भर्खरै :

संसद्मा कन्हैयाको उपस्थितिले कामदार जनताको आवाज अझ बलियो हुनेछ

भारतमा आसन्न निर्वाचन र राजनीतिक गठबन्धनबारे भारतीय कम्युनिष्ट पार्टीका महासचिव सुधाकर रेड्डीसँग द वायरले गरेको कुराकानी प्रस्तुत छ ः
द वायर – गुसारियामा बहुकोणबाट चुनावी प्रतिस्पर्धा हुने भयो । गठबन्धनमा के कुरा मिलेन ?
रेड्डी– अल्पकालीन स्वार्थले विहारमा गठबन्धनले एक्लै चुनावी मैदानमा उत्रनुपरेको छ । तथापि, देशको दीर्घकालीन हितको लागि वाम खेमाले बहुकोणको प्रतिस्पर्धा नगर्ने र आफू जित्ने पक्का भएको क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । मत विभाजन भई कट्टरपन्थीलाई नै मद्दत हुने स्थानमा आपसी प्रतिस्पर्धा नगर्ने निर्णय भएको छ ।
द वायर– कन्हैया कुमार भूमिहार जातिका हुन् । के उनको जातिकै कारण गठबन्धनमा समस्या भएको थियो ? सञ्चारमाध्यमहरूले भूमिहार जातिका मानिसले कन्हैया कुमारलाई भन्दा भाजपाका उम्मेदवार गिरिराज किशोरीलाई मत दिने प्रचार गरेका छन् त ?
रेड्डी– भाकपा र बेगुसारायका उम्मेदवार समस्त कामदार जनता र उत्पीडित तप्काको हितमा लडेका व्यक्ति हुन् । बहुमत मतदाताको लागि जातिको कुरा प्रमुख होइन । बेगुसारायमा भाकपाको सङ्गठन जातिमा आधारित छैन बरु सबै समुदायमा हाम्रो सङ्गठन छ । बेगुसाराय जातिका आधारमा विभाजित नहुनेमा हामी आशावादी छौं । सबै जातिका मानिसले भाकपाका उम्मेदवार कन्हैया कुमारको पक्षमा मतदान गर्नेछन् ।
द वायर– गठबन्धन बैठकमा राष्ट्रिय जनता दल(राजद)को भूमिका कस्तो थियो ? कन्हैया कुमारको भाषणकलाले तेजस्वी यादवलाई प्रतिस्पर्धा गर्न हतास पारेको कुरा सत्य हो ?
रेड्डी– कन्हैया कुमारको लोकप्रियताले राजदलाई हतास बनाएको हो भने त्यो उनीहरूले भन्ने कुरा हो । कमरेड कन्हैया कुमार जवाहरलाल नेहरू विश्वविद्यालयमा उत्पीडनविरुद्ध लडेका थिए । उनी भारतका युवाहरूको निम्ति आदर्श बने । भाकपाले गठबन्धनमा सामेल हुन राजदलाई आह्वान गर्दा त्यो राजदको लागि अवसर थियो । तर, त्यो अवसर उसले छोप्न सकेन ।
द वायर– आगामी निर्वाचन ठूलो महत्व र चुनौती दुवैले भरिपूर्ण भएर पनि विपक्षीहरू एक ठाउँमा आउन सकेनन् । यस्तो अवस्थाको कारण के होला ?
रेड्डी – फरक फरक प्रान्तको फरक फरक राजनीतिक अवस्था भएको कारण देशैभरि चुनावी मोर्चाबन्दी सम्भव नहुने कुरा पहिलेदेखि नै भन्दै आएका हौं । तर, हामीले हरेक प्रान्तमा त्यहाँको परिस्थितिअनुसार सम्भव सकारात्मक चुनावी परिस्थिति निर्माणको निम्ति मिहिनेत गरेका छौं ।
द वायर– कन्हैयाको लागि भाकपाले भविष्यको लागि कस्तो योजना बनाएको छ ?
रेड्डी– कमरेड कन्हैया कुमार सबै तप्काका जनताबीच लोकप्रिय छन् । उनको उपस्थितिले संसद्मा कामदार जनताको आवाज अझ बलियो हुनेमा हामी विश्वस्त छौं ।
द वायर– वामपन्थीहरू राजनीतिक रुपमा बलियो बन्न मूलधारका वामपन्थीहरूले अझै पुनर्गठन गर्नुपर्नेबारे तपाईंको धारणा के छ ?
रेड्डी– वामपन्थीहरूले युवा मतदाताहरूलाई आकर्षण गर्न मिहिनेत गर्नुपर्छ । त्यसैको सिलसिलामा भाकपाले आगामी संसदमा प्रतिनिधित्वको लागि युवा उम्मेदवार अघि सारेका छौं । देशभरिका विश्वविद्यालयहरूमा उठेको प्रगतिशील आन्दोलन आगामी दिनमा शक्तिमा रुपान्तरण हुनेछ ।
द वायर– बङ्गालको सन्दर्भमा तपाईहरूको योजना के हो ? बङ्गालमा वामपन्थीहरू किन अदृश्य भएका हुन् ?
रेड्डी– त्रिणमूल काङ्ग्रेस सरकारको व्यापक दमन र भाजपाको गुण्डागर्दी बङ्गालमा अचाक्ली बढेको छ । तथापि भाकपा र अन्य वाम सहकर्मी पार्टीहरू साङ्गठनिक आधार पुनःसबल बनाउन र कामदार जनताको मुद्दालाई अझ बिस्तार गरिरहेका छन् । जनताले हामीलाई साथ दिनेमा हामी विश्वस्त छौं । ममता बेनर्जीको कुशासन र भाजपाको साम्प्रदायिकताबाट जनता आजीत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *