भर्खरै :

थेसिस चोरी धन्दा विश्वविद्यालयकै पतन गराउने खेल

– सुरज सिंह
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नका लागि आवश्यक पर्ने शोधपत्र विद्यार्थीहरूले हुबहु सारेर बनाउने गरेको देखेको र सुनेको पनि हो । त्यस्तै कतिपय जान्नेहरूले विभिन्न विषयका थेसिस तयार गरेर कतिपय ‘नभ्याउने’ विद्यार्थीहरूलाई बेच्ने गरेको र समाचार पनि बरोबर सुनेकै हो । ती सबै विद्यार्थी र बाह्य व्यक्तिहरू थिए । तर अहिले त्यस्तो थेसिस चोरीको कार्यमा प्राध्यापकहरूकै संलग्नता रहेका समाचार प्रमाणसहित आएका छन् । कतिपय प्राध्यापकहरूले पहिलेको वर्ष वा दुई–तीन वर्ष अगाडि विद्यार्थीहरूले गरेका थेसिसमा नाम र रोल नम्बरमात्र परिवर्तन गर्न दिएर कतिपय विद्यार्थीको नाममा थेसिस प्रस्तुत गर्न लगाउने र दसौँ हजार रूपैयाँ उठाउने गरेका छन् । त्यस्ता प्राध्यापक, सहप्राध्यापकहरूले आफ्नै बुद्धि, विवेक र मेहनतले थेसिस तयार गरेका विद्यार्थीहरूका थेसिसमा अनेक गल्ती निकालेर महिनौँ झुलाउने र गलत सुझाव दिएर थेसिसको मूल्याङ्कनमै कमजोर पारिदिने गर्दारहेछन् । वीरगञ्जलगायत तराईका अधिकांश क्याम्पसहरूमा थेसिसपछि विद्यार्थीको दीक्षान्त हुने भन्दै गुरूदक्षिणाका रूपमा हाकाहाकी २–४ हजारदेखि १०–२० हजारसम्म माग्ने गरेको भुक्तभोगी विद्यार्थीहरू बताउँछन् ।
यस्ता थेसिस चोरी एउटै मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा मात्र छ र अरू सङ्कायमा अछुटो छ भन्ने होइन । शिक्षाशास्त्र सङ्कायमा प्रस्तुत हुने विद्यालय निरीक्षण प्रतिवेदन, विज्ञान सङ्कायकै थेसिस, व्यवस्थापन सङ्कायका थेसिस र अनुसन्धान प्रतिवेदनहरू प्रायः यथार्थमा आधारित नभएका र हुबहु सारिएका बढी भेटिने जानकारहरू बताउँछन् । यो अवस्था आउनुमा विश्वविद्यालयका नेतृत्व पक्ष र प्राध्यापकहरू सबैभन्दा बढी जिम्मेवार छन् । विश्वविद्यालयको नेतृत्वले थाहा पाउनासाथ तत्काल कडाइ गरेको भए, प्राध्यापकहरूले समय छँदै कक्षा चालू भएकै दिनहरूमा विद्यार्थीहरूलाई विभिन्न विषयमा अनुसन्धान गर्न र लेख्न गराएको भए अन्तिम परीक्षा आउँदा नआउँदै अधिकांश विद्यार्थीले थेसिस गरिसक्थे । त्यस्तो नहुँदा विद्यार्थीहरू पहिले परीक्षा उत्तीर्ण गर्ने र त्यसपछि टाउको कन्याउँदै जसरी भए पनि जसोतसो थेसिस सकाउनतिर लाग्ने थिएनन् । न त थेसिस चोरीको आजको भयावह अवस्था निम्तिने थियो । थेसिस चोरी धन्दा १०–२० हजार रकमका लागि गराएको अनैतिक कार्यजस्तो मात्र देखिए पनि वास्तवमा यो जानी नजानी विश्वविद्यालयकै पतन गराउने खेल हो । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *