भर्खरै :

१४ थान वनस्पतिको अणुवंशाणु परीक्षण

ललितपुर, ५ वैशाख । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका १२ देखि १४ थान वनस्पतिको अणुवंशाणु (डीएनए) परीक्षण गरेको छ । उक्त परीक्षणबाट उत्पादित वनस्पति स्वदेश वा विदेश कहाँको हो भनेर सजिलै जानकारी हासिल गर्न सकिन्छ ।
नास्टले वनस्पतिकोे अणुवंशाणु परीक्षण गरी जैविक जानकारीलाई सिलसिलेवाररूपमा क्रमगत तरिकाले तथ्याङ्क मिलाएर राख्ने कामको सुरुआत गरिसकेको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । यस परीक्षणबाट कुन प्रकारको विरुवा हो, कहाँ उत्पादन भयो र गर्न सकिन्छ, नेपालमा उत्पादन हुने प्रजाति के–के हुन् भन्ने जानकारी हासिल गर्न सहयोग मिल्ने ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार लोपोन्मुख प्रजातिका वनस्पति र जन्तुका हकमा यसले विशेष भूमिका निर्वाह गर्छ ।
नास्टले वनस्पतिको अणुवंशाणु परीक्षण गरी अन्तर्राष्ट्रिय तथ्याङ्कमा राख्ने काम गरिसकेको छ । उक्त परीक्षण गर्दा चोरी भएर गएका वनस्पतिबारे जानकारी हासिल गर्न सहयोग मिल्ने बताइएको छ । “नास्ट र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सहकार्यमा वन्यजन्तुको हितलाई ध्यानमा राखी अणुवंशाणु परीक्षण गर्ने योजना अघि बढाएका छौँ । आगामी दिनमा प्रविधि, रसायन र दक्ष जनशक्ति साथमा लिएर बाघको अणुवंशाणु परीक्षण गर्ने योजना अघि बढाएका छौँ ।” ढुङ्गेलले भन्नुभयो ।
यसअघि नास्ट राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले मानिस र जनावरको डीएनए परीक्षण गर्दै आएको थियो । प्रतिष्ठानले बोटबिरुवाका फूल, पात, बोक्रालगायत भागबाट डीएनए परीक्षण थालेको थियो । लोपोन्मुख जातिको बोटबिरुवालाई भविष्यसम्म सुरक्षित गर्नको लागि यसले सहयोग गर्ने नास्टले बताउँदै आएको छ । अव्यवस्थित सङ्कलन र चोरी भइरहेका बोटबिरुवालाई पहिचान गर्न सक्दामात्रै त्यो रोक्न सकिन्छ । परीक्षण गर्नुपर्ने वनस्पति प्रयोगशालामा पहिले परीक्षण गरिन्छ । त्यसमा भेटिएको गुण इन्टरनेटमा भएका वनस्पतिसँग जुधाएर हेरिने बताइएको छ ।
यही फरक गुणको पहिचान गर्न र पत्ता लगाउनको लागि परीक्षणले सहयोग गर्छ । यसले यस विषयमा अध्ययनरत विद्यार्थी र विज्ञलाई सहयोग पुगेको छ । ढुङ्गेलले थप्नुभयो, “यस परीक्षणले विभिन्न किसिमका वनस्पतिको विषयमा अध्ययनरत विद्यार्थीले त्यस वनस्पतिको फरक गुण र अरुसँग मिल्ने गुणका बारेमा अध्ययन गर्न पाएका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *