भर्खरै :

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिष्ट नेता – ६

सुशिला
दक्षिण अफ्रिका जटिल परिस्थितिबीच अघि बढिरहेको थियो । पार्टी–पार्टीको अलग–अलग सेनाको व्यवस्थापन, नयाँ संविधान निर्माण, अझै कारागारमा रहेका राजबन्दीहरूको रिहाइको विषयमा अनेक उल्झनबीच देश अघि बढिरहेको थियो । त्यही बेला रोबेन टापु कारागारमा रहेका राजबन्दीहरू २२ दिने अनशनमा बसे । उनीहरूले आफ्नो सङ्घर्षलाई ‘घर फर्क आन्दोलन’ नामाकरण गरेका थिए । फलतः २१ मार्च १९९१ मा राजबन्दीहरू रिहा गरिए र उनीहरूको स्वागत क्रिस हानीले गरे । त्यही वर्ष ३२ वर्षपछि दक्षिण अफ्रिकी माटोमा २–६ जुलाईसम्म काङ्ग्रेसको राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनबाट उपाध्यक्ष नेल्सन मण्डेला अध्यक्ष पदमा निर्वाचित भए । मण्डेलापछि हानी सबभन्दा लोकप्रिय नेता बने ।
दक्षिणपन्थीहरूले काङ्ग्रेस र रङ्गभेदविरोधी आन्दोलनमाथि गरेका हमला, नरसंहारको विरोधमा पटक–पटक काङ्ग्रेस वार्ताबाट बाहिरियो । सरकारी नीतिविरूद्धको जनसङ्घर्षको अग्रमोर्चाको नेतृत्व क्रिस हानी, रोनी कासरिल्स, स्टिभ स्वेटेलगायतका नेताहरूले गरे । ७ सेप्टेम्बर सन् १९९१ मा ८० हजार जनताले किङ विलियम टाउनको भिक्टोरिया रङ्गशालामा भेला भए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस, दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी र मजदुर सङ्गठन कोसाटुको संयुक्त अग्रसरतामा हप्तौंसम्म सिस्की क्षेत्रका गाउँ–गाउँमा प्रदर्शनहरू भए । त्यो अभियान हुन नदिन सिस्की क्षेत्रका नेता अउपा कोजोले बिशोको सर्वाेच्च अदालतमा रिट दायर गरे । त्यो मुद्दा वेलिट्शा मेजिस्टे«ट अदालतमा पुग्यो । मेजिस्टे«ट अदालतले प्रदर्शनको पक्षमा फैसला सुनायो । अदालतको फैसलाले त्यो आन्दोलनको आगोमा घ्यू थपे सरि भयो । प्रदर्शनहरूमा जनताको उपस्थिति दिन–दुगुणा रात–चौगुणाले बढ्यो । उनीहरूको अन्तिम ‘गन्तव्य बिशो रङ्गशालामा पुग्नु थियो । सिस्की प्रतिरक्षा सेनाका सिपाहीहरूले प्रदर्शनकारीमाथि चर्काे दमनको भाषा बोले । त्यहीबीच प्रदर्शनको नेतृत्व गरिरहेका क्रिस हानी मारिएको खबरले प्रदर्शनकारीहरूमा पीडा सञ्चार भयो । तर, हानी मारिएका थिएनन् । प्रतिरक्षा सेनाको मेसिन गन आक्रमणले २८ जना मानिस मारिए भने २ सत्न्दा बढी घाइते भए । बिशोको त्यो हत्याकाण्डले बायोपाटोङको काण्डपश्चात् अवरुद्ध वार्ता प्रक्रिया भने फेरि सुरु हुने परिस्थिति तयार भयो ।
दक्षिण अफ्रिकामा आफ्नो उपनिवेश शासनलाई बलियो बनाउन उद्यत दक्षिणपन्थी शक्तिका निम्ति जनताबीच लोकप्रिय कम्युनिष्ट नेता क्रिस हानी आँखाको कसिङ्गर बनेका थिए । उनको नेतृत्वमा उठेको जनसङ्घर्ष र उनको बढ्दो लोकप्रियतालाई दक्षिणपन्थी शक्तिले आफ्नो चिहान देखेका थिए । त्यसकारण दक्षिणपन्थी पार्टी सीपीका सांसद क्लिभ डेर्बी– लेविस लगायतले भित्रभित्रै हानीको हत्याको तानाबाना बुन्दै थिए । त्यो हत्याको लागि जानुज वालुस नामको युवालाई तयार गरिँदै थियो ।
सन् १९८९ मा दक्षिणपन्थी पार्टीले थोरै मतान्तरमा निर्वाचन हारेको थियो । क्रिस हानीको हत्याले दक्षिण अफ्रिकी जनता आक्रोशित हुने र परिणामतः देशमा अराजक गतिविधि बढ्ने÷बढाउने अनि त्यही अस्थिरताको फाइदा उठाएर फेरि शक्तिमा उदाउने उनीहरूको योजना थियो । आफ्नो हातमा शक्ति आएपछि दक्षिण अफ्रिकामा बढ्दो कम्युनिष्ट प्रभावलाई सैनिक दमनमार्फत् तह लगाउने सोचमा उनीहरू थिए । तर, हानीलाई आफ्नो वरपर बढिरहेको शत्रुका गतिविधिप्रति उति पर्वाह थिएन । वास्तवमा उनको स्वदेश फिर्ती गमनसँगै उनी सामु खतराको बादल निरन्तर मडारिरहेको थियो । हानीको हत्या हुन केही दिन पहिले अमेरिकी पत्रकार जेरेलाइन इडिङ्ससँगको कुराकानीमा उनले भनेका थिए– ‘उनीहरू मेरो हत्या गर्न चाहन्छन् तर त्यो हत्या हत्या नभई दुर्घटना जस्तो देखाउन चाहन्छन् ।… मेरो हत्या भए सारा देशमा आगो बल्ने उनीहरू हिसाबकिताब गर्दैछन् ।’
आफ्नो हत्या हुन केही दिनअघि मात्र हानी हप्तौं लामो दक्षिण अफ्रिकी गाउँ–गाउँमा शान्ति पदयात्रा सकाएर फर्केका थिए । त्यसअघि कम्युनिष्ट पार्टीको महासचिवको हैसियतमा उनले क्युवामा फिडेल क्यास्ट्रोलाई भेटेका थिए । त्यस्तै बेलायत पुगेर त्यहाँका कम्युनिष्टहरूसँग सम्बन्ध विस्तार गरेका थिए । ५१ वर्षको उमेरमा हानी विश्व समाजवादी आन्दोलनको प्रभावशाली पुस्ताको सशक्त प्रतिनिधि भइसकेका थिए ।
अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको व्यापकता र शक्ति आर्जनसँगै जनतासँगको प्रत्यक्ष संवादमा आएको कमीप्रति उनी चिन्तित थिए । त्यस्तै अफ्रिकी युवामा फैलिएको एचआईभी÷एड्सको महामारी अनि भ्रष्टाचारप्रति उनी चिन्तित थिए । त्यसविरुद्ध उनले युवाहरूको शिक्षा, उपचार र सहयोगमा विशेष जोड दिए । उनी जहाँ पुगे पनि समाजवादी व्यवस्थाको अब्बलता र अपरिहार्यतामा जोड दिने गर्थे । पार्टीहरूले दिने सस्ता नाराले मात्र समस्या समाधान नहुने बरु गरिबी न्यूनीकरणले मात्र पूर्ण राजनीतिक रुपान्तरण सम्भव हुन सक्ने उनको प्रस्ट विचार थियो ।
अप्रिल १०, सन् १९९४ । बिदाको दिन भएकोले बजारमा त्यति चहलपहल थिएन । बिहानको चिसो हावा बहिरहेको थियो । सदाको बिहानझैं क्रिस हानी आफ्नो घरभन्दा केही पर अखबार किन्न निस्के । धेरै दिनको पिछापछि जानुज वालुस त्यो दिन हानीमाथि गोली हान्ने उपयुक्त मौकाको खोजीमा उनको पछि लागे । हानी हिँड्दै गर्दा वालुसले पछाडिबाट उनलाई छोए र पछाडि फर्कनेबित्तिकै पिस्तोल निकालेर हानीमाथि गोली हानी हत्या गरे । पोल्याण्डमा जन्मेर दक्षिण अफ्रिकामा बस्दै आएका ३८ वर्षीय वालुसले लामो तयारीपछि आफ्नो हत्या योजना सफल पारे । दक्षिण अफ्रिकी जनताका लोकप्रिय नेता, कम्युनिष्ट पार्टीका महासचिव क्रिस हानीको निर्मम हत्या भयो ।
प्रतिक्रियावादी शक्तिहरूले नेल्सन मण्डेलाकी श्रीमती बिन्नी मण्डेला र हानीको निकट सम्बन्धबारे अनेकन झूटा अफवाह फैलाए । तर, नेल्सन मण्डेला र हानीबीचको आत्मीय कमरेड सम्बन्धमा कहिल्यै आँच आएन । हानीको हत्याप्रति आक्रोस पोख्दै मण्डेला नेतृत्वको अफ्रिकी राष्ट्रिय काङ्ग्रेसद्वारा जारी वक्तव्यमा भनियो– ‘मुक्ति सङ्घर्ष र जातिवादविरुद्ध प्रतिरोधप्रतिको अतुलनीय प्रतिबद्धताकै कारण रङ्गभेदी शासनका मतियारहरूले कमरेड क्रिस हानीको हत्या गरेका हुन् । … दक्षिण अफ्रिकामा प्रजातन्त्र र स्वतन्त्रता स्थापनाको सङ्घर्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने व्यक्तित्व क्रिस हानीप्रति श्रद्धा व्यक्त गर्दै राष्ट्रिय काङ्ग्रेस आफ्नो झण्डा झुकाउँछ ।’ अफ्रिकी काङ्ग्रेसले यो हत्यालाई ‘अक्षम्य अपराध’ को सङ्ज्ञा दिएको थियो ।
त्यस्तै सन् १९९८ जुलाई १ को दिन क्रिस हानी सम्मानबाट सम्मानित हुँदा नेल्सन मण्डेलाले भने– ‘हाम्रो आन्दोलनका हरेक कार्यकर्ताबाट अपेक्षा गरिएको अनुशासन र दूरदर्शिताका साथ आफ्नो कर्तव्य पालना गर्ने सद्गुण हानीमा थियो । … हाम्रो मुक्ति सङ्घर्षको क्रममा कम्युनिष्ट पार्टीबाट हामीले सधैं सिकेको पाठ हो–अन्तर्राष्ट्रिय ऐक्यबद्धताको महत्व । एक्लिएर कुनै पनि सङ्घर्ष सफलतामा पुग्न सक्दैन । नयाँ देश निर्माणको सन्दर्भमा पनि यो कुरा सत्य हो ।’
हानीको हत्याले दक्षिण अफ्रिकी जनता मात्र शोकाकुल र आक्रोशित भएनन् बरु संसारभरका कम्युनिष्ट, क्रान्तिकारी, प्रगतिशील, स्वतन्त्रताप्रेमी, जातिवाद र रङ्गभेदविरोधी जनता आक्रोशित भएर उठे । हानीको हत्यापछि दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी अभिभावक गुमाएसरि भयो । त्यस्तै दक्षिण अफ्रिकाले एकजना कर्मठ, अत्यन्त सक्रिय, जुझारु, दृढनिश्चयी, बलिदानी नेता गुमायो ।
हानीको हत्याले फासिवादीहरू संसारमा बढ्दो कम्युनिष्ट विचारको लोकप्रियता र व्यापकताले कति आत्तिएका रहेछन्, प्रस्ट भयो । उनीहरू संसारमा कम्युनिष्ट विचारको प्रसार अवरुद्ध गर्न जस्तै निर्लज्ज काम गर्न पनि पछि नह्टने कुरा यसले पनि पुष्टि ग¥यो । कम्युनिष्ट विचारका प्रवक्ताहरूको लोकप्रियतालाई अन्यायपूर्ण पुँजीवादी व्यवस्थाका हिमायतीहरू आफ्नो काल नजिकिएको देख्छन् तर उनीहरूका जस्तै षडयन्त्र, प्रपञ्च हत्या र नरसंहारले पनि सही विचारलाई रोक्न नसक्ने यथार्थ आज दक्षिण अफ्रिकालगायत सिङ्गो अफ्रिका महादेशमा फैलिएको साम्राज्यवादविरोधी सङ्घर्षले प्रमाणित गर्छ । ल्याटिन अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्षसँगको एकताले अफ्रिकामा यो विचार अझ व्यापक बनिरहेको छ । निःसन्देह क्रिस हानीजस्ता नेताहरूले मिहिनेतपूर्वक राखेको जगमै आजको सङघर्ष आधारित छ । तसर्थ संसारले क्रिस हानीका योगदानहरूको सधैं सम्झना गरिरहनेछ ।
सन्दर्भ सामग्री
१) HANI A Life Too Short-Janet Smith & Beauregand Tromp
२) भक्तपुर मासिक (१९९४)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *