भर्खरै :

नेकपाको दस महिना

तीन महिनामा सबै एकता प्रक्रिया पूरा गर्ने भनिएको सत्तासीन नेकपाको एकता प्रक्रिया दस महिना बितिसक्दा पनि मूर्त रुप ग्रहण गर्न सकेन । बरु पार्टी चर्केको ऐनाजस्तै भएको छ । दस महिनासम्म न त तल्लो तहसम्म पार्टी एकता भयो न त जनवर्गीय सङ्गठनबीचको एकता प्रक्रियाले नै पूर्णता पायो । बरु पार्टी र सरकारका निर्णयप्रति असन्तोष व्यक्त गर्ने नेता कार्यकर्ताको सङ्ख्या दिनानुदिन बढ्दै छ ।
कम्युनिष्ट पार्टी श्रमिक जनताको वर्गीय पार्टी हो । श्रमिक जनताको पक्षधरता नलिने पार्टी कम्युनिष्ट पार्टी हुनसक्दैन । सिद्धान्तनिष्ठ र अनुशासित कार्यकर्ता नै कम्युनिष्ट पार्टीका शान हुन् । कम्युनिष्ट पार्टीको सरकारले शोषणमुखी उत्पादन सम्बन्धलाई तोडेर सामाजिक हितमा आधारित उत्पादन सम्बन्धलाई प्राथमिकता दिने गरेको हुन्छ । संसारका सबै कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफ्नो देशलाई स्वाधीन र आत्मनिर्भर बनाउने गरेको इतिहास पाइन्छ । कम्युनिष्ट पार्टीका कार्यकर्ता व्यापक कामदार जनताको हितमा स्थापना हुने त्यस्तो नयाँ बन्दोबस्तका निःस्वार्थी सिपाहीं हुन् । तर, नेकपाको दस महिनाको आरोह अवरोह नियाल्दा कुनै पनि कोणबाट यो कम्युनिष्ट पार्टी पुष्टि हुँदैन । न त सरकारले गरेका कुनै पनि काम एउटा कम्युनिष्ट पार्टीले गर्ने खालको छ न पार्टीले नै आफूलाई कम्युनिष्ट प्रमाणित गर्ने कुनै गतिविधि गरेको देखियो । बरु आफ्नो पार्टीको सरकार भएको अवस्थामा अनियमितता गर्ने, व्यक्तिगत फाइदा लिने प्रतिस्पर्धामै सत्तासीन दलका कार्यकर्ता व्यस्त भएको देखियो ।
दस महिनाको अवधिमा न त राज्य व्यवस्थाको चरित्रमा परिवर्तनको लागि कुनै बहस भएको देखियो न त नेकपाले कस्तो खालको समाज बनाउन चाहेको हो भन्ने विषयमा कुनै मूर्त खाका नै सार्वजनिक भयो । प्रधानमन्त्री र नेकपाका अध्यक्ष केपी ओलीले सार्वजनिक कार्यक्रममा बेलाबेलामा गर्ने हँसीमजाक नै सरकारको खाका र नेकपाले चाहेको नयाँ समाजको रुपमा अथ्र्याइयो । पार्टीभित्र सबै लोभी पापी, स्वार्थीहरूलाई हुलेर सबै प्रकारका फोहोर अटाउने पार्टीमा परिणत भयो–नेकपा ।
सिद्धान्तमा खेलांची गरेको कुनै पनि पार्टीले क्रमशः सबै कुरामा सम्झौता गर्दै जानुपर्ने र अन्ततः त्यो पार्टीले पतनको बाटो रोज्नुपर्ने वास्तविकता नेपालकै धेरै राजनीतिक घटनाक्रमले सिकाएको छ । सिद्धान्तबाट विचलित दुईवटा राजनीतिक पार्टीको एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादलाई अझ बलियो बनाएको छ भने कम्युनिष्ट आन्दोलनको धारलाई भुत्ते बनाएको छ । दुई पार्टीको दसमहिने एकतालाई समीक्षा गर्दा यो पार्टी कुनै सिद्धान्तमा आधारित नभई सिद्धान्तहीनता र स्वार्थमा आधारित पार्टी भएको प्रस्ट देखापरेको छ । सत्ता र सत्तासुखबाट विमुख भएको दिन यो पार्टी स्वतः विभाजनमा जाने पूर्वानुमान गर्न सकिन्छ । सिद्धान्तमा आधारित पार्टीले सिद्धान्तको विकासलाई ध्यान दिएको हुन्छ भने सिद्धान्तहीन पार्टीले स्वार्थलाई प्राथमिकता दिने गरेको हुन्छ ।
सत्ताबाट फाइदा उठाउन सक्ने, नेतासम्म पहुँच भएको वर्ग र त्यस्तो सुख सुविधा त्यागेर विगतको बलिदानी इतिहासको ‘नोस्टालजिया’ बोकेर बस्ने अर्को वर्ग–नेकपाभित्रै वर्गको जन्म भइसकेको छ । त्यहाँभित्रको शासक वर्गले त्यहींभित्रकै शोषित वर्गका कार्यकर्तामाथि शोषण गर्ने गरेको छ । यस अर्थमा नेकपाले समाजको शोषण पन्छाउन त परको कुरा, पार्टीभित्रैको शोषणको बन्दोबस्त हटाउन हम्मेहम्मे भइरहेको छ ।
बिहानीले दिनको पूर्वसड्ढेत गर्छ भनेजस्तै दस महिनामा नेकपा कस्तो पार्टी हुन्छ भन्ने कुरा विश्लेषण गर्नसक्छौँ । यो पार्टीले आजसम्म लिएको पक्षधरताको आधारमा यो पार्टी नेपालमा ‘कम्युनिष्ट’ नाम बोकेर हुर्केको पुँजीवादी पार्टी भएकोमा कुनै विवाद हुनसक्दैन । नेकपाकै नेताहरूको भाषामा नेकपा भनेको रणनीतिक रुपमा मात्र कम्युनिष्ट पार्टी हो, नत्र उसमा कम्युनिष्ट पार्टीमा हुनुपर्ने कुनै गुण समाहित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *