भर्खरै :

वैज्ञानिक अनुसन्धान विज्ञान समाजका लागि

ललितपुर, ५ चैत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सुन्तलामा लाग्ने रोगको निदान गर्ने भएको छ । नाष्टले इटालियाली संस्थाको सहकार्यमा उच्च (पाँच हजार ५० मिटर) पर्वतीय पिरामिड प्रयोगशाला स्थापना तथा सञ्चालन गर्ने पनि जनाएको छ । नाष्टले आगामी वैशाख ४ गते नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याट–१’ पनि प्रक्षेपण गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले संस्थाले नेपालका वनस्पती एवम् वन्यजन्तुको ‘डीएनए बार कोडिङ’ तथा फोहरबाट ऊर्जाको सम्भावना स्थापित गर्ने, विज्ञान प्रविधि क्षेत्रका युवा एवम् अथक योद्धालाई वर्षेनी पुरस्कृत गर्ने, नवीकरणीय ऊर्जा प्रविधिको सफल परीक्षण तथा प्रविधि हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाले आयनीकरण गर्ने, विकिरण मापनमार्फत नेपाली समाजलाई सुरक्षाको प्रत्याभूति दिलाउने, विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने, अनुसन्धान प्रवद्र्धनका लागि वृत्ति प्रदान गर्ने, नेपालमा विज्ञान सञ्चारको जग बसाउने छ ।
उच्च पहाडी क्षेत्रमा ‘हिमालयन सिड बैड्ढ’ स्थापना गरी धेरैलाई उद्यमी बनाउने कार्यमा नाष्ट लागिपरेको छ । परम्परागत ज्ञान, सीप, उद्यमशीलता र प्रविधिमा पनि नाष्टले जोड दिनेछ । वैज्ञानिक र सर्वसाधारणबीचको सहकार्य अघि बढाउन वैशाखमा नाष्टले ‘साइन्स स्ट्रिट फेयर’ गर्ने जनाइएको छ ।
‘समृद्ध नेपाल, खुशी नेपाली’ को उद्देश्य परिपूर्ति गर्न र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नमा नाष्ट लागिपरेको छ । नवप्रवद्र्धन नीतिको अन्तरवस्तुलाई पूर्ण कार्यान्वयनमा लैजान अनुसन्धान तथा सहयोग सिर्जित ज्ञान तथा प्राविधिक सीपमार्फत जनताको दैनन्दिन जीवनसँग जोडिने पुनःजागरणमा नाष्ट अघि बढेको छ । नाष्टले गरेका काम अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन हुने क्रम वृद्धि भएको तथा विभिन्न संस्थाको सहकार्यमा ‘फ्लोरा अफ नेपाल’ एवम् ‘नेपाल पिडिया’ शीर्षकका पुस्तकसमेत प्रकाशन भइसकेका छन् ।
गत माघ २ गते नियुक्त उपकुलपति श्रेष्ठले आफ्नो चारवर्षे कार्यकालभित्र वैज्ञानिक अनुसन्धानलाई विज्ञान समाजका लागि भन्ने मूल नाराको साथ अघि बढाउन विभिन्न योजना अघि बढाएको बताउँदै नाष्टसँग कूल गार्हस्थ उत्पादनको शून्य दशमलव ५३ प्रतिशत बजेट रहँदा अपेक्षित काम अघि बढाउन नसकेको गुनासो गर्नुभयो । नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुङ्गेलले महिनाको दुई पटक पत्रकारलाई सूचना उपलब्ध गराइने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *