भर्खरै :

चामलमा आत्मनिर्भरता कहिले ?

सीमावर्ती क्षेत्रमा रहेका विभिन्न खाद्यान्न उद्योगहरू बन्द भएसँगै कुनै बेला छिमेकी देशमा खाद्यान्न निर्यात गर्ने उद्योगहरू आज क्रमशः परनिर्भर बन्दै गइरहेका छन् । नेपालगञ्जबाट प्राप्त एक जानकारीअनुसार जनसङ्ख्या वृद्धिको अनुपातमा नेपालमा धान उत्पादन नहुँदा आज सीमा क्षेत्रका सहरहरू भारतबाट चामल, दाल आदि दैनिक उपभोग्य सामग्रीमा परनिर्भर बनेका छन् । धान उत्पादन कम हुँदा र विशेषतः भारतबाट बजारमा मनग्य धान आयात हुँदा चामल मिलहरू कति बन्द भइसके त कति बन्द हुने अवस्था छन् ।
विद्यालयका पाठ्यपुस्तकमा नेपाल कृषिप्रधान देश भनी पढाइन्छ । राष्ट्रिय तथ्याङ्क अध्ययन गर्दा अझै पनि नेपालका बहुमत जनताको मुख्य पेशा कृषि नै हो । तथापि नेपाल अधिकांश नेपालीले खाने खाद्यपदार्थमा समेत आत्मनिर्भर बन्न नसक्नु चिन्ताको विषय हो । विगतमा खाद्यपदार्थ निर्यात गर्ने जिल्लासमेत आज बाहिरबाट नआए भोकै हुने अवस्थाले नेपालको समृद्धि धेरै टाढा भएको सङ्केत गरेको छ ।
उच्च प्राविधिक र औद्योगिक उत्पादन नेपालले निर्यात गर्नु निकै ठूलो विडम्बनाको विषय होइन । नेपालले त्यस्ता वस्तु निर्यात गर्ने कुरा असम्भव होइन, त्यो क्रमिक रूपमा आउने कुरा हुन् । तर, कम्तीमा कृषिप्रधान देश हुनुको नाताले आफ्ना जनताले अत्यधिक उपभोग गर्ने चामल र दालजस्ता उपभोग्य सामानमा आत्मनिर्भर हुनुपर्ने हो ।
सापेक्षिक आत्मनिर्भरता कुनै पनि देश समृद्ध बन्नुको मूल आधार हो । प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिको नाममा ठूलठूला आश्वासन र सपना बाँड्ने गरेका छन् । रेल, पानीजहाजजस्ता कुरा गरेर प्रधानमन्त्रीले नेपाली जनताबीच अनेकन आश्वासन दिइसकेका छन् । तर, नेपाली जनताको मूल प्राथमिकताको विषयलाई छायाँमा मिल्काएर आउने यस्ता आश्वासनलाई सर्वसाधारण नेपाली जनताले अविश्वास र सस्तो लोकप्रियताको भोकका रूपमा बुझेका छन् ।
जनताको दैनिक आवश्यकतामा देश क्रमशः पराधीन बन्दै जाने अनि शासकले त्यो आवश्यकतालाई लत्याएर अन्य कम महत्वका विषयलाई जोड दिनुले शासक र जनताबीचको दुरी मापन गर्न सकिन्छ । सिंचाइ अभावका कारण धान उत्पादन कम भएको कारण मिल बन्द हुन थालेपछि क्रमशः बजारमा भारततिरबाट चामल र अन्य खाद्यपदार्थको उपस्थिति बलियो बन्दै गएको हो ।
सरकारले देशलाई कम्तीमा अत्यधिक नेपाली जनताले उपभोग गर्ने कृषि उत्पादनमा आत्मनिर्भर बनाउन योजना बनाउन जरूरी छ । तराईलाई अन्नको भण्डार भनिन्छ । तराई आफैं पराधीन बन्दा सि·ो नेपाल नै पराधीन हुने हो । त्यसकारण तराईमा कृषि उत्पादन बढाउन सरकारले विशेष कार्यक्रमहरू बनाउन जरूरी छ । कृषि उत्पादन बढाउन सिंचाइ, कृषि औजार र गुणस्तरीय बीउबिजनको बन्दोबस्त सरकारले गर्न जरूरी छ । नेपालबाट धान भारतमा बेच्ने अवस्थाको अन्त्य गर्नुपर्छ । नेपालमा बन्द भएका खाद्य उद्योगहरू पुनः सञ्चालनको लागि सरकारले अग्रसरता देखाउनुपर्छ । सीमावर्ती क्षेत्रका जनतालाई नेपालमै उत्पादन हुने उपभोग्य वस्तु नेपालमै किन्ने अवस्था सरकारले बनाउन जरूरी छ ।
समृद्धि र आर्थिक विकास भाषण र सस्तो लोकप्रियताको भोकमा दिइने आश्वासनले मात्र सम्भव छैन । समृद्धिका लागि स–साना उत्पादनबाटै आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *