भर्खरै :

सर्वहारा बनाइँदै खोकना र बुङ्मतिका जनता

काठमाडौँ, ६ चैत कार्ल माक्र्सले भन्नुभएको छ – ‘पुँजीपतिहरूले उनीहरूको आफ्नो चिहान खन्ने सर्वहारा वर्गको जन्म उनीहरू आफैँ जन्माउँछन् ।’ त्यस्तै नेपालको वर्तमान पुँजीवादी सरकारले खोकना र बुङ्मतिका जनतालाई सर्वहारा बनाउँदैछ । नेपाल सरकारले फास्ट ट्रायक निर्माणको नाउँमा त्यस क्षेत्रका जनताले पुस्तौँ पुस्तादेखि जोटदै आइरहेको जग्गा निखन्दैँछ, त्यो पनि बिना मुआब्जा, बिना क्षतिपूर्ति । यसले गर्दा त्यहाँका जनता सर्वहारा वर्गमा परिणत बनाइँदैछ । दसौं पुस्ताअघिदेखि करुणामय (रातो मछिन्द्रनाथ) जात्राको लागि काठ उपलब्ध गर्ने, रथ निर्माण गर्ने, पुजारीको कार्य गर्ने गरगहना व्यवस्था गर्ने करिब ३०० रोपनी जग्गा गुठीको नाउँमा भएको तर भोगचलन गर्नेको निस्सा नभएको अवस्था छ । १२ पुतुवार परिवारलाई १४४ रोपनी जग्गा जोट्न दिई मछिन्द्रनाथको रथ निर्माण गर्ने, काठ र अन्य आवश्यक सामग्री व्यवस्था गर्दै आइरहेको उक्त काम बन्द हुने अवस्थामा छ । उपभोग गरिरहे पनि आ–आफ्नो नाममा जग्गाको भोगचलन गरिरहेको निस्सा प्रमाण बनाउन सकेनन् । फलस्वरुप अब फास्ट ट्रायक बनाउँदा कति पनि मुआब्जा क्षतिपूर्ति नदिई बाटो निर्माण गरिदैछ । ‘पीडित किसान जनता जात्राको काममा मद्दत गर्दै आएर पनि हामीले जग्गाको कुनै मुआब्जा पाएनौं’ भनी निराश छन् । हामी आफैँले मत दिएर जिताएकाहरूकै सरकार छ । तर, हामी त्यही सरकारबाट बिनामुआब्जा जग्गाबिहिन बनाइयौं भन्ने उनीहरूको गुनासो छ । भोगचलनको प्रमाण चारकिल्ला प्रमाणित गरी सर्जमिन गरेर गर्नसक्छ तर सरकारले वास्ता गरेन ।
स्थानीय अष्ट महर्जनका अनुसार बुङ्गमतीका पुतुवारहरूको १०–१२ परिवारको १४४ रोपनी जग्गा बिना कुनै मुआब्जा फास्ट ट्रयाकले हडपेको छ । अब उनीहरू सर्वहारा भए । कसरी जीउने भनी तनावमा छन् । कोही कोही रक्सी पिउँदा पिउँदै रोगी बनिसकेका छन् । त्यस क्षेत्रमा आफ्नो नाउँमा जग्गा भएका जनतालाई पनि नाममात्रको मुआब्जा दिने अवस्था छ । मुआब्जा रकमले अन्य क्षेत्रमा जग्गा खरिद गर्नसक्ने स्थिति हुँदैन । पढाइ र अरु सीप नभएका जनता मुआब्जा लिएको अवस्थामा पनि केही वर्षपछि सर्वहारा वर्गमा परिणत हुने निश्चित छ ।
हालसम्म बङ्मतिको करिब ५० प्रतिशत जनताले मुआब्जा लिएका छन् । करिब ५५ प्रतिशत जनता अझै पनि मुआब्जा लिने पक्षमा छैनन् ।
स्थानीय नरेश डंगोलका अनुसार जनतालाई सरकारले न्यायोचित मुआब्जा घोषणा नगरेसम्म जनता मुआब्जा लिने पक्षमा छैनन् । उहाँका अनुसार हाल सरकारले मुआब्जा निधारण गर्दा बाटो नभएको जग्गाको प्रति आना १ लाख ५० हजारमात्र निर्धारण गरेको छ । तर, चलनचल्तीमा प्रतिआना ८ लाख रहेको छ । त्यहाँ करीब ९० प्रतिशत जग्गा बाटो नजोडिएको छ । त्यस्तै कच्ची बाटोमा २ लाख निर्धारण गरेको र चलनचल्तीमा रु. १० लाख छ । कच्ची मोटर बाटोमा २ लाख ५० हजार निर्धारण गरेको छ । तर, चलनचल्तीमा १५ लाख रुपैयाँ रहेको छ । यसरी जग्गा हडपेर फाष्ट्र ट्रायक बनाइँदैछ । जनदबाबका कारण खोकना क्षेत्रको कार्य रोकिएको राखेको छ भने बुङ्गमतीको पर्सिडोलदेखि तल कार्य निरन्तर रुपमा नेपाली सेनाले गरिरहेको छ ।
फाष्ट ट्राकबाहेक अरु योजनाहरू पनि त्यहाँ लागू गर्दैछ । फाष्ट ट्राकबाट ५० मिटर चौडाइ ओगत्छ भने हाइटेसन लाइनबाट १८ मिटर, बागमती करिडोरबाट ३५ मिटर, बाहिरी चक्रपथबाट ५०० मिटर र बाँकी जग्गामा स्मार्ट सिटी बनाई खोकना क्षेत्रकोे करिब १० हजार रोपनी जग्गा र बुङ्मति क्षेत्रको करिब ६ हजार रोपनी जग्गा समाप्त भई खोकना र बुङ्मतिका जनता सर्वहारा वर्गमा परिणत गर्ने कार्य कम्युुनिष्ट नामधारी सरकारले गर्दैछ । त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका पम्फा भुषाल र प्रदेशसभा सदस्य जीवन खड्का नेकपाकै छन् । तर, जनताको समस्यामा साथ दिइरहेका छैनन् । तसर्थ त्यहाँका जनता अहिले आक्तोशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *