रोहित कुमार

भारतका सबै प्रधानमन्त्रीहरूले आफ्नो पालाका कुनै न कुनै विशिष्ट विरासत छोडेर गएका छन् । अधिकांशतः उनीहरूको विरासत मिश्रित खालको छ । उनीहरूले छोडेको विरासत उनीहरूले चाहेकैजस्तो नहुनु स्वाभाविक हो । प्रधानमन्त्री जवाहरलाल नेहरू विज्ञान र धर्मनिरपेक्षताप्रतिको बलियो प्रतिबद्धताको लागि स्मरण गरिन्छ । तर, कास्मिर समस्या र सन् १९६२ मा चीनसँगको युद्धमा पराजयका लागि उनलाई नै जिम्मेवार मानिन्छ । सन् १९६५ मा पाकिस्तानसँगको लडाइँमा विजयको जश प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई दिइन्छ । उनले प्रतिपादन गरेको ‘जय जवान, जय किसान’ नाराको लागि पनि मानिसहरू उनलाई सम्झन्छन् । उनको तासकन्दमा निधन भयो । अर्का प्रधानमन्त्री इन्दिरा गान्धीको सम्झना ‘गरिबी हटाओ’ जस्ता गरिबमुखी नीतिहरू र असंलग्न आन्दोलनमा सक्रियताको लागि गरिन्छ । त्यस्तै सङ्कटकाल र अपरेसन ब्लुस्टारसँग पनि उनको सम्झना जोडिएर आउने गरेको छ ।
राजीव गान्धीले आफू प्रधानमन्त्री हुँदा भारतमा कम्प्युटर भित्याएका थिए । टेलिकम क्षेत्रमा क्रान्ति ल्याएकोमा उनको स्मरण गरिन्छ । सँगै स्वीडेनसँग हतियार खरिदसम्बन्धी बोफोर्स काण्डको लागि पनि उनको सम्झना गरिन्छ । आर्थिक उदारीकरणको युगको सुरुवातका लागि प्रधानमन्त्री पीभी नरसिंह रावको सम्झना गरिन्छ । सँगै बाबरी मस्जिद भत्काउनमा रोक लगाउन प्रभावकारी कारबाही गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ । अटल बिहारी बाजपेयीलाई तेह« वटा राजनीतिक दललाई एकै ठाउँमा ल्याउनसक्ने खुबीको लागि सम्झना गरिन्छ । साथै पोखरणमा भएको आणविक परीक्षणको लागि र ‘भारत उदय’ को नारासँगै भारतीय जनता पार्टीको गठन प्रक्रियाको पूर्णताको लागि बाजपेयीको सम्झना गरिन्छ ।
प्रधानमन्त्री मनमोहन सिंहलाई भारतकै इतिहासमै सबभन्दा बढी शैक्षिक योग्यता भएका प्रधानमन्त्रीको रुपमा स्मरण गरिन्छ । उनकै पालामा भारतको कुल गार्हस्थ उत्पादन दुई अङ्कमा उक्लियो । तर, भ्रष्टाचार नियन्त्रण गर्न उनले पुग्दो प्रभावकारी भूमिका निभाउन नसकेकोमा उनको आलोचना हुने गरेको छ । युनाइटेड प्रोगे्रसिभ एलायन्सअन्तर्गत दोस्रो कार्यकाल भ्रष्टाचारका कारण बदनाम भयो ।
यी त भए हिजोका प्रधानमन्त्रीहरूका कुरा । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भविष्यमा के कुराले सम्झना गरिने छ ?
प्रधानमन्त्रीको रूपमा मोदीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्दै गर्दा यो प्रश्नको जवाफ भने विभाजित छ । उनका समर्थकहरूले उनलाई ‘विश्वको नक्सामा भारतलाई चिनाउन सफल’ को रूपमा प्रशंसा गर्नेछन् । यसरी मोदीको चर्चा गर्दै गर्दा सम्भवतः उनीहरूले ‘मुस्लिमहरूलाई ठेगान लगाएको’ र ‘हिन्दू गौरव पुनस्र्थापना गरेको’ कुरा भने गर्ने छैनन् ।
उनका विरोधीहरूले उनलाई अत्यधिक विश्व भ्रमण गरेको र साम्प्रदायिक भावना उछाल्दै त्यसको नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नेछन् । नोटबन्दीले पु¥याएको क्षति र जीएसटी कार्यान्वयनमा भएका कमजोरीले भारतीय अर्थतन्त्रमा पु¥याएका हानीको कारण पनि मोदीको आलोचना हुनेछ । साथै भारतीय लोकतन्त्रलाई कमजोर बनाएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।
मोदीका कट्टरसमर्थक र मन्त्री–पार्टी प्रवक्ताहरू (जसको काम नै आफ्नो अनुकूलतामा तथ्यलाई बङ्ग्याउनु भएको छ) ले सत्तासीन भएपछि नरेन्द्र मोदीले आफ्ना प्रतिबद्धता पूरा गरेको दाबी गर्नु स्वाभाविक हो । उनीहरूको दाबीअनुसार मोदी सरकार बनेयता भारतमा वर्षमा करोडौँ युवाहरूले रोजगारी पाएका छन् । भ्रष्टाचार अन्त्य भएको छ । भारत उत्पादनको प्रमुख केन्द्र बनेको छ । महिलाको लागि भारत सुरक्षित देश बनेको छ । पेट्रोल र डिजेलमा मूल्यवृद्धि नियन्त्रण भएको छ र सबैको लागि ‘अच्छे दिन’ (राम्रो दिन) आएको छ ।
तर धेरै मानिसहरूले नरेन्द्र मोदीलाई निकट भविष्यसम्म उनको अहम (इगो) का कारण सम्झिनेछन् ।
भारतीय जनताले मोदीको अहम्भावबारे सन् २०१४ को चुनावताका नै भेउ पाइसकेका थिए । चुनावी अभियानको क्रममा उनले आफ्नो छात्ती ५४ इन्च चौडा भएको भाषण गरेका थिए । (हामीलाई थाहा भएसम्म कोही पनि भारतीय प्रधानमन्त्रीले कुनै पनि सार्वजनिक समारोहमा आफ्नो कुनै पनि शरीरको अङ्गको चर्चा गरेका थिएनन् ।)
त्यसपछि उनको सेल्फी र क्यामराप्रतिको आसक्तिलाई मानिसहरू सम्झनेछन् । एउटा सङ्क्षिप्त भिडियोमा उनी आफू क्यामरामा देखिन सुरक्षाकर्मीलाई धकेलिरहेका थिए । आफूतिर क्यामराको राम्रो कोण परोस् भनी मोदी फेसबुकका प्रबन्धक मार्क जुकरबर्गलाई समेत तानिरहेको श्रव्यदृश्य भाइरल भयो । एकजना पत्रकारले क्यामरामार्फत मोदीकै नाम बुनिएको दस लाख पर्ने सुट सार्वजनिक हुँदा प्रधानमन्त्रीको आत्माश्लाघा गम्भीर तहमा पुगेको भारतीय जनताले महसुस गरे ।
सरकारले घोषणा गरेका ठूला आकारका सबै कार्यक्रमहरूको नामअघि ‘प्रधानमन्त्री’ उपसर्ग झुण्ड्याएबाट उनको आत्मश्लाघा अझ प्रस्ट हुँदै गयो । जस्तो, प्रधानमन्त्री फसल बीमा योजना, प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री कौशल विकास योजना, प्रधानमन्त्री जनधन योजना, प्रधानमन्त्री उज्याला योजना, प्रधानमन्त्री ग्राम सडक योजना आदि ।
समयान्तरमा भारतका प्रचारमाध्यमहरूमा प्रधानमन्त्रीका तस्वीर जताततै प्रयोग हुँदै गएको देखिन थाल्यो । जस्तैः कार्यालय, भित्तेपात्रो, पेट्रोल पम्प, विमानस्थल, रेलवे स्टेसन, बस स्टेसनका होर्डिङबोर्ड आदि स्थानहरूमा । भारतमा धेरै अघिदेखिका शासकहरूले आफ्नो राजनीतिक प्रभाव र ऐतिहासिक विरासतको लागि आफ्नो नाम छापिएको मुद्रा बनाउँथे । तर, आधुनिक समयमा सन् २०१४ देखि २०१९ सम्मको भाजपा सरकारले जति आफ्नो नेताको प्रचारमा पैसा खर्च गर्ने कुनै पनि सरकार भेटाउन गाह«ो हुनेछ ।
आधुनिक मनोविज्ञहरूले ‘अहम्वादी’ शब्दलाई आफ्नो लागि मात्र सोच्ने र अरुलाई निकै कम आँक्ने खतरनाक मनोविज्ञानको रूपमा व्याख्या गरेका छन् । त्यस अर्थमा ‘अहम्’ भन्नाले आक्रामक सक्रियता, आत्मकेन्द्रित महत्वाकाङ्क्षा र आफ्नै कुरालाई ज्यादा महत्व दिनु हो । अहम्वादीलाई उनीहरू रक्सीबाजसँग पनि तुलना गर्छन् । रक्सी मादक भएजस्तै अहम्वाद पनि मादक हुन्छ । दुवैले मानिसलाई अन्ततः वास्तविकताभन्दा पर धकेलेर

शिकार बनाउँछ ।
ह््यारोल्ड गिन्निका अनुसार यी अहम्वादी र रक्सीबाजबीचको ठूलो भिन्नता भनेको,“अहम्वादीहरू रक्सीबाजजस्तै टेबुलमा कतै ठोकिएर लड्ने गर्दैनन् । उनीहरू रुक्सीबाजले झैं बोल्दा लरबराउँदैनन् न त कुनै असामान्य गतिविधि नै गर्छन् । बरु उनीहरू झन् पछि झन् सक्रिय बन्छन् । केही मानिस यस्ता आक्रामक सक्रियताको अन्तरनिहीत अर्थ नबुझी उनीहरूको त्यस्तो सक्रियतालाई नै शक्ति र आत्माविश्वासको रुपमा बुझ्ने गर्छन् ।”
कुनै अंकुशबिनाको नेता देशको लागि निकै खतरनाक हुन्छ किनभने त्यसले उसलाई एकजना असल राजनेताका विशेषतासम्म पुग्न दिंदैन । अहम्वादी नेताहरूले अरु कसैसँग सहकार्य गर्न सक्दैन किनभने उनीहरू अरुका भनाइको पर्वाह गर्दैनन् । उनीहरू एकपक्षीय ढङ्गले निर्णय गर्छन् किनभने आफूभन्दा योग्य वा जानकार व्यक्तिबाट वस्तुगत सल्लाह लिन उनीहरू सक्दैनन् । उनीहरू अरुलाई प्राथमिकतामा राख्न सक्दैनन् किनभने उनीहरू आफैंमा पूर्ण भएको ठान्छन् । उनीहरू आफ्ना राजनीतिक विपक्षीलाई आफ्नो शत्रु मान्छन् र उनीहरूलाई सिध्याउनुपर्ने सोच्छन् ।
अहम्वादी नेताहरू आफ्ना गल्तीको लागि क्षमा माग्न तयार हुँदैनन् न त आफ्ना कमजोरी नै स्वीकार्न तयार हुन्छन् । यस्ता नेताहरूको अन्त्य दुःखद र पीडादायी हुने गर्दछ । आफूभित्र प्रतिभा वा इमानदारीको अभाव भएको वास्तविकता कतै बाहिर आउने हो कि भन्ने डर उनीहरूको मनमा सधैं रहने गर्दछ । यस्तो नेतृत्वको सबभन्दा खराब पक्ष भनेको गलत निर्णयको अधिकता हो जसले ठूलै आकारको क्षति हुने गर्दछ । यसको अन्तिम दुष्परिणाम भने देशले भोग्नुपर्ने हुन्छ ।
मोदी शासन सन् २०१९ सम्म मात्र हुन्छ वा फेरि अघि बढ्छ, आगामी चुनावले निर्णय गर्नेछ । (धेरै भारतीयहरू अझ अर्को पाँच वर्ष यस्तो अहमवादी नेतृत्वलाई कसरी झेल्ने हो भन्ने विषयमा चिन्तित छन्) तर, मोदी शासनको विश्लेषणको लागि राजनीतिक चिन्तक, इतिहासकार र मनोविश्लेषकहरूसमक्ष मोदीका नीति, गतिविधि, निर्णय र सम्बन्धहरू तथ्यका रूपमा बाँकी रहनेछन् ।
उनीहरूले प्रश्न गर्नेछन्ः
भारतका एकसेएक प्रतिभाशाली व्यक्तिहरूले नोटबन्दी नगर्न खबरदारी गर्दा पनि प्रधानमन्त्रीले किन नोटबन्दी गर्ने निर्णय गरे ? उनले किन आधा पाकेको अवस्थामा जीएसटीलाई छोडे ? किन उनले आफ्नो सल्लाहकार टोलीमा आफ्ना अन्धभक्तलाई मात्र भर्ती गरे ? किन उनको सत्ता गठबन्धनका सहयोगीहरूले एकपछि अर्को गर्दै छोड्दै गए ? किन यी वर्षमा मित्र देशमा लामो समयदेखि स्थापित कूटनीतिक सम्बन्धमा तिक्तता आयो ? धेरै मानिसले सावधानीपूर्वक गरेका पटक–पटकको आग्रहबीच मोदीको अहम् किन सचिएन ?
सबै प्रश्नको उत्तर भएको बलियो नेतृत्व भनेको एउटा मिथकमात्र हो । बितेका पाँच वर्षमा भारतले यो कुरा छर्लङ्ग भोगिसकेको छ । एक्काइसौं शताब्दी जटिल समय हो । यो समयमा सफलतापूर्वक सम्झौता गर्न हामीसँग अरुका कुरा सुन्नसक्ने, सिक्नसक्ने, सहकार्य गर्नसक्ने नेतृत्वको खाँचो छ जसले समग्रतामा सद्भावपूर्ण र साहसिक निर्णय गर्नसक्छ । त्यो नेतृत्व आत्मकेन्द्रित, आत्माश्लाघा पालेको र आत्मप्रशंसक हुनुहुन्न ।
(लेखक रोहित कुमार सकारात्मक मनोविज्ञान र मनोरसायनिक पृष्ठभूमिका शिक्षक हुन् ।)
स्रोतः द वायर
नेपाली अनुवादः सुशिला