भर्खरै :

किसान समस्याबारे किसान सङ्घको ध्यानाकर्षण

भक्तपुर, ३ चैत । किसान समस्यालाई लिएर आइतबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले भक्तपुरको भूमिसुधार कार्यालय र नापी शाखामा ध्यानाकर्षण गरेको छ । नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिको प्रतिनिधिमण्डलले भूमिसुधार कार्यालय भक्तपुरका प्रमुख धु्रवप्रसाद कोइरालालाई भेटी जग्गाधनी र मोही नाम छुट्याउन भूमिसुधार कार्यालयमा परेको निवेदनअनुसार प्रक्रिया अघि बढाउन ढिलासुस्ती भएको ध्यानाकर्षण गरेको थियो ।
२०७६ भदौ ४ सम्ममा भूमिमा द्वैधस्वामित्व अन्त्य गर्ने भूमिसुधार मन्त्रालयको निर्णयअनुसार पर्न गएका निवेदनमा ढिलासुस्ती हुँदा, जग्गाधनी वा मोहीमध्ये कोहीमात्र जाँदा काम नबन्ने तर दलालमार्फत गरे काम बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग किसान कार्यकर्ताहरूले गरे ।
जग्गामा द्वैध स्वामित्व अन्त्यको प्रक्रियामा पैसाको चलखेल भइरहेकोमा ध्यानाकर्षण गर्दै किसान कार्यकर्ताहरूले यसबाट किसानहरू समस्यामा परेको बताए ।
मोहीको हकमा मात्र हदबन्दी लाग्ने अवस्थाले जोताहा किसान नै समस्यामा परेको भन्दै उनीहरूले हदबन्दीसम्बन्धी सरकारी निर्णय भइसकेपछि पनि हदबन्दीभन्दा बढी रहेको जमिनको नामसारी, किनबेच गराउने सरकारी कर्मचारीलार्ई कारबाहीको घेरामा ल्याउनुपर्ने माग गरे ।
नापी शाखामा नेक्राकिसङ्घको प्रतिनिधिमण्डलले सूर्यविनायक नपा वडा नं ४ दधिकोटमा नापी भइसकेको जग्गामा लालपुर्जा वितरण नभएकोमा तत्काल वितरण गर्न माग प्रस्तुत गरे । नापी शाखाका प्रमुख ज्ञानेन्द्रकुमार विष्टलाई भेटी प्रतिनिधिमण्डलले पहिले नापी भएको जमिनको लालपुर्जा वितरण गर्नुपर्ने विचार राखे ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा केशव तिमिल्सिना, नारायणभक्त न्हेम्हाफुकी, राजेन्द्र बखुन्छे, बुद्धकेशरी माक, ज्ञानमाया राजथलालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *