भर्खरै :

पुरातत्व विभाग किन मौन ?

बुङ्गमति, खोकनामा फास्ट ट्रयाक, बागमती करिडोर, सिटीस्मार्ट विनामुआब्जा र विनापूर्वाधार स्थानीय जनतालाई उठीबास गर्न लागेको योजना थियो ।
बुङ्गमति, खोकनाको जग्गा स्थानीय जनताको समस्यामात्र होइन । यो समस्या चाडवाड, कला संस्कृति, पुरातात्विक महत्वसँग पनि सम्बन्धित रहेको छ । बुङ्गमतिका किसानहरूले पहिलेदेखि जोत्दै कमाइ आएको त्यो उर्वर भूमिबाट उत्पादित धान, मकै, गहुँ, तरकारी नेपालकै सबभन्दा लामो समयसम्म मनाउने रातो मछिन्द्रनाथको जात्रा सञ्चालन, रथ निर्माण मर्मत, मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा पूजाआजा गर्दै आइरहेको थियो । त्यही कारण बुङ्गमतिका जनतालाई जग्गा भोगचलन गर्न दिइएको हो । त्यो जग्गा बुङ्गमतिका शिल्पकार, मूर्तिकार र कलाकर्मीहरूको सम्पत्ति हो ।
आज विकासको नाउँमा विनामुआब्जा जग्गा हडप्दै छ । यसरी जग्गा हडपे भोलि विश्व विख्यात भोटो जात्रा कसरी सञ्चालन हुन्छ ? मछिन्द्रनाथको पूजाआजा कसले गर्छ ? विकासको नाउँमा जग्गा सरकारले कब्जा गरे चाडपर्व, परम्परागत संस्कृति ओझेलमा पर्नेछन् ।
खोकनाका जनताको समस्या कला, संस्कृति, पुरातात्विक महत्वसँग सम्बन्धित छ । खोकना बस्ती बागमती नदी किनारमा अवस्थित छ । विगतको भूकम्पले त्यो बस्ती आज भग्नावशेषको रूपमा रहेको छ । त्यो भग्नावशेषलाई उत्खनन गरेर संरक्षण गर्न सके पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सकिन्छ । आज देशको संस्कृति मन्त्रालय र पुरातत्व विभागले यसबारे कुनै चासो लिएको पाइँदैन । सो क्षेत्रमा सर्वसाधारण जनताको बस्तीको भग्नावशेष, मठ मन्दिर, पाटीपौवा, देवालय, शिवालयको भग्नावशेष यथावतै छन् । ८०, ९० रोपनी भएको टिकाली चौर र त्यहाँ अवस्थित मन्दिरसमेत फास्ट ट्रयाक, करिडोर, सिटी स्मार्टको योजनामा पार्ने चलखेल गर्दैछन् । यो ठाउँ ललितपुरवासीको मात्र सरोकारको विषय होइन । त्यसैले यो ठाउँको संरक्षण गर्नु सर्वसाधारण जनताको मात्र होइन, संस्कृति मन्त्रालय र पुरातत्व विभागको पनि कर्तव्य हो ।
– गंगाराम ज्याख्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *