भर्खरै :

पुँजीवादी व्यवस्था स्वीकारेर समाजवाद नआउने

–मेरिना शाक्य
संविधानमा समाजवादउन्मुख देशको कुरा उल्लेख छ । तर सरकार संविधानमा उल्लेख भएअनुसार समाजवादउन्मुख देश बनाउन अघि बढेको देखिंदैन । हाल बनेको संविधान, सरकारद्वारा सार्वजनिक गरिएको सरकारी नीति तथा कार्यक्रम र बजेट समाजवादउन्मुख छैन । समाजवादउन्मुख व्यवस्था कम्युनिष्ट दलको अन्तिम उद्देश्य होइन । पुँजीवादी गणतन्त्रको स्थापनालगत्तै समाजवादी व्यवस्था सम्भव छैन । समाजवादी व्यवस्था निर्वाचनमा संसदीय माध्यमबाट स्थापना हुँदैन । त्यही भएर नेमकिपाले समाजवादउन्मुख संविधान बनाउनुपर्ने माग अघि सारेको हो, सरकारको ध्यानाकर्षण गरिरहेको हो ।
हाल नेपालको राज्य व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी गणतन्त्र कम्युनिष्ट पार्टीको लक्ष्य होइन । पुँजीवादी गणतन्त्र अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्न कम्युनिष्ट पार्टीले सङ्घर्ष गर्नुपर्छ । पुँजीवादी राज्य व्यवस्थामा कम्युनिष्ट भनिने दलले सरकारको नेतृत्व गरे पनि कम्युनिष्ट सिद्धान्त र विचारअनुसार काम गर्नसक्दैन । सरकारको नेतृत्व कम्युनिष्ट दलको हातमा भए पनि काम, कारबाही सबै पुँजीपति बन्दोबस्तअनुकूल भइरहेको छ । प्रधानमन्त्री केपी ओलीले विश्वकै उत्कृष्ट राजनीतिक, आर्थिक तथा सामाजिक व्यवस्थासहितको समाजवादउन्मुख व्यवस्था स्थापना गर्न सरकार अघि बढिरहेको उल्लेख गरे । समाजवादउन्मुख व्यवस्था विश्वको उत्कृष्ट व्यवस्था होइन, हुनसक्दैन । समाजवादउन्मुख व्यवस्था लागू गर्न अघि बढिरहेको भन्ने सरकारले २५ वर्षभित्र नेपाल उत्कृष्ट समाजवादको चौतारीमा पुग्ने बखान गरे ।
कुनै पनि नयाँ व्यवस्था कुनै नेता या मन्त्रीले फुक्दैमा प्राप्त हुने होइन । समाजवादउन्मुख देश बनाउन अघि नबढेको प्रम ओलीकले २५ वर्षभित्र उत्कृष्ट समाजवाद स्थापना हुने सपना बाँडे । त्यसो त नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आफू जीवित छंदै देशमा समाजवाद हेर्ने आशा व्यक्त गरेका थिए । पुँजीवादी ऐन कानुनमा टेकेर या वर्गसङ्घर्षको भावना छोडेको सरकारको नेतृत्व गर्ने नेकपाले कसरी समाजवादी गणतन्त्र स्थापना गर्छ ? आफूलाई ठूला, शक्तिशाली दाबी गर्ने नेकपाले कम्युनिष्टको सिद्धान्त र विचारलाई आत्मसात गरेको छैन । वर्गसङ्घर्षको भावना पूरै छोडिसकेको छ । पुँजीवादी व्यवस्थामै टेकेर सानातिना विकास र सुधार गर्नु नै नेकपाले आफ्नो लक्ष्य सम्झेको छ । पुँजीवादी व्यवस्थालाई स्वीकारेर देशमा कसरी समाजवाद स्थापना हुन्छ ? के कुनै कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दैमा देशमा समाजवाद स्थापना हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *