भर्खरै :

भैरवनाथको रथमा बेतः द्यःको नयाँ प्रतिमा

भक्तपुर, १९ चैत । भक्तपुरको बिस्केट जात्रामा तानिने भैरवनाथको रथ (भैलखः) मा यो वर्ष बेतः द्यः (श्वेत भैरव) को नयाँ प्रतिमा रहने भएको छ । आगामी चैत २७ गते तानिने भैरवनाथको रथको अग्रभागमा झण्डै ३३ वर्षपछि बेतःद्यः को नयाँ प्रतिमा सबै जात्रालुहरूको आकर्षक बन्दैछ । भक्तपुर नपा वडा नं ८ लिबालीस्थित नारायणप्रसाद खाइतूको घरमा बेतः द्यःको नयाँ प्रतिमाको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । खाइतूको घरमा भक्तपुरका एकजना सिकर्मी, ठिमीका दुईजना मुकुट बनाउने कर्मी, पाटनका दुईजना धातु कलाकार र भक्तपुरका दुईजना बुट्टा कुँद्ने कलाकार बेतः द्यःको नयाँ प्रतिमालाई अन्तिम रूप दिन दिनरात लागिरहेका छन् । चैत २३ गते बेतः द्यःको नयाँ प्रतिमा प्रतिस्थापन गरिनेछ ।
पुख्र्यौली घर भक्तपुर नपा वडा नं ५ टौमढी भई हाल लिबालीमा बस्दै आएका ५० वर्षका नारायणप्रसाद खाइतूको परिवारले बेतः द्यःको नयाँ प्रतिमा प्रतिस्थापन गर्न लागेको हो । गएको पुस महिनामा नवदुर्गा गणका सबै सदस्यलाई तामाको घ्याम्पो चढाएको उनको परिवारले भैरवनाथ रथ गुठीका गुठीयारहरूको अनुरोधमा बेतः द्यःको नयाँ प्रतिमा पनि चढाउन लागेको हो ।
बेतः द्यःको प्रतिमा बनाउन प्रयोग गरिने दुर्लभ ब्रहमकाठ भक्तपुुरको सोमला गल्लीस्थित अच्युत जोशीको आँगनबाट ल्याइएको हो । फागुन २३ गते औपचारिक पूजाआजासहित फागुन २५ गते ब्रहमकाठको रुख काटी प्रतिमा बनाउन थालिएको थियो । ब्रहमकाठलाई संस्कृतमा वरुण वृक्ष र नेपालभाषामा स्वामीमा भनिन्छ । विशेष प्रकारको सो काठमा बुट्टा कुँदी तामाको पाटाले मोडिएको छ । प्रतिमाको शिरमा अष्टधातु पगालेर बनाइएको बाक्लो धातुको पाटाले मोडेर सुनको जलप लगाइने दाता खाइतूले बताए ।
खाइतूले बेतः द्यःको प्रतिमासँगै भैरवनाथको नित्य पूजाको लागि आवश्यक चाँदी र तामाका पूजाआजाका वस्तुसमेत प्रदान गरेका छन् । भैरवनाथको नित्य पूजाको लागि आवश्यक पर्ने ३१ तामाका भाँडाकुँडा र पूजाआजाका सामग्रीसहित २ किलो चाँदी बराबरको सामान पनि प्रदान गरेका छन् । यसअघि भैरवनाथको नित्यपूजामा प्रयोग गरिने अधिकांश भाँडाकुँडा माटाका भएको उनले बताए ।
बेतः द्यःको पुरानो प्रतिमा बिस्केट जात्रामा भएका इँटा हानाहान र अबीरको रसायनले प्वाल पर्दा नयाँ प्रतिमा बनाउने दाताको खोजी भएको भैरवनाथ गुठीका गुठीयार कृष्णगोपाल नागाले बताए । २०४२ सालमा भैरवनाथको रथ तान्दा बेतः द्यः को प्रतिमामा क्षति पुगेपछि नयाँ प्रतिमा प्रतिस्थापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *