भर्खरै :

सुख्खा मौसममा आगलागीको बढी भय

– रामजनम चौधरी
प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कसैले रोक्न सक्दैन । प्रत्येक वर्ष बेलाबखत बाढी पहिरो आउँछ, नेपाली भूमि डुबानमा पर्छ । साना ठूला भूकम्प पनि गइरहेको छ । यस्ता प्राकृतिक प्रकोपबाट बर्सेनि अरबौं खरबौँ रकम बराबरको क्षति भइरहेको छ । बाढी पहिरो वर्षा याममा हुन्छ । वर्षा सुरु हुनेबित्तिकै तराईका कति फाँटहरू डुबानमा पर्छ । बालीनाली नोक्सान हुन्छ । गाई गोठ बगाउँछ । बसाइ सार्न बाध्य हुन्छ । यो पीडा तराईका जनताले प्रत्येक वर्ष व्यहोरिरहेका छन् । स्थानीयको ठूलो जनधनको क्षति भइरहेको छ । तर पनि सरकारले तराई डुवानबाट जोगाउने उपाय खोजेको देखिंदैन ।
चैत–वैशाखको समय हुरी बतासको समय हो । यो समयमा हुरी बतासकै कारण छाना उडाउँछ, रुख र पोल ढल्छ । यसले विगतमा पनि क्षति पु¥याएको थियो । तर, यो पटकझैं विगतमा थोरै समयमा धेरै जनधनको क्षति हुने गरी हुरी बतास चलेको थिएन । चैत १८ गतेको हुरी बतासले त सयौं घर उडायो, झन्डै तीन दर्जनको मृत्यु भयो, अन्न, लुगाफाटा बेकाम्य भयो । कसैले नसोचेझैं ठूलो क्षति भयो । हुरी बतास पीडितलाई समयमै राहत पु¥याउनु राज्यको दायित्व हो । स्थानीय, प्रदेश र केन्द्र सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरे । सरकारी त्यो निर्णय कागजमा मात्र गरिने होइन । सरकारलगायत अन्य गैरसरकारी, उद्योग तथा सामाजिक सङ्घ संस्थाले गरेको निर्णयअनुसार घटनास्थलमा तुरुन्तै राहत पु¥याउनुपर्छ । निर्णय चाँडै गरेर राहत पीडितहरूको हातमा ढिलो पुगे त्यसले अरु क्षति पु¥याइसकेको हुन्छ । समयमै राहत नपुगे भोक, शोक र पीडाले थप क्षति हुन्छ । चिन्तै चिन्ताले चित्तामा जलेर मृत्यु भएको कथा हामी सुन्छौँ । यो बेला पीडित जनताको घर आँगनमा आवश्यक राहत पु¥याउनु, घाइतेहरूको उपचार गर्नु नै पहिलो र भरपर्दो राहत हुनेछ । यसमा सरकार क्रियाशील हुनुपर्छ ।
यो समय सुखा मौसमको समय हो । यो समयमा आगलागीको बढी भय हुन्छ । कसैको सानो लापरबाही या असावधानीले आगोको कारण बस्ती बस्ती नै खरानी भएको दृष्टान्त छ । सुखा समयमै हुरी बतास पनि त्यतिकै चल्ने हुँदा जहाँतहीं आगो बाल्दा आगो सल्केर ठूलो विनाश हुनसक्छ । जहाँतहीँ या घर आँगन या बस्ती नजिक आगो बाल्नुहुँदैन, कारणबस आगो बाले पनि निभाउनुपर्छ । यस्तो आगलागी प्राकृतिक प्रकोपले भन्दा मानवीय कमजोरीले गर्दा हुन्छ । बालबालिकाहरूको कारणले हुनसक्छ । कहींकतै आगो सल्क्यो कि बस्तीमै छुनसक्छ । यसतर्फ पनि नागरिकहरू सचेत हुनुपर्छ । जाडोमा आगो ताप्दा, खाना खाजाको लागि खुला ठाउँमा आगो बाल्दा होस पु¥याउनुपर्छ । हुरी बतासको कारण शोकमा डुबेको बेला, खुला आकाशमा पीडाको आँसु पिएर जीवन बिताइरहेको बेला हाम्रो सानो असावधानीको कारण आगो लागेर, आगो सल्केर अर्को विनाश हुनसक्छ । यसतर्फ ध्यान पु¥याउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *