प्रेम. के. निडर
नेपाल एक बहुजातीय तथा बहुभाषिक देश हो । यहाँका विभिन्न जातजातिको आ–आफ्नै संस्कार र संस्कृति छ । नेपाल एक बहुसंस्कृतिको देश भनेर पनि चिनिन्छ ।
संस्कार र संस्कृतिको कुरा गर्दा नेवार जाति अगाडि आउँछ । नेपालको पौराणिक मठ मन्दिर, पाटी पौवा तथा सम्पदाहरू जति पनि छन्, ती सबै नेवार जातिको पौराणिक पहिचान हो भन्दा फरक नपर्ला । नेवारहरू जहाँजहाँ बसेका छन् त्यहाँ त्यहाँ आफ्नै पहिचान देखाउने संस्कार संस्कृति मनाइरहेको हामी पाउँछौँ । बिहान बेलुका बाजा बजाएर भजनमात्र होइन तिथिमितिअनुसार चाडबाड र रथ बोक्दै जात्रा–पर्व मनाएर रमाइलो गरिरहेको देख्न सकिन्छ । त्यो नेवार जातिको सांस्कृतिक पहिचान हो । भक्तपुर जिल्लाको थिमी नगरपालिकाअन्तर्गतको बोडे पनि एक ऐतिहासिक एवम् संस्कार संस्कृतिले भरेको पौराणिक बस्ती हो भन्ने कुरा बोडेका ऐतिहासिक र सांस्कृतिक महत्र्वका जात्रा–पर्व र सांस्कृतिक नाचगानहरूले प्रस्ट पार्दछ ।
काठमाडाँै उपत्यकाभित्र जति पनि ऐतिहासिक तथा सांस्कृतिक महत्र्वका जात्रापर्व र सांस्कृतिक नाचगानहरू छन् ती सबै पौराणिककालदेखि सञ्चालनमा आएको इतिहासमा उल्लेख छ । ती जात्रापर्वहरूमध्ये बिस्केट जात्रा पनि एक हो । बिस्केट जात्रा भक्तपुर, थिमी, बोडे, नगदेश र टोखामा मनाउने जात्रा हो । राजा विक्रमादित्यले सञ्चालनमा ल्याएको इतिहासमा उल्लेख भए पनि ती ठाउँको जात्राको सन्दर्भमा सुन्नमा आएका किंवदन्तीहरू फरक फरक छन् । कहीं देवी देवताको कारण जनताले दुःख पाएको र पूजा गरी त्यसको जात्रा गरेको किंवदन्ती छ भने कहीं राजकुमारीको नाकबाट निस्केको नागलाई मारेको भनाइ छ । जिब्रो छेड्ने बोडेको बिस्केट जात्राको किंवदन्ती पनि आफ्नै प्रकारको छ । नेवारी संस्कृतिभित्र कहीं नभएको यो ऐतिहासिक जात्राले बोडेको मात्र परिचय दिइरहेको छैन । यसलाई देश र जनताको सुरक्षाको निम्ति मानिसले गरेको बलिदान र समर्पण भावको जात्राको रुपमा लिइन्छ ।
बोडे नीलबाराही मन्दिरबाट नजिकको बस्ती हो । ऐतिहासिककालदेखि बोडेको जात्रापर्व र संस्कृतिहरूमा नीलबाराहीको भूमिका देख्न सकिन्छ । बोडेको नीलबाराही गणनाच नीलबाराही आफैले सिकाएर सञ्चालनमा ल्याएको किंवदन्ती छ । यो गणनाच अद्यापि चल्दै छ । जिब्रो छेड्ने जात्राको सन्दर्भमा एउटा रोचक किंवदन्ती छ । ऐतिहासिककालमा नीलबाराही जङ्गल नजिक शङ्खकोट भन्ने बस्ती थियो । शङ्खकोटका मानिसहरूलाई दिनमा जङ्गली जनावर र बेलुका र राति नीलबाराहीका सङ्गिनीहरू भूतप्रेत र ख्याक भएर तर्साउन आउने गर्दथे । भूतप्रेत र ख्याकको कारण शङ्खकोटका मानिसहरू डराएर शङ्खकोटबाट अलि पर आएर बस्ती बसाले । जसलाई बुँदे अर्थात् हालको बोडे भन्ने गरिन्छ । बोडेमा आएर बस्दा पनि नीलबाराहीका सङ्गिनीहरू भूतप्रेत र ख्याक भएर तर्साउन आउन छोडेनन् । बोडेका पीडित जनताले सुरक्षाको निम्ति पशुपति देवपटनमा गएर तान्त्रिक भीमदत्तलाई बोलाएर ल्याए । जनतालाई तर्साउन आएका ख्याक भीमदत्तले राखेको तारनमा परेपछि भीमदत्तले केरकार गरे । केरकारबाट ख्याक नीलबाराहीको दाहिने बस्ने रक्षक भनेर थाहा पाए । आफूलाई दुःख दिने ख्याकलाई रिसाएका बोडेका जनताले कसैलाई कपाल काट्ने, कसैको लुगा च्यातिदिने, कसैको ख्याकको जिब्रोमा सुइरो घुसाइदिने काम गरे । भागिजाला भनेर थाहा पाउन घुङ्घरुसमेत लगाइदिए । यस्तो सजाय सहन नसकी ख्याकले आफूलाई मुक्त गरे । जुनसुकै वाचा पनि पूरा गर्छु भनेपछि वाचा गर्न लगाई महालक्ष्मी मन्दिरको अगाडि जिब्रो छेडेको सुइरो निकाली मुक्त गरिएको किंवदन्ती छ ।
एक दिन भीमदत्तले नीलबाराही रिसाएको सपना देखेछ । सपनामा नीलबाराही आफ्नो रक्षकलाई सजाय दिएको कारण रिसाएको थाहा पाएपछि भीमदत्तले क्षमा मागी क्षमा पूजा गरेर अबदेखि जिब्रो छेडाउने वचन दिएको र त्यसअनुरुप जिब्रो छेड्ने जात्राको अघिल्लो दिन भीमदत्त आफै गुरु भई पश्चाताप गरेर बाजा बजाई तान्त्रिक विधिविधानपूर्वक क्षमा पूजा गरेर मात्र ख्याकलाई जिब्रो छेडाएको किंवदन्ती छ । पश्चाताप गरी बाजा बजाउने कामलाई स्थानीय भाषामा पस्ता थायेगु भनिन्छ । पस्ता भनेको प्रायश्चित हो भने थायेगु भनेको बजाउने हो । पस्ता गुठीले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा भिंदुवा थरका बाजा गुरुको अगुवाइमा तीनमुखे बाजा बजाउने र चांसी, धों र बखुं थरका मानिसहरूले प्वङा बजाउने गर्छन् । नीलबाराहीसँग सम्बन्धित भएकोले उक्त पस्ता थायेगु कार्यक्रममा नीलबाराही आफैले सिकाएर गएको नीलबाराही गणनाचकोे १२ वर्षमा नाचिने विशेष नाचको बाजा र प्वङाको बोल बजाउने गर्दछ । कसैकसैले यो बोल १२ वर्षमा गरिने विशेष नाच खः त्यलिगुजात्रामा मात्र बजाउने भएकोले बिर्सने डरले अभ्यासको रूपमा बजाउने गरेको किंवदन्ती छ ।
ख्याकको बाचाअनुरुप सात वर्षसम्म ख्याकलाई जिब्रो छेडाएको र ख्याक नआएपछि भीमदत्तले जिब्रो छेड्ने जात्रा गर्यो भने भूतप्रेत भाग्ने र देशमा अनिकाल नपर्ने, महामारी र रोगव्याधी नहुने, कुनै पनि प्रकारको अनिष्ट नहुने भनेर स्थानीय जनतालाई जिब्रो छेड्न लगाएको किंवदन्ती छ । जिब्रो छेड्ने व्यक्तिले बलेको महादीप बोकेर बोडेको गल्लीगल्लीमा घुम्ने गर्छ । आगोदेखि भूतप्रेत भाग्छ भन्ने धारणाअनुसार महादीपको आगो देखेर भूतप्रेत भागोस् र आगोको शक्तिले जनतामा पनि शक्ति आवस् भन्ने हेतुले महादीप बोक्न लगाई देश घुम्न लगाएको अर्थ बुझिन्छ ।
भीमदत्तले चलनचल्तीमा ल्याएदेखि अहिलेसम्म चल्दै आएको उक्त जिब्रो छेड्ने जात्रा देशमा कुनै किसिमको डर त्रासले बाच्न नपरोस्, देशमा सुख शान्त होस् र कसैलाई रोगव्याधि नलागोस्, महामारी र अनिकाल अनिष्ट नहोस् भनेर समर्पण र त्याग देखाई चलाउदै आएको जात्रा हो ।
जिब्रो छेड्ने जात्रा ऐतिहासिककालमा भीमदत्तले चलनचल्तीमा ल्याएदेखि अहिलेसम्म चल्दै आएको छ । जात्रा हुन चार दिन अगाडि जसले जिब्रो छेड्ने हो उसले सांस्कृतिक प्रमुख (जसलाई नाय पःमा भन्ने गरिन्छ) लाई चार दाम चढाउनुपर्छ । चार दाम चढाउनुको अर्थ जिब्रो छेड्न तयार भएको सङ्कल्प अथवा प्रतिज्ञा गर्नु हो ।
बिस्केट जात्राको पहिलो दिनमा लिङ्गो उभ्याउने चलन छ । लिङ्गो उभ्याइसकेपछि बिस्केट जात्रा सुरु भएको मानिन्छ । त्यस दिनलाई गुसि छ्वेकेगु दिं पनि भनिन्छ । यसको अर्थ जङ्गलबाट ल्याएको दाउरा बाल्नु हो । त्यस दिन सांस्कृतिक प्रमुख अर्थात् नायः पःमा र कर्मी नाइके नीलबाराहीको जङ्गलमा गएर दाउरा लिएर आउँछ र बेलुका जिब्रो छेड्ने व्यक्तिको घर अगाडि धुनि बालेर विधिपूर्वक पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई प्रसाद र खरानीको टीको लगाई दिने गर्दछ । खरानीको टीको लगाएपछि कुनै किसिमको बाधा अवरोध हुँदैन भन्ने भनाइ छ । पूजा सकेर प्रसाद खाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुन्छ र निराहार बस्नुपर्छ । त्यस दिनदेखि उसले कुकुर छुन नहुने र पर सरेको आइमाई छुन नहुने भन्ने गरिन्छ ।
बिस्केट जात्राको मुख्य दिन अर्थात् वैशाख २ गते जिब्रो छेड्ने व्यक्तिले बोडेको मठ मन्दिरमा गई अर्ग बत्ती दिई शक्तिको कामना गर्दै पाचो गणेश मन्दिरको परिसरमा गई जिब्रो छेडाउनको लागि तयार हुन्छ । एक महिना अगाडिदेखि तताएको तेलमा डुबाएर राखेको १० इन्च लामो फलामको सुइरो लिएर नकर्मी आउँछ र कर्मी नाइकेलाई दिन्छ । कर्मी नाइके जिब्रो छेडाउन तयार हुन्छ । जिब्रो छेडाइसकेपछ् िजिब्रो छेड्ने व्यक्ति महादीप बोक्दै बोडेको गल्लीगल्लीमा घुमेर महालक्ष्मी मन्दिरमा जान्छ । गणेशको रथ ल्याएपछि जिब्रोबाट सुइरो निकाल्ने काम हुन्छ र जिब्रो छेड्ने जात्रा सकिन्छ ।
जिब्रो छेड्ने जात्रा ऐतिहासिक जात्रा हो । यो जात्राले बोडेको ऐतिहासिक परिचय पनि दिएको छ । यस्तो गौरवपूर्ण संस्कृतिलाई बचाइराख्नु हाम्रो कर्तव्य हो ।