भर्खरै :

चाडपर्व मनोरञ्जनमात्र होइन

कुनै पनि समुदायले मनाउने चाडपर्व र संस्कृति मानव सभ्यताकै हिस्सा हो । सभ्यताको इतिहास हेर्दा मानिसले आफ्ना तत्कालीन वस्तुगत आवश्यकता र प्राकृतिक कारणले नै चाडपर्व मनाउन थालेको देखिन्छ । कतिपय चाडपर्वमा अन्धविश्वास र धार्मिक विश्वासका आवरण भए पनि अध्ययन गर्दै जाँदा तिनमा विज्ञान र कला–साहित्य पनि निहीत भएको पाइन्छ । कुनै पनि चाडपर्वलाई मनोरञ्जन र आमोदविमोदको अर्थमा मात्र बुझ्दा त्यसभित्रका गम्भीर र सौन्दर्यशास्त्रीय पक्षहरू ओझेल पर्दै पनि गएका छन् ।
संसारमा कुनै पनि कुरा जड हुनेगर्दैन । हरेक वस्तु र चिन्तन परिवर्तनशील हुन्छ । अझ जुन चिन्तनले आफूलाई समयअनुकूल परिमार्जन गर्नसक्छ, त्यही चिन्तन नै अस्तित्वमा रहिरहन्छ । प्रकृतिमा यसलाई विकासवादी सिद्धान्त भनिन्छ । चाडपर्वलाई पनि जड चिन्तनको रुपमा मात्र बुझ्नाले त्यसको मूल दर्शनको उपेक्षा हुनेगर्छ । चाडपर्वलाई समयानुकूल परिवर्तन गर्न कुनै पनि पर्व सुरु हुनुको वस्तुगत अवस्था र चिन्तनमाथि अनुसन्धान आवश्यक हुन्छ । मूल जरोको अनुसन्धानमा ध्यान नदिंदा चाडपर्वको मूल मर्म विस्थापित भई सतही अतिरञ्जना हावी हुनेगर्छ । अतिरञ्जना वा अपव्याख्याले चाडपर्वको मूल आशयबाट नयाँपुस्तालाई अझ विमुख बनाउँछ ।
बुधबार होली मनाउने युवायुवतीहरूको चालचलनले चाडपर्वलाई मनोरञ्जनकै अवसरको रुपमा मात्र बुझिएको र त्यसका सांस्कृतिक र ऐतिहासिक महत्वबारे कमैमात्र प्रचार भएको देखिन्छ । होलिको मूल आशय प्रचार नहुँदा युवाहरूलाई विकृतितिर धकेलेको छ । अझ चाडपर्वलाई सांस्कृतिक आक्रमणको माध्यम बनाइएको छ । जब पर्वको मूल महत्वको गहिराई नै पहिल्याउन सकिंदैन, तब यसलाई समयानुकूल परिमार्जन गर्न पनि नयाँ पुस्ताले सकेका छैनन् । होलिको प्राकृतिक र सौन्दर्यशास्त्रीय महत्वलाई भन्दा मनोरञ्जनलाई प्राथमिक बनाइँदा यहाँको मौलिकता क्रमशः मर्दै गएको छ, विकृतिको मात्र अझ बढ्दो छ ।
सतही मनोरञ्जनमा मात्र लाग्ने युवा पुस्ताले भोलि देश र समाजका समस्या समाधान गर्न अग्रसरता देखाउन सक्दैनन् । चीनको अफिम युद्धदेखि काठमाडौँमा जयप्रकाश मल्लको इन्द्रजात्रासम्मको इतिहासले सिकाउने पाठ यही हो । सस्तो मनोरञ्जनले कुनै बेला देश नै गुमाउनुपर्ने अवस्थाको इतिहासबाट आजको समाजले पनि केही पाठ सिक्न जरुरी छ । होलिका नाममा धेरै युवा–युवतीले लगाएका टीसर्ट (जो एकै दिनको लागि मात्र प्रयोग हुनेछ) का कारण देशको अर्थतन्त्रले कति नोक्सानी भोग्नुपर्ने हो, यसबारे चिन्तन नगर्ने हो भने नेपालजस्तो गरिब देशमा आत्मनिर्भरता र विकासका सपना धेरै टाढा हुनु कुनै आश्चर्यको कुरा होइन ।
एकातिर हामीले आफ्नो मौलिकता गुमाउँदैछौं । सांस्कृतिक आक्रमण भित्याइरहेका छौँ । अर्कोतिर चाडपर्वको नाममा विकृतिको दलदलमा नयाँ पुस्तालाई चोबलेर हामीले देशलाई अझ कमजोर बनाइरहेका छौँ । देश र समाजको लागि लगातार चिन्तन गर्ने युवा पुस्ता नै समाजको अग्रगतिको निम्ति उपयोगी हुने गर्दछ । तर, सस्तो मनोरञ्जनमै मात्र फस्ने युवा पुस्ताले कुनै पनि सङ्कटको उचित समाधान गर्न सक्दैनन् ।
वास्तवमै नयाँ समाजमा बनाउन हामी लागिरहेका छौं भने यो चिन्तनलाई प्रवद्र्धन गर्न जरुरी छ । जुनै पनि चाडपर्वलाई हलुका मनोरञ्जनमा मात्र सीमित नगरी परिवर्तित समयअनुसार समाजमा सकारात्मक परिवर्तनको लागि बदल्दै जानुपर्ने आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *