भर्खरै :

ईश्वर र अध्यात्मको जन्म

हृदयचन्द्रसिंह प्रधान
मेरो विश्वास छ, कुनै पनि सुखमा स्थायित्व छैन र कुनै पनि सुख यस्तो छैन जुन सदैव प्रिय र सदैव मङ्गलप्रद होस् । त्यसैले वाञ्छित र आवश्यक सुखका निम्ति मान्छेले सदैव सोचविचार गर्नुपर्छ । यसै सोचविचार र खोजबाट संसारमा ईश्वरसम्मको जन्म भयो जसले अँध्यारोबाट भयभित हुँदाको समय, आकाशबाट घबराउँदाको समय, हावा–पानी र आगोबाट डराउँदाको समय तथा पशुपन्छीमात्र होइन, स्वयं मान्छेले मान्छेलाई खाँदाको समयमा मानव जातिका निम्ति अत्यधिक सहायक भएर उसलाई अगाडि बढाइरह्यो ।
ईश्वरको सृष्टि सर्वप्रथम डरका कारण भयो । उसको जन्म कमजोरीको गर्भबाट भयो र त्रासबाट रक्षाका लागि कल्पनामा नै उसको उद्भव भयो । पछि ऊ ‘रक्षक’ मात्र नभई ‘दायक’ पनि भयो र दुःखनाशकमात्र नभई सुखको कारणसमेत हुनथाल्यो । ईश्वरको अस्तित्वको दर्शन अथवा अध्यात्मबाट नै संसारमा सुसभ्यताको प्रारम्भ भएको थियो । त्यसैले आज पनि संसारमा अध्यात्मदर्शनको मान्यता छ । अध्यात्मको आविर्भावले मान्छेमा खोज गर्ने स्वभाव बनाउँदै ल्यायो र केही पाउने प्रेरणा दियो । उसको ज्ञानले अगाडि बढ्दै बढ्दै अज्ञात कुराहरूसम्म पुग्ने प्रयास गर्नथाल्यो । सुख र आनन्दको खोजी गर्दागर्दै मानिसले जीवनमा मात्र नभई मरेपछि पनि सुख र आनन्द पाइरहने कल्पना गर्नथाल्यो र त्यसै आकाङ्क्षापूर्तिका लागि प्रयत्नहरू गर्नथाल्यो । आनन्द प्राप्तिको आकाङ्क्षा र भोक मान्छेमा कति धेरै हुनथाल्यो भने उसले आनन्दको स्रोत तथा एकमात्र केन्द्र ईश्वरलाई ठानी त्यसैमा टाँसिएर रहने प्रयत्न गर्नथाल्यो । ईश्वरमा लीन भइसकेपछि दुःखबाट मुक्त भई आनन्द नै आनन्द मिल्न थाल्नेछ । बस, सम्झनथाल्यो, यसैबाट बेडा पार हुन्छ, यही मोक्ष हो । कति मीठो आकाङ्क्षा र कति सुन्दर कल्पना ।
मान्छेको पहिलो खोजको परिणाम रहेको यस दर्शनले मान्छेलाई आनन्दको आकाङ्क्षा र कल्पनामात्र दिएन, व्यवहारमा कसैलाई दुःख नदिने प्रेरणा पनि दियो । त्यसपछि उसको निर्गुण ईश्वर सगुण ईश्वरमा प्रादुर्भाव हुनथाल्यो । ईश्वर मान्छेमा अवतीर्ण हुनथाल्यो । कहाँसम्म भने माटो र ढुङ्गोसम्ममा ईश्वरको प्रतीक जग्मगाउनथाल्यो । अन्तरिक्षको अन्तर र अज्ञातको घना अन्धकारमा मात्र होइन, आँखै अगाडिका वस्तुशरूमा पनि मान्छेले ईश्वर खोज्नथाल्यो र पाउनथाल्यो । ईश्वरको प्राप्ति र आनन्दको खोज गर्दागर्दै मान्छेको चिन्तन यस लोकबाट परलोकसम्म पुग्यो । यो लोक तथा यस जन्मलाई काम नलाग्ने ठानेर मान्छेको दिमागमा परलोक तथा पुनर्जन्मको महत्व बढ्नथाल्यो । ईश्वर र परलोकको भावनाले मान्छेको मन कति धेरै भरियो भने उसको मस्तिष्कमा समेत अरू कुराको प्रवेश बन्दजस्तै भयो । ‘जगत् मिथ्यावाद’ को विश्वास मान्छेमा कति धेरै बढ्यो भने उसले यस लोकको वर्तमान जीवनमा चारैतिर अन्धकार नै अन्धकार देख्नथाल्यो र आफ्नो प्रियतम (ईश्वर) लाई पाउन तथा खोज्न ज्ञानको दीप जलाउनथाल्यो । यही खोज, यही अन्वेषण, यही आकाङ्क्षा र यही जिज्ञासा नै अध्यात्म–दर्शन हो ।
यस खोजमा, यस अध्यात्म तत्वमा मानव जातिले हजारौँ वर्ष बिताइसकेको छ । जीवन के हो, जगत् के हो, यसको पछाडि र भित्र के छ आदि कुरामा अत्यधिक छानबिन गरिसकेपछि उसलाई के विश्वास भयो भने सत्य एउटामात्रै छ, त्यो हो ईश्वर । बस्, त्यही एउटामात्र कुरा पाउनका लागि ऊ जीवनमा अनुभव गरेका सारा सुख र जीवनलाई नै समर्पण गरिरहेको छ । आजसम्म पनि प्रायः मानव जाति यही विश्वासमा बाँचिरहेको छ । यसै विश्वासलाई सत्य ठानेर, सबै जनसाधारणले मानिसको मस्तिष्कमा यही विश्वासको छाप लगाइदिए । पछि समय बित्दै जाँदा ज्ञानराज्यका अधिराज्यहरूले ईश्वरबाहेक अरू कुनै पनि कुरा सोच्नै छाडे र कस्तोसम्म अध्यादेशको घोषणा गरे भने ईश्वरका अतिरिक्त अरू कुनै कुरा सोच्ने र सम्झने व्यक्ति पाखण्डी हो । उनीहरूले यसै कुरालाई प्राथमिकता र यसैलाई ग्राहयता दिनथाले । यस क्षेत्रका बुजु्रकहरूको रायमा विज्ञान र राजनीति पनि बेकारका हुन् ।
तर मान्छे स्वभावले स्वतन्त्र प्राणी हो । स्वतन्त्रता नै उसको सबैभन्दा प्यारो कुरा हो । आफ्ना पथप्रदर्शक बुजु्रकहरूको परामर्शमा विश्वास हुँदाहुँदै पनि ऊ अन्य कुराहरूका बारेमा सोचविचार गर्न अभ्यस्त छ । ताल्चा लगाइदियो भने पनि ऊ यताउता झाँक्ने प्रयत्न गर्दछ । कहाँसम्म भने कफ्र्युको समयमा पनि बाहिर निस्केर क्षितिजपारि हेर्न चाहन्छ । मान्छेको यस स्वतन्त्र प्रवृत्तिले उसलाई आज यहाँसम्म पु¥याएको छ † अझै अगाडि पनि पु¥याउनेछ ।
उपग्रह तथा अध्यात्म
आज मानिस उपग्रहको युगसम्म पुगिरहेको छ । अब ऊ अध्यात्मवादमा मात्र विश्वास गरेर ईश्वरमा विलीन भई समाप्त हुने सोचमा छैन । न त ऊ परलोक सुखको आशामा यस लोक र जीवनलाई कुवामा फाल्न नै तयार छ । अबको मान्छेले अध्यात्मज्ञानको केही सम्मान गर्छ र समाजमा प्रश्रय दिन्छ भने यस अर्थमा मात्र सक्छ–यसबाट मान्छेमान्छेबीच लुछाचुँडी बढ्नमा योगदान नपुगोस् तथा जगत् जीवनलाई ‘परम्’ मानेर अर्थ, काम र विज्ञान इत्यादिसँग शान्तिपूर्ण सहअस्तित्वका साथ रहनमा असहमत नहोस् । अध्यात्मवादका परहित र आत्मसातका भावपक्षलाई अँगालेर आजको मान्छे अध्यात्मवादको पनि संशोधन गर्न चाहन्छ । अब ऊ चाँडै नै चन्द्रमामा पुग्नेछ र त्यहाँ बस्ती बसाल्नेछ । बिस्तारै सूर्य, मङ्गल आदि ग्रहहरुमा पनि बसाल्नेछ । पृथ्वीको सम्पत्ति तथा आम्दानीबाट नपुगेर ऊ अभावग्रस्त हुनेछ र धर्तीलाई शस्यश्यामल (हरिलोभरिलो) बनाउनमा अरू केही उपकरणहरूको आवश्यकता पर्नेछ तब चन्द्रमाजस्ता अन्य नक्षत्रहरूबाट काम लिनेछ । अब चन्द्रलोकमा पुग्नका लागि पुण्डापुरोहितहरूलाई रगतपसिना बगाएर दान दीदीकन जिउँदै मर्नुपर्ने आवश्यकता पर्नेछैन । आठदश आनाको टिकटबाट नै चन्द्रलोक पुग्ने सुविधा मिल्नेछ । मान्छेमात्र किन कुकुर र बाँदर पनि चन्द्रलोक पुग्ने छन् । वैज्ञानिक तथा भौतिक क्षेत्रमा अझै अगाडि बढ्ने प्रेरणा मिल्यो, साथै भौतिकवादका विरोधी अध्यात्मवादीहरूलाई पनि एउटा गरम जोस प्राप्त भयो । उनीहरूका चिरविश्रामित मस्तिष्कहरू हल्ले र पछौटे बन्दै गइरहेको तिनको स्थितिलाई एउटा तरङ्ग प्राप्त भयो । नक्कली चन्द्रमाको हाँसिरहेको ज्योत्स्ना देखेर अध्यात्मज्ञानको केन्द्र रहेको भारतका मानिसहरूमा कतिसम्मको होड चल्यो भने समाधिमा सुतेका कुमारको प्रतिस्पर्धा कति जागरूक र मीठो छ–सन् ५७ नोभेम्बर १७ को दिन विश्वधर्म–सम्मेलनमा तालीको गडगडाहटबीच (दिल्लीमा) उनले भनेका थिए, “यदि रूसले नक्कली चन्द्रमा छाडेको छ भने भारतका मानिसहरू विश्वमा आध्यात्मिक चन्द्रमा बढाउनेछन् ।”
त्यसोभए त चार चाँद लागेर संसार अझै सुन्दर हुनेछ । तर मुनिजी ¤ तपाईंको अध्यात्मिक चन्द्रमा यसै संसार र यसै समाजको आकाशमा नै चढ्नेछ । जीवनबाट टाढा भागेर पहिलेकै जस्तो परलोककै आकाशमा घुमिरह्यो र ईश्वरप्राप्ति तथा त्यसमै विलीन हुनका निम्ति तपाईंको चन्द्रमा चम्किरह्यो भने त्यसलाई ग्रसित पार्न भौतिक राहु घुमिरहनेछ । तब संसारमा ग्रहण लागेर सूतकका बेला तपाईंलाई स्नान गर्नबाटै फुर्सद मिल्नेछैन ।
मुनि सुशीलकुमारको हाँक वैज्ञानिक अर्थात् भौतिकवादीहरूद्वारा छाडिएको कृत्रिम चन्द्रमासित प्रतिस्पर्धा वा प्रतियोगिता हो भने यसमा क्षोभ गर्नुपर्ने कुनै कुरा छैन, म यसको स्वागत गर्छु किनभने एक हदसम्म यसको उपयोगिता प्रशस्त छ र आवश्यक पनि छ । तर वैज्ञानिहरूको प्रगतिको रूपमा रहेको उपग्रहप्रति बधाईको भाव नभई भत्र्सना गर्दै अध्यात्मकै प्रशस्ति गाइएको हो भने यो एक विडम्बना र अहङ्कारमात्र हो । यस्तो ‘आफ्ना कुराको आफै जयकार’ को कुराले केही हुँदैन, केही बन्दैन ।
साँचो कुरा भन्ने हो र वास्तविकतालाई देख्ने हो भने बढ्दो जनसङ्ख्या र यस भीडभाडको दुनियाँमा आध्यात्मिक चन्द्रमाले कुनै प्रकाश दिनसक्दैन, न त त्यसको मूल–आधार ईश्वर नै कुतत्वसँग लड्न सक्नेछ । मात्र अध्यात्मज्ञान र ईश्वरमहिमाबाट संसारलाई सुन्दर बनाउनु आकाशको फल खाँदा तरी मर् सिद्ध भइसकेको छ । अध्यात्मज्ञान र ईश्वरीय विश्वासबाट विश्वलाई बनाइराख्ने कुरा एउटा चेलो बनाउनमा उसका पछाडि एघारजना गुरू लागिरहनुजस्तै मुस्किल छ । हामीलाई यस्तो एक सम्भावनाको आवश्यकता छ जसबाट एकजना चेलाद्वारा घटीमा पनि बाह्रजना गुरू तयार होऊन् किनभने अध्यात्म वा ईश्वरीय विश्वासबाट प्रभावित युग हामीले धेरै देखिसक्यौँ, धेरै सुनिसक्यौँ र त्यसकै बाटो हुँदै हामी आज पनि हिँडिरहेका छौँ ।
ईश्वर र अध्यात्मको दुहाइ दिँदादिँदै सबै थाकिसके
भारत वर्षमा त अझै पनि यसकै प्रभाव सर्वोपरि छ । जावलि, आरूणि र याज्ञवल्क्यदेखि गान्धीसम्म, वेददेखि गीतासम्म यही आध्यात्मिक र ईश्वरीय विश्वासले प्रतिनिधित्व गरिरह्यो एवम् पश्चिमी जगत्मा पनि पिथागोरसदेखि तथा अरस्तु र ईसादेखि अगस्टिन टामस, एक्किनस आदि अध्यात्मवादी दार्शनिक तथा ईश्वरवादी धर्मप्रचारक महात्माहरू र विश्व विस्तृत इसाई धर्मग्रन्थ बाइबल पनि मानव जातिलाई अध्यात्म र ईश्वरबाट प्रभावित गरी संसारलाई शान्तिमय बनाउने प्रयत्न गर्दागर्दै थाकिसके । एउटा ठूलो सङ्ख्याको जाति मुस्लिम संसारमा पनि मोहम्मदेखि आगारवी र तिनको धर्मग्रन्थ कुरानसमेत संसारमा शत्रुता र खराबी भगाउनका निम्ति ईश्वरसँग गुहार माग्दामाग्दै हैरान भइसके ।
अरू त अरू भौतिक जगत्प्रतिको केही विरागका कारण बुद्धसमेत थाके । संसारमा नयाँ हावा फैलाउने क्रान्तिकारी हुँदाहुँदै पनि बुद्धसमेत थाके जसको दर्शनमा केही केही समाजवाद, केही केही प्रगतिशील चेतना र केही केही जनतान्त्रिक स्रोतलाई समावेश गरिएकोले साधारण व्यवहारलाई पनि छुने क्रान्ति देखिन्छ तथा मान्छेलाई अगाडि बढाउनबाट रोक्ने ईश्वरको अस्तित्वमाथिको विश्वासप्रति विद्रोह छ । सबैभन्दा ठूलो कुरा त यो दर्शन जातपात आदिको भेदभाव तथा यञादि अगतिशील कर्मकाण्डमाथिको चुनौती हो † उथलपुथल हो । विश्वमा सबैभन्दा बढी मानव हृदयमा ज्ञानज्योति जगाउने व्यक्ति वास्तवमा बुद्ध नै हुन् जसको प्रभाव र प्रचार आज पनि संसारको लगभग आधा भागमा छ । निर्माण गर्नमा र सभ्यतालाई बनाउनमा उनको ठूलो हात छ तर उनी पनि थाकिसके । उनका अहिंसा र शान्तिवाद पनि संसारबाट कुतत्वलाई हटाउन तथा मेटाउन समर्थ हुनसकेनन् । उनका अहिंसा र शान्तिवाद पनि त्यति धेरै विकसित हुन सकेनन् जति हुनुपथ्र्यो । अझै अरू संसारको उपेक्षा गरेर कोरा अध्यात्ममा लीन हुने अध्यात्मवादीहरूको कुरा के गर्नु ?
बुद्ध अहिंसाका त्यति ठूला प्रवर्तक र शान्तिवादी हुँदाहुँदै पनि उनको अहिंसा र शान्तिवाद विश्वमा त्यति विकसित हुन नसक्नुको कारण मैले त एउटामात्रै देखेको छु–यति सबै हुँदाहुदै पनि संसारप्रति उदासीन अध्यात्मवादीहरू सरह बुद्ध पनि परलोक तथा पुनर्जन्मका हिमायती हुनाले उनको हिंसा तथा शान्तिवादमा थोरैधेरै सन्यासभावना समाविष्ट छ । परलोक तथा पुनर्जन्मको सुखको आशा आकाङ्क्षाबाट यो लोक र भौतिक जगत्प्रति स्वाभाविक रूपमा वैराग्य उत्पन्न हुन्छ ।
यसैकारण बुद्धजस्ता क्रान्तिकारीको शान्तिवाद पनि सर्वसाधारण जनताको हृदयमा निरोगी बनेर बस्न सकेन । उनको दर्शनको आधार परलोक पुनर्जन्म हुनुले गर्दा यो सफल हुनसकेन । उनको अहिंसा र शान्ति कहाँ बढिरहेको छ ? साँचो कुरा भन्ने हो भने म उनलाई कतै पनि हाँसखेल गरेको देख्दिँन–न त उनका प्रयोग र प्रभाव क्षेत्र चीन, जापान, वर्मा र तिब्बत आदि मुलुकहरूमा नै । आज २५०० वर्ष पूरा भएका छन् । उनको क्षेत्रमा कहाँ र कहिले मान्छेको घाँटीमा तरवारहरू नाचेका छैनन् ? कुनचाहिँ शताब्दी र कुनचाहिँ दशकमा रगतको नदी बगेको छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *