भर्खरै :

मानिस किन राजनीतिक प्राणी हो र हुनुपर्छ ?

सुरेश
प्यारो भाइ ज्ञानु,
नयाँ वर्ष २०७६ को शुभकामना ! आज म तिमीलाई जीवनको कठोर पक्षबारे लेख्दैछु । मलाई विश्वास छ तिमीले यस विषयमा सोच्नेछौ, गाउँले साथीसङ्गीलाई बताउनेछौ र आपसमा गम्भीर छलफल गर्नेछौ ।
मानिस राजनीतिक जीव हो । दार्शनिक अरस्तुले यस्तो भनेको दुई शताब्दी बितिसक्यो । तर, आज पनि साधारण मानिस वा विद्यार्थीहरू आफूलाई राजनीतिक हुँ भन्न हिच्किचाउँछन् । यसको उल्टो अधिकांश मानिस आफूलाई राजनीतिबाट ‘स्वतन्त्र हुँ’ भन्न रुचाउँछन् । खासमा यो हाम्रो युगको ठूलो अज्ञानता र पाखण्ड दुवै हो ।
मानिस एक्लै बस्न सक्दैन । आजको युगमा त झनै सक्दैन । मानौँ कुनै मानिसले आफूलाई “म अब समाजबाट अलग्गै, एक्लै बस्छु” भन्छ भने पनि एक्लो बस्न सक्दैन किनभने उसले खाने खाना किसानले उब्जाउँछन् । उसले लगाउने लुगा मजदुरले बुनेर सिउँछन् । उसले कपालमा दल्ने तेलदेखि खुट्टामा भिर्ने जुत्ताचप्पलसम्म कामदारले तयार गर्छन् । ऊ बस्ने घर, हिँड्ने बाटो सबै मजदुरले बनाउँछन् । उसले बिहान उठेर दाँत माझ्न प्रयोग गर्ने ब्रुसदेखि लिएर राति सुत्दा ओढ्ने सिरकसम्म सबैथोक अनेकथरी श्रम गर्ने मानिसले उत्पादन गर्छन् । पठनपाठनको लागि चाहिने कापी, कलम, किताब, झोला आदि धेरैथोक समाजकै विभिन्न पेशामा संलग्न मानिसले तयार गर्छन् । उसले बिरामी हुँदा उपयोग गर्नुपर्ने औषधि तालिम प्राप्त श्रमिकले कारखानामा बनाउँछन् । उसले लिने शिक्षासमेत हजारौँ वर्षसम्म धेरै मानिसले मिहिनेत गरेर जम्मा गरेको ज्ञान हो । औषधि उपचारसम्बन्धी ज्ञानसमेत मानिसले परापूर्वकालदेखि सङ्ग्रह गर्दै आएको हो । सारमा, मानिस आफू बाँचिरहेको समाजमात्र नभएर पुराना समाजहरूको, बितेका मानिसहरूको पनि ऋणी हुन्छ । त्यसैले मानिस समाजभन्दा पर हुनैसक्दैन । असामाजिक भनिने अपराधीहरूसमेत गाँस, बास, कपासका निम्ति समाजमै भरपर्नुपर्छ । यसकारण मानिसलाई सामाजिक प्राणी भनिएको हो ।
समाज यसरी नै चल्छ । एकजना व्यक्तिले आफूले प्रयोग गर्ने सबै साधन आफैं उत्पादन वा निर्माण गर्नसक्दैन । उसले एक–दुईथरी काम गर्न जानेको हुनसक्छ । तर सबै काम गर्नै सक्दैन । तराईमा बिहानदेखि साँझसम्म घाममा सेकिँदै खेतीपाती गर्ने किसानले आफ्नो अरब गएको छोरासँग साँझपख मोबाइलमा कुरा गर्छन् । त्यो मोबाइल उनका लागि कुनै मोबाइल कम्पनीका मजदुरले निर्माण गरेका हुन्छन् । मोबाइल कम्पनीमा काम गर्ने मजदुरले खाने अन्नपात, फलफूल आदि अन्य किसानले उत्पादन गर्छन् । यसरी व्यक्तिले आफूले केही चीजबीज उत्पादन गरे पनि अरू सबै चीज उसका लागि समाजका अन्य पेशामा आबद्ध मानिसहरूले उत्पादन गरिदिन्छन् । समस्या यहाँनिर आइपुग्छ । मानौँ कुनै वैज्ञानिकले निकै इमानदारीतापूर्वक काम गर्छन् । तर, उनले प्रयोग गर्ने अन्नपात, पानी वा औषधि कमसल छ भने यसले उसलाई हानी गर्छ । त्यसैले आफूले प्रयोग गर्ने सामग्री इमानदारीपूर्वक तयार गरिएको छ कि छैन भनी हरेक व्यक्ति सचेत हुन आवश्यक छ । दृश्यको अर्को पाटो हेर्ने हो भने समाजका अन्य श्रम गर्नेहरूले कसरी काम गरिरहेका छन्, उनीहरूको जीवन कसरी चलिरहेको छ भनी व्यक्तिले चासो राख्नुपर्छ ।
भाइ, आज हामी पुँजीवादी समाजमा छौँ । पुँजीवादले मानिसलाई उपभोक्तावादी बनाउँछ अर्थात् सकेसम्म धेरै समान उपभोग गर्ने भोकलाई अनावश्यक रूपमा चर्काएर धेरैभन्दा धेरै नाफा कुम्लाउने पुँजीवादी दाउपेच हुन्छ । पुँजीपतिहरू आफैं पनि कसले धेरै नाफा बटुल्ने भन्ने होडमा छन् । यस्तो दौडमा पैसाको लत परेका सामान्य मानिसहरू पनि सामेल हुन खोज्छन् । उनीहरू धेरैभन्दा धेरै पैसा कमाउन चाहन्छन् । तल्लो वर्गका मानिसको यस्तो चाहना अधुरै रहन्छ । पुँजीवादी समाजमा कम लागतमा बढी नाफा सोहोर्ने नयाँ–नयाँ चलाखी बजारमा बढ्दै जान्छन् । यसकारण मानिसले उपभोग गर्ने सामानको गुणस्तर खस्कँदै गएको छ । गुणस्तर खस्काएनन् भने मानिसले महँगा आवश्यक सामान किन्न नसकी हाहाकार वा भोकमरी उत्पन्न हुनसक्छ ।
उदाहरणका लागि, यहाँ काठमाडौँका बासिन्दाले खाने अन्न, तरकारी, फलफूल, पानी, तेल, दूधजस्ता अति आवश्यक सामान निकै दुषित भएको समाचार आइरहन्छ । देशका अन्य भागमा समेत भारतबाट आउने खाद्यान्नको त्यहीँ हाल छ । भारतबाट आयात हुने तरकारीमा चाहिनेभन्दा बढी विषादी औषधि प्रयोग भएको कुरा खुलिसकेको छ । त्यस्तै नाफाको दौडमा काठमाडौँका पानी कम्पनीहरूले फोहर पानी बेचेको, दूधमा केमिकलका डल्ला भेटिएको, नक्कली तेल र जुस आदिका समाचार पुराना भएका छैनन् । त्यतिमात्र नभएर हामीले सास फेर्ने गरेको हावासमेत जथाभावी इँटाभट्टा र कलकारखानाले फोहोर बनाएका छन् । यसले गर्दा आजभोलि सहरहरूमा श्वासप्रश्वास र आँखाका रोगीहरू बढिरहेका छन् । आज क्यान्सर लाग्नु नौलो कुरा रहेन ।
खानपानमात्र होइन । समस्या घर, बाटोघाटो, पुलपुलेसा आदिको निर्माणमा पनि देखिन्छ । घर बनाउँदा ठेकेदारले कमसल सामान प्रयोग गरेको हुँदा भूकम्पको बेला नयाँ–नयाँ घरहरू पनि भत्के । बाटोघाटो र पुलपुलेसाहरू बनाएको केही महिनामा उध्रने र भत्कने गरेको देखिएकै हो । देशमा मानिसहरू अझै पनि बेघरबार वा सुकुमवासी भई बस्न बाध्य छन् । शिक्षामा नाफा कुम्लाउने होड यति चर्को छ कि विद्यार्थीबाट महँगो शुल्क असुलेर कमसल शिक्षा दिने शैक्षिक माफियाहरूको विषयमा पनि समाचारहरू आइरहन्छन् । स्वास्थ्यको क्षेत्रका माफियाहरूसमेत त्यसरी नै सल्बलाइरहेका छन् । बिरामीलाई चाहिने नचाहिने सबै जाँच गर्न लगाउने, सानो समस्यामा पनि महँगो शल्यक्रिया गर्न सुझाउने अस्पतालहरू छ्याप्छ्याप्ती पाइन्छन् । यसरी मानिसले आफ्ना विविध आवश्यकता पूरा गर्न समाजका अन्य पेशाका व्यक्तिलाई सुम्पेको काम राम्ररी नभएको वा नगरिएको घटना दिन प्रतिदिन बढ्दै गएको छ ।
केही समय पहिले भारतको आँप विषालु भएकै कारण युरोपेली देशले आयात गर्न रोक्का गरेको खबर आयो । हरेक वर्ष भारतीय चिल्ला र रसिला आँप खाने केही नेपालीहरूले अब युरोपमा जस्तै नेपालमा पनि भारतबाट आयात हुने विषालु अन्न, तरकारी, फलफूल आदिमा रोक लगाउनुपर्छ भने । उनीहरूले आफूलाई जतिसुकै “स्वतन्त्र हुँ” भने पनि यत्ति राय राखेर उनीहरूले राजनीति गरिहाले । देशमा निजी कम्पनीहरूले पानी वितरणमा भाँडभैलो मच्चाएकाले अबदेखि पानीको प्रशोधन र वितरण सरकारले मात्र गर्नुपर्छ भनी कोही इमानदार वकिलले भन्छ भने त्यो पनि राजनीति हो । फिल्मी नायक राजेश हमालले फोहर मिसाइने रियल जुसको प्रचार गर्नु हुन्नथ्यो भनी कसैले चिया पसलमा भन्छ भने त्यो पनि राजनीति हो । कसैले काठमाडौँमा धेरै कलकारखाना भएकोले प्रदूषण धेरै भयो, बाँच्नै गा¥हो भयो, अब कारखानाहरू बाहिर खोल्नुपर्छ अथवा राजधानी सार्नुपर्छ भन्यो भने त्यो राजनीति हो । जथाभावी स्कूल र अस्पताल खोल्न दिनाले शिक्षा र स्वास्थ्य क्षेत्रका माफियाहरूले विद्यार्थी र बिरामीहरूको जीवनसँग खेलाँची गरिरहेका छन् भनी कुनै आमाले भन्छिन् भने त्यो पनि राजनीति हो । विदेशबाट आएको छोराको लास लिएर घर फर्किरहेका कमैयाले अब सरकारले हामीलाई जमिन दिनुपर्छ, मेरी छोरीलाई यहीँ देशमा रोजगारी दिनुपर्छ भन्छन् भने त्यो पनि राजनीति हो । यसरी शोषणमा आधारित समाजमा केही मानिसले आफ्नो जिम्माको काम बेइमानीपूर्वक गर्दा अधिकांश मानिसहरूले आफू सामाजिकमात्र नभई राजनीतिक प्राणी पनि भएको महसुस गर्न पुग्छन् । वास्तवमा भन्ने हो भने आमाको कोखमा छँदादेखि मानिसमाथि राजनीति सुरु हुन्छ र मरेर घाटमा लग्दासम्म राजनीतिले उसलाई छोड्दैन ।
नाफाको असीम होडमा साँच्चिकै लागिपर्ने बेइमानहरू समाजमा थोरै हुन्छन् । तर उनीहरूको काम निकै महत्वपूर्ण वा ठूलो भएकोले धेरैको जीवनलाई खतरामा पारेर नाफा कमाउन सक्छन् । पुँजीवादी व्यवस्थामा राजनीतिको लगाम थामेर समाजलाई अनुशासनबद्ध बनाउनुपर्ने ठाउँमा रहने कर्मचारी र शासकहरू पनि नाफाको यो लुछाचुँडीमा सहभागी हुन्छन् । यसकारण पुँजीवादमा कहिल्यै भ्रष्टाचारको अन्त्य हुनसक्दैन । तिमीले हालै भारतको राफेल काण्ड र नेपालकै पूर्वमन्त्री विष्णु पौडेलको घडेरी काण्ड, वाइडबडी काण्डबारे सुनेकै हौला । भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताले समाजलाई अनुशासनबद्ध बनाउन सक्दैनन् । चोरले अरूलाई नचोर भन्ने सल्लाह दिनै सक्दैन । दियो नै भने पनि कसैले उसको कुरा मान्दैनन् । यसरी समाजमा अव्यवस्था र भाँडभैलो बढ्दै जाँदा जनताको जीवन भने झन्झन् कष्टकर बन्छ । पुँजीवादी राजनीतिले समाजको विरोधाभाष हल गर्नसक्दैन ।
मानिस संसारकै सबैभन्दा संवेदनशील प्राणी हो । समाजमा धेरै मानिसहरू इमानदार वा अनुशासित नै हुन्छन् र हुनुपर्छ । यस्तो नभए पूरै समाजलाई पुग्दो मात्रामा आवश्यक सामानहरू उत्पादन गर्नै सकिन्न । तर समाजका केही बेइमानहरूको उदासिनताले गर्दा उनीहरू जीवन र मृत्युको दोसाँधमा अल्झिरहेका हुन्छन् । उनीहरू निरन्तर आफ्नो जीवन दाउमा राखेर काम गर्न बाध्य हुन्छन् । त्यसैले समाजमा सधै बेइमानहरूप्रतिको असन्तुष्टि व्याप्त हुन्छ । यो असन्तुष्टिलाई विभिन्न तरिकाले पोख्नु नै इमानदारहरूको राजनीति हो । यस्तो राजनीति मानवीय हुन्छ, बहुजनको हितमा हुन्छ । मानिसहरूले जानेर वा नजानेर आफ्नो राजनीति गरिरहेकै हुन्छन् । तर श्रमप्रति इमानदार देशका सारा जनताले माथि चर्चा गरिएका विरोधाभाषहरू सुल्झाउन नयाँ खालको राजनीति गर्न जरुरी हुन्छ । केही मानिसले अलिअलि मिहिनेत र अलिअलि छलछाम गरेर आफ्नो आर्थिकस्तर उकास्न सक्छन् । तैपनि समाजका समस्या ज्यूँका त्यूँ रहन्छन् । किनभने यी एकदुईजनाको समस्या नभई पूरै समाजका समस्या हुन् । राजनीतिबाहेक अन्य तरिकाबाट आजसम्म यी समस्या समाधान भएका छैनन् र पछि पनि हुनेछैनन् । त्यसैले सामाजिक समस्याहरूबारे सचेत हुन, सङ्गठित बन्न र सङ्घर्ष गर्न जरुरी छ । समस्याहरूले चेपिँदै जाँदा यो नयाँ राजनीति झन्झन् अघि बढ्ने निश्चित छ । यो नयाँ राजनीति समाजवादी व्यवस्थाको निम्ति हुनेछ ।
ज्ञानु, समाजलाई हेरेर घोत्लियौ भने अझ धेरै उदाहरणहरू तिमी आफै पत्ता लगाउनेछौ । यो वर्ष तिमीले यतातिर ध्यान दिनेछौ भन्ने आशासहित आजलाई यति नै ।
उही तिम्रो दाजु,
विक्रम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *