भर्खरै :

हराउँदै सिमाना क्षेत्रका खाद्य उद्योग

–काशीराम शर्मा
बाँके, ३ चैत । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । सिंचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दालमिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए ।
बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई÷चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायीहरू बताउँछन् । विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो ।
ठूलो परिमाणमा तोरी उत्पादन हु्ने हुँदा तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउँथ्यो । अहिले दाङको तोरी नेपालगञ्ज नआउने गरेकोले धेरैजसो मिल बन्द भइसकेका छन् भने बँकी पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै ठूलो परिणाममा किनबेच हुन्थ्यो । “यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातीत मालसामान हुन्,” नेपालगञ्जका व्यवसायी कृष्ण श्रेष्ठ भन्नुहुन्छ ।
उहाँका अनुसार नेपालगञ्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पति घीउ उद्योग बन्द भएका छन् । कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घीउ निर्यात हुने गरेको थियो । दुगड ग्रुरुपले मिल चलाउन अहिले भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् ।
नेपालगञ्जमा धान आउन छाडेकाले यहाँका मिल बन्द भएको मिल व्यवसायी प्रदीप भट्टराई बताउनुहुन्छ । खाद्यान्न उत्पादनमा अग्रणी रहेको नेपालगञ्ज क्षेत्र अहिले परनिर्भर भए पनि जानकी गाउँपालिका भने औद्योगिक केन्द्रका रूपमा विकसित भइरहेको छ । यहाँका साना, ठूला र मझौला गरी दर्जनभन्दा बढी उद्योग सञ्चालनमा आइसकेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनार बताउनुहुन्छ  ।
आर्थिक वर्ष २०७४÷७५ मा उद्योग विभागबाट सञ्चालनको अनुमति पाएका केही उद्योगले रु. पाँच अर्ब २६ करोड ८० लाख बराबरको लगानी गरेका छन् अनुमति पाएका कतिपय उद्योग चलिसकेका छन् । कतिपय उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा लागिरहेका छन् ।
स्टिललगायत अन्य उद्योग पनि उक्त गाउँपालिकामा स्थापना भइरहेकाले औद्योगिक केन्द्रका रूपमा विकास भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुनार बताउनुहुन्छ ।
बाँकेमा लगानीमैत्री वातावरण भएकै कारण पछिल्लो समय खजुरा, जानकी, कोहलपुर र नेपालगञ्ज क्षेत्रमा दर्जन बढी विभिन्न उद्योग भइरहेका सम्बद्ध व्यवसायी बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *