भर्खरै :

निबन्ध लेखन प्रतियोगितामा बासु मावि प्रथम

भक्तपुर, चैत १ । सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिको वार्षिक क्यालेण्डरअनुसार समाज सुधार माध्यमिक विद्यालयको आयोजनामा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भयो । ‘सांस्कृतिक सम्पदा संरक्षणमा विद्यार्थीको भूमिका’ तथा ‘राष्ट्र निर्माणमा मेरो दायित्व’ विषयक निबन्ध लेखन प्रतियोगिताका पुरस्कार वितरण समारोहमा सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समितिका अध्यक्ष एवम् वासु माविका प्राचार्य अम्बिका न्याईच्याईले लेखन शैलीको विकास गर्न निरन्तर अभ्यासको आवश्यकता हुने र ज्ञानलाई व्यवहारमा उतार्न सकेको खण्डमा पढाइको सार्थकता हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा गणेश मावि भार्वाचोका निमित्त प्रअ गणेशराम थुसाले संयुक्त परीक्षा समितिले समयसापेक्ष रूपमा विद्यार्थीहरूको बौद्धिक विकास गर्ने कार्यक्रमहरू गर्दै आउनु सराहनीय भएको विचार व्यक्त गर्नुभयो । निर्णायकमण्डलका सदस्य जीवनकुमार जोशीले निबन्ध लेखन प्रतियोगितामा सबैको निबन्ध उत्कृष्ट नै रहे पनि त्योभन्दा उत्कृष्ट विद्यार्थीहरू छनौट गरी परिणाम निकाल्नुपर्ने स्थितिबारे बताउनुभयो ।
आयोजक विद्यालयका प्रधानाध्यापक लक्ष्मीनारायण दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका स.प्र.जगनाथ प्रजापति र शिक्षक श्रीप्रसाद त्यातजूले पनि बोल्नुभएको थियो । प्रतियोगितामा वासु माविकी सलिना यन्द्यो प्रथम, गणेश मावि सिपाडोलका राजकुमार मानन्धर द्वितीय, देवी माविका भूपेन्द्र मगर तृतीय र तारा माविकी आस्ती ठकुरी सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि न्याईच्याईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *