भर्खरै :

आदित्यमा केको अद्भूत ?

भारतमा भाजपाको सरकार बनेयता भाजपा नेताहरूले अनेक प्रकारका अवैज्ञानिक प्रचारगरेका थिए । गाईले श्वास फेर्दा अक्सिजन फाल्ने, गणेशको प्लास्टिक सर्जरी गरेर हात्तीको टाउको जोडेको जस्ता वैज्ञानिकरूपमा असत्य कुरा प्रधानमन्त्री मोदीले मात्र होइन, आफूलाई विद्वान र बुद्धिजीवी भन्ने मानिसहरूले गर्र्दै हिंडेका थिए । त्यस्तै अवैज्ञानिक कुराको आधारमा भाजपा सरकारले विपक्ष र अल्पसङ्ख्यकविरुद्ध दमन गरेको थियो । गौरक्षाको नाममा मुसलमानहरूमाथिको दमन यसकै उदाहरण हो ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी ओलीले बालक आदित्यको ‘बिनाअध्ययनको ज्ञानले सबैलाई आश्चर्य बनाएको’ भन्दै “नेपाल देवभूमि, पुण्त्ूमि, तपोभूमि, ज्ञानभूमि भएकैले यस्तो चमत्कार सम्भव भएको” बताए । ओली नेकपाका अध्यक्ष हुन् । कम्युनिष्ट पार्टीको दार्शनिक आधार भनेको द्वन्द्वात्मक भौतिकवाद हो । यो दर्शनले अवैज्ञानिक र अलौकिक विचार र घटनालाई अस्वीकार गर्दछ । कोही पनि व्यक्ति अलौकिकरूपमा वा जन्मजात प्रतिभाशाली हुने कुरा द्वन्द्वात्मक भौतिकवादी दर्शनसम्मत कुरा होइन ।
प्रतिभा र ज्ञान पनि भौतिक परिस्थितिअनुसार क्रमिक विकास हुने द्वन्द्वात्मक भौतिकवादी निष्कर्ष हो । कुनै पनि कुरा अचानक वा एकैबाजी हुने गर्दैन । भित्री क्रमिक परिवर्तनले नै अन्ततः बाहिरी परिवर्तन हुने गर्दछ । द्वन्द्ववादको एउटा निष्कर्ष यही हो । बालक आदित्यमा अद्भूत अलौकिक ज्ञान हुनु अभौतिक विश्लेषण हो । केही विषयमा आदित्यले आफ्नो उमेरभन्दा अस्वाभाविक काम गर्न सामथ्र्य राखेको हुनसक्छ । तर, त्यसको अर्थ त्यसमा आश्चर्य र अलौकिकता देख्नु अतिरञ्जना हो । अझ नेपाल तपोभूमि, पुण्त्ूमि, देवभूमि भएकोले यस्तो चमत्कार भएको दाबी गर्नु नितान्त गलत बुझाइ हो । यदि तपोभूमि, ज्ञानभूमि भएकैले आदित्य जस्ता असामान्य बालकहरूको जन्म हुने भए नेपालमा किन त्यस्ता धेरै बालबालिकाको जन्म भएन ? गरिब, दलित र विपन्नको कोखमा आदित्यको जन्म किन भएन ?
कोही पनि बालकले कुनै पनि विषय बिनाआधार सिक्न सक्दैन । कुनै पनि वस्तु देखिसकेपछि वा घटना घटिसके पछि त्यसको अनुभव सार निकाल्नसक्छ मानिसले । तर, आगो कहिल्यै नदेखेको बालकले आगोले पोल्छ भन्ने निष्कर्ष निकाल्न त्यो विषयमा उसले पढे सुनेको हुनुप¥यो । नत्र उसले त्यस्तो निष्कर्ष निकाल्न असम्भव हुन्छ ।
आदित्यका केही गुणकै आधारमा अतिरञ्जनाको उचाइमा पु¥याउनु उचित होइन । राज्यले नै अवैज्ञानिक विचारको प्रचार गर्नु र त्यस्तो विचार र चिन्तनशैलीलाई प्रश्रय दिनु गलत हो । अवैज्ञानिक चिन्तनले समाजलाई अगाडि बढाउन मद्दत गर्दैन ।
नेपालका शासकहरू हतारमा प्रशंसा गरेर फुर्सदमा पछुताउने गर्छन् । आवेश र वरपरका मानिसको लहलहैमा लागेर हाड नभएको जिब्रो खुब बटार्छन् अनि पछि आफ्नै बोलीको खण्डन गर्दै हिंड्छन् । ठगीधन्धामा लागेकालाई काँधमा बोक्छन् अनि पछि आफू ठगिएको भन्दै दुःख मनाउ गर्छन् ।
आदित्यलाई किन यस्तो अलौकिक भनेर प्रचार गरिंदै छ ? यसमा कसको के के स्वार्थ छन् ? सरकारले आदित्यमार्फत आफ्नो सत्ताको पक्षमा के कति फाइदा उठाउन खोजिरहेको छ ? हचुवाको भरमा प्रमजस्ता मानिसले यसरी अवैज्ञानिक विचार बोल्दै हिंड्नुले नेपाललाई सही दिशा र समृद्धि तथा विकासको पथमा डो¥याउने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *