भविष्य बुन्न थाल्छन् । सपनामा बाँच्न अभ्यस्त मानिस फेरि सपनालाई सिरानी बनाएर सुत्छन्, सपनाको सपना देख्छन्, सपनामै बर्बराउँछन् र जब बिहानी हुन्छ तब सपनाकै ह्याङ्ओभरले पछ्याउँछ ।
सपना सस्तो भएको छ । रातमा देखिने सपना पूरा नभएपछि दिउँसै सपना देख्न थालेका छन् । रातमा देखाएका सपनाहरू पूरा गर्न नसक्नेहरूले अहिले दिउँसै सपना देखाउन थालेका छन् ।
स्वप्नपथ ।
लोक, दन्त्य, परीकथाहरू तिलस्मी हुन्छन् । त्यहाँ अनेक जादुमय संसार हुन्छ । सपनाको खेती हुन्छ । स्वप्न पथ पनि त्यस्तै हो । त्यहाँ सपना हुन्छ , फगत सपना । सपना देखाइन्छ । तर, विपना बिलकुल फरक हुन्छ ।
जब सपना यथार्थ बन्छ तब त्यहाँ विजयको उत्सव हुन्छ । नयाँ उत्साहको बीज अङ्कुराउँछ । आशाको असार पन्ध्र हुन्छ । तर जब सपना सपनामात्र बन्छ तब विश्वास डगमगाउन थाल्छ, आस्थामाथि चुक घोप्टिन्छ, उत्साहहरू गाडीको शिशाझँै झ¥यामझुरूम हुन्छन्, सडकमा असरल्ल छरपस्ट हुँदै ।
राजनीतिज्ञहरू स्वप्नद्रष्टा हुन्छन् । उनीहरू सपना उमार्छन् । जनतालाई सपना देखाउँछन् । त्यहीँ सपना प्राप्तिका लागि उलटपुलट हुन्छ । बादशाहहरूलाई घोडाबाट झारिन्छन् । स्वप्न व्यापारीले सपना देखाउँदा सबजनाको अनुहार धपक्क बल्यो । सबले आशाको दियो जलाए, समृद्धिको पूmल फुलाए तर सपनाकै अवमूल्यन भयो । सपनामाथि नै विश्वास गुम्यो । सपना सपना बन्यो ।
सपना बनाउने कर्मी को हुन् ? कर्मीले बनाएका सपनाका पुलिन्दाहरू हरेक दिन वाचन गरेर जूनसम्म पुग्न सकिन्छ ? श्यामश्वेत सपनालाई रङ्कीन बनाएर कति छलछाम गर्ने ? सपना सपना हो कि जादु ? सपना बाँडी हिँड्ने शासक हुन् कि जोकर ? सपना बाँडी हिँड्ने सेवक हुन कि व्यापारी ? अब त मलाई डर लाग्न थालेको छ कतै मानिसले अब सपनालाई पनि वस्तु बनाउने त होइन ?
सपनाका व्यापारीसँग सावधान । संसारकै सबभन्दा खतरनाक र भयानक व्यापारी कोही छ भने त्यो सपनाको व्यापारी । जसले सपना बेच्छ तर आफू नाफा कुम्ल्याउँछ । जसको सपना मिथ्यामात्र हुन्छ ।
भिखारीलाई हावाको महल, भोकालाई पानीको फोहोरा, नाङ्कालाई जहाजका स्वप्न किस्साहरू पक्कै पनि सुन्नेलाई कर्णप्रिय हुन्छ । तर सपना सपनामा सीमित भएका छन् । सपनालाई सपनाले विस्थापित गरेका छन् । सपनाहरू दोहोरिरहन्छन्– हरेक वर्ष, हरेक चुनावमा । ती हिउँझैँफुसफुसाउँछन् र हराउँछन्, कता कता । ती भूकम्पझैं आउँछन् र मान्छेका मनहरू ध्वस्त गरेर बिलाउँछन्, कता कता । सपनाको लोभमा फुरूङ भएका बिचराहरू त्यही ढलेको सपनासँगै ढलिरहेका हुन्छन्–महिना, वर्ष, दशक र जुनीसम्म पनि । तर सपनाले कहिल्यै दैलो चिहाएर हेरेन । हो, जसले सपनालाई बीच बजारमा राखेर मोलमोलाइ गर्छ । जसले अरूलाई सपना देखाउँछ तर आÇनो सपना पूरा गर्छ । जसले सपनाको विरूद्धमा सपना देखाउने दुष्कार्य गर्दछ । कतै यो सपनामाथिको विश्वास गुमाउन रचिएको षड्यन्त्र त होइन ?
सिग्मण्ड फ्रायडलगायत अन्य मनोविज्ञहरूले सपनाको व्याख्यामात्र गरे । मुख्य कुरा सपनाको व्याख्या गर्नु होइन, बल्की त्यसलाई परिवर्तन गर्नु हो । तर आज सपनाका व्यापारीले परिवर्तन गर्न खोज्दै छ । सपना नै परिवर्तन गर्न खोज्दै छ । मलाई डर लागेको छ कतै सपनाको अर्थ नै बदलिने त होइन ? कतै सबैले सपना देख्न नै छाड्ने त होइन ? कतै सपनामाथिको विश्वास नै उड्ने त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *