भर्खरै :

जलवायु परिवर्तनप्रति नयाँ पुस्ताको चासो

गएको शुक्रबार संसारका विभिन्न देशमा जलवायु परिवर्तनप्रति चासो जनाउँदै विशेषतः युवा–विद्यार्थीहरूले आ–आफ्ना देशका प्रमुख सहरमा प्रदर्शन गरे । पुँजीवादी नाफामुखी उत्पादन सम्बन्धका कारण संसारको वातावरणमा भएको क्षयीकरणले पृथ्वी र पृथ्वीवासीको भविष्य क्रमशः सङ्कटमा पर्दै गएको भन्दै पृथ्वीका भोलिका कर्णाधारहरूले चिन्ता व्यक्त गरेका हुन् ।
जलवायु परिवर्तनको कारक मानव जातिको भविष्यलाई भन्दा आफ्नो तत्कालीन नाफालाई ध्यान दिने पुँजीवादी उत्पादन सम्बन्ध नै हो । तर, यसको प्रभाव भने सर्वव्यापी हुन्छ । सबै मानिसले श्वास फेर्ने हावा एउटै वायुमण्डलको र सबै मानिसको बसोबास एउटै पृथ्वीमा भएको हुनाले कोही पनि मानिस जलवायु परिवर्तनको विषाक्त प्रभावबाट जोगिन सम्भव छैन । पृथ्वीको स्वास्थ्यमा भइरहेका नकारात्मक प्रभाव सबैको लागि चिन्ताको विषय हुनुपर्छ । हालै सम्पन्न संयुक्त राष्ट्र सङ्घीय वातावरण सभामा जलवायु परिवर्तन र प्रदूषणका कारण मानव स्वास्थ्यमा पार्ने गम्भीर प्रभावबारे संसारभरका वैज्ञानिकहरूले चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनको प्रभावस्वरुप पृथ्वीको उत्तरी धु्रवमा रहेको बरफ क्रमशः पग्लिरहेको र त्यसले समुद्री सतह माथि ल्याउँदा मानव समुदाय र पर्या–पर्यावरणमा पर्ने प्रभावबारे चिन्ता व्यक्त भयो । प्रदूषण नै मानिस मर्नुको प्रमुख कारण बन्दै जाने अवस्थाप्रति वैज्ञानिकहरूले संसारका राजनीतिज्ञहरूलाई सजग हुन ध्यानाकर्षण गरे ।
एकातिर जलवायु परिवर्तनको समस्याले उचाइ लिइरहेको छ भने अर्कोतिर जलवायु परिवर्तन नियन्त्रणको लागि संसारका देशहरूबीच भएको सम्झौतामा संसारकै सबभन्दा ठूलो शक्ति मानिएको संरा अमेरिकाले हात झिक्नु विडम्बना हो । संरा अमेरिकाले मानवताको कुरा शब्दमा जति चर्को गर्ने गरेको छ, व्यवहारमा उसलाई मानव जातिको भविष्त्न्दा पनि आफ्नो राष्ट्रवाद प्यारो भएको सो घटनाले पुष्टि गरेको छ ।
वातावरण सबैको चासो र चिन्ताको विषय हो । सबैको चिन्ताले नै पृथ्वीको भविष्य रक्षा हुनसक्छ । आज पृथ्वीको भविष्यप्रति चासो राख्दै संसारका युवा–विद्यार्थीको सक्रियता प्रशंसनीय कदम हो । यसले नयाँ पुस्तामा आफ्नो र संसारको भविष्यप्रतिको चिन्ता र जिम्मेवारी झल्काएको छ । तर, उनीहरूको यो अग्रसरता भावनात्मक पहलकदमीमा मात्र सीमित भने हुनुहुन्न । संसार आजको अवस्थामा पुग्नुको मूल कारण के हो भन्ने विषयमा उनीहरूले सही निष्कर्षमा पुग्न जरुरी छ । केही मानिस जलवायु परिवर्तनलाई विशुद्ध वातावरणीय मुद्दाको रुपमा मात्र हेर्न चाहन्छन् । तर, जलवायु परिवर्तन वातावरणीय मुद्दामात्र नभई अर्थराजनीतिक विषय पनि हो । त्यसकारण वातावरणीय क्षयीकरणको आजको अवस्थाको निम्ति नाफालाई नै प्राथमिकता दिने अर्थव्यवस्था नै जिम्मेवारी हो ।
जलवायु परिवर्तनको विषय नेपालका युवा–विद्यार्थीको पनि चासोको विषय बन्न जरुरी छ । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्ने देश नेपाल पनि हो । नेपालका हिमालय पनि विश्वव्यापी तापमान वृद्धिका प्रत्यक्ष मारमा परेका छन् । यस्तो परिस्थितिमा जलवायु परिवर्तनप्रति नेपाली युवा विद्यार्थीले पनि जनचेतनामूलक गतिविधिका साथै यसको मूल कारण पुँजीवादी उत्पादन सम्बन्धविरुद्ध पनि सङ्घर्ष अघि बढाउन जरुरी छ । वातावरणीय मुद्दालाई परिणामको कोणबाट मात्र नभई मूल कारणको कोणबाट बुझ्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *