भर्खरै :

गोसाइँकुण्ड धार्मिक मार्ग खुल्ला

 
रसुवा,२२ चैत । हिमपातका कारण लामो समयदेखि बन्द गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय मार्ग खुल्ला भएको छ । पर्यटन व्यवसायी निशान गजुरेलकाअनुसार स्थानीय व्यवसायीको प्रयासबाट पैदलमार्गको हिउँ पन्छाइ धार्मिकयात्रु एवं पर्यटक गोसाइँकुण्ड जानका लागि सहज वातावरण भइसकेको छ ।
लौरी विनायकदेखि माथिल्लो क्षेत्रका पाखामा सेताम्मे हिउँ देखिए पनि हिँड्ने मार्गको ट्र्याकमा रहेको हिउँ स्थानीय व्यवसायीले हटाएपछि दैनिक २० भन्दा बढी पर्यटक एवं यात्रु ओहोरदोहोर गर्न थालिसकेकेका उहाँले बताउनुभयो । गोसाइँकुण्डमा रहेका होटल तथा लज खुल्ला भई गोसाइँकुुण्ड पुग्ने सबैले रातको समयमा पनि सहज रूपले वास बस्न थालिसकेका पर्यटन व्यवसायी गजुरेलले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित धार्मिक एवं पौराणिक उक्त तीर्थमा हरेक वर्षको जेठ महीनाको गङ्गा दशहरा र भदौ महीनामा लाग्ने जनैपूर्णिमा पर्वको मेला केन्द्रित गरी ठूलो मेला लाग्ने परम्परा भए पनि विसं २०७२ को भूकम्पपछि यात्रु बाह्रैमहीना निरन्तर गोसाइँकुण्ड जाने गरेका चन्दनबारीका पर्यटन व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो ।
धार्मिक मार्गको चन्दनबारी, लौरीविनायकदेखि गोसाइँकुण्डसम्म यात्रुको भोजनका लागि आवश्यक नून, तेल, दाल, चामल जस्ता अत्यावश्यक खाद्यान्न खच्चरद्वारा ठाउँ ठाउँमा ढुवानी भई सकेकाले हिमाली क्षेत्रको यात्रामा खान र बाँस बस्न कुनै समस्या नपर्ने होटल व्यवसायीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *