भर्खरै :

अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै

बेइजिङ, ७ चैत (रासस/एएफपी) – अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता गाओ फेङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिहरु फर्किएलगत्तै अप्रिलमा चिनीया उपप्रधानमन्त्री लिऊ हे व्यापार वार्ताका लागि अमेरिका जानुहुने जानकारी दिनुभयो ।
वासिङ्टन र बेइजिङले व्यापार सम्झौतालाई अन्तिम स्वरुप दिन सङ्घर्ष गरिरहेका छन् । अमेरिकी प्रतिनिधि
हरुले चिनियाँ औद्योगिक नीतिमा व्यापक फेरबदल हुनुपर्ने माग गरिरहेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पनि अमेरिकी करवृद्धिलाई अझै निरन्तरता दिइरहने बताउनुभएको छ । चीनले व्यापार वार्तामा प्रगति भएसँगै जतिसक्दो चाँडो अमेरिकी करवृद्धि फुकुवा हुने अपेक्षा गरेको थियो ।
विगत आठ महिनादेखि संयुक्तराज्य अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमाथि करवृद्धि गरेका छन् । यस करवृद्धिले दुबै मुलुकको उत्पादन क्षेत्रमा नकारात्मक असर परेको छ ।
शुक्रबार मात्र चीनको जनकङ्ग्रेसले बौद्धिक सम्पत्तिको संरक्षणलाई विशेष प्राथमिकता दिनेगरी नयाँ वैदेशिक लगानी कानुन पारित गरेको थियो । चीनको उक्त कानुनका बारेमा अध्ययन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *