भर्खरै :

शिक्षितले मार्न नसकेको छाउपडी

तुल्सी, दैलेख
प्रिय साथी,
मीठो सम्झना !
चारैतिर उराठलाग्दो वातावरण छ । नाङ्गिएका बिरुवामा नयाँ कोपिला लाग्दैछन् । यी कोपिलाले बल दिएजस्तो अनुभूति भइरहेको छ । त्यसैले सायद म हजुरलाई यो पत्र लेख्न बसेकी छु । मैले फेसबुक वालमा पोष्ट गरेको स्टाटसको बारेमा तपाईँले अस्ति निकै सोधखोज गर्नुभयो । मैले हजुरसँग कुनै दिन भन्छु भनेकी थिएँ । तर यति छिटो भन्छु भन्ने लागेको थिएन ।
२०७५ चैत ३ गतेको दिन । सबेरै घरबाट निस्केर म आफूले अनुगमन गर्नुपर्र्नेे विद्यालय गएकी थिएँ । विद्यालयमा वार्षिक परीक्षा सुरु भइरहेको थियोे । मैले परीक्षा अनुगमन गरेँ । परीक्षा सकिएपछि हामी सबै शिक्षकशिक्षिका विद्यालयबाट बाहिरियौँ । हामी कँडेल सरको घर, उहाँको होटलमा पुग्यौँ । त्यस विद्यालयमा कार्यरत कँडेल सरले भर्खरै निम्न माध्यमिक तहमा आन्तरिकबाट स्थायी शिक्षकमा नाम निकालेकोले खुसियालीमा भोज दिनुभएको रहेछ । संयोगले भोजमा सहभागी हुने अवसर मिल्यो । ८–९ जना शिक्षकहरू भित्र बसेर खाजा खाँदै हुनुहुन्थ्यो । म्याडम, म र सोही होटलकी साहुनी होटलबाहिरै बसेर खाजा खायौँ । मैले म्याडमसँग “मेडिकल कहाँ छ होला” भनी सोधेँ । “किन ? केही समस्या छ र ?” भनी उहाँले सोध्नुभयो । मैले महिनावारी भएको कुरा बताएँ । मलाई सेफ्टी प्याडको आवश्यकता थियोे । “स्वास्थ्य चौकी बन्द भइसकेको छ । पहिले नै भन्नुभएको भए विद्यालयबाट ल्याइदिने थिएँ,” म्याडमले भन्नुभयो ।
मलाई सेफ्टी प्याड नभई नहुने भइसकेको थियोे । घरबाट निस्केपछि बाटोमा मलाई महिनावारी सुरु भएको थियोे । स्कूल धेरै टाढा थिएन । म्याडमले तुरुन्तै गएर प्याड ल्याइदिनुभयो । यी सबै कुरा होटलकी दिदीले नियालिरहनुभएको थियो । शिक्षकहरू भित्र नास्तासँगै रक्सीमा झुम्दै थिए । केन्द्राध्यक्ष सर कोठामा गएर बस्नुभएको थियो । म भने एक्लै त्यो कठ्याङ्ग्रिने जाडोमा टुलुटुलु हेर्दै बसिरहेकी थिएँ । बिहान झण्डै साढे पाँच घण्टाको हिँडाइपछि मात्रै म विद्यालय पुगेकी थिएँ । त्यसमा पिरियड सुरु भयो । शरीर फतक्क गलेको थियोे । साँझ साढे सात बजिसक्दा पनि साहुनी दिदीले “भित्र बस्नु मिस” भन्नुभएन । मेरो लागि एकदमै नयाँ ठाउँ थियोे त्यो । समस्या नबताउन पनि सक्थेँ । एकैछिन पहिले चिनजान गरेकी साहुनी दिदी स्वयंसेविका हुनुहुन्थ्यो । उसमाथि एन.जी.ओ.मा लागेकी समाजसेवी पनि । त्यसैले उहाँको अगाडि पिरियडमा छु भन्न खासै अप्ठ्यारो लागेन ।
प्रिय साथी, त्यहीँ सजिलोपन एकैछिनमा बास नै नपाउने गरी असजिलो अवस्थामा फेरियो । समाजमा कुरीति र कुसंस्कारको विरोध गर्दै र अरूलाई सचेत गराउँदै हिँड्ने दिदीको व्यवहार यतिविघ्न अन्धविश्वासले ग्रस्त होला भन्ने मलाई थाहा थिएन । मैले कल्पनामा पनि यस्तो सोच्न सक्दिनथेँ ।
दिउँसोको थकान र चिसोले गर्दा हुनुपर्छ मेरो टाउको बेस्सरी दुखिरहेको थियोे । एकैछिन त लाग्यो, म छोरी मान्छे नभइदिएको भए आज यस्तो समस्या भोग्नुपर्दैनथ्यो । छोरी भएकै कारणले यस्तो समस्या भोग्नुपरेको निचोड मनमनै निकालेँ । मौसम उदास थियो । दिनलाई अन्धकारले बिस्तारै निल्दै थियो । मेरो मनलाई निराशाले अठ्याउँदै लग्यो । साहुनी दिदीसँग मैले आग्रह गरेँ, “दिदी म बस्ने कोठा देखाइदिनू न !” दिदीको अनुहार मलिन भयो । “खै कहाँ बस्नुहुन्छ ? समस्या भयो त,” दिदी बोल्नुभयो । “हजुरको श्रीमान्ले यहीँ बस्नुहोला मिस भन्नुभएको थियो । त्यसैले म यहाँ आएकी थिएँ ।” मैले भनेँ । “हजुर मिन्स भएको थाहा नभएर भन्नुभएको होला । मिन्स भएको बेला यहाँ बस्न मिल्दैन मिस । बुबा आमालाई सुब्दैन । उहाँहरू छिट्टै बिरामी पर्नुहुन्छ ।” उहाँको कुरा सुनेपछि म त छाँगाबाट खसेझैँ भएँ । मेरो मनमा उहाँको लागि जुन सम्मान भाव थियो सबै एकैपटक भासिएर गयो । उहाँजस्तो शिक्षित र सचेत महिलाबाट समेत यस्तो व्यवहार देख्दा दुःस्वप्न जस्तो पनि लाग्यो । आफ्नै व्यवहार सुधार्न नसक्ने सामाजिक कार्यकर्ताले अरूलाई के सिकाउनुहुन्छ होला भन्ने पनि भयो ।
प्रिय साथी, दिदीले आफ्नो घरमा बस्न मिल्दैन भनेपछि मेरो अवस्था कस्तो भयो होला, तपाईं अनुभव गर्नसक्नुहुन्छ । कहाँ जाऊँ ? के गरुँ ? केही सोच्नै सकिनँ । रात निकै छिप्पिसकेको थियो । वरपर २÷३ वटा घरमात्र थिए । सबैजना सुतिसकेका थिए । होटलमा त पिरियडका कारण बास पाइँदैन भने घरमा झन् कसरी पाइएला ?
केही समय गमेर दिदीले भन्नुभयो, “मिस गोठमा बस्नुपर्ने भयो । म कपडा दिन्छु ।” म भने जवाफविहीन थिएँ । बिरानो ठाउँमा एक दिन बास पाउन समस्या भयो । उहाँले “गोठमा बस्नू” भन्नासाथै म एकदम कमजोर भएँ । तर पनि मुख खोलेँ, “दिदी गोठमा एक्लै बस्न त सक्दिनँ ।” फेरि उहाँ बोल्नुभयो, “कपडा त दिन्छु तर हजुर एकदिन मात्र बस्नुहुन्छ । फेरि यी छोइएका कपडा कसले धोइदिन्छ ?” एकछिन पहिले दिन्छु भनेका कपडा पनि अब नदिने मन बनाउनुभयो दिदीले । त्यसबेला मेरो मनमा जे बितिरहेको थियो त्यो म शब्दमा बयान गर्नै सक्दिनँ । छाउगोठमा कहिल्यै बसेकी थिइनँ । सोच्दै थिएँ, “आज एकदिन छाउगोठमा बस्नुपर्ने पीडाले मन यतिविधि पोलेको छ । वर्षौँदेखि छाउगोठमा बस्नेहरूलाई कस्तो हुँदो हो ?” फेरि सोचेँ, “दासताको बानी पर्छ भन्छन् । यिनीहरूलाई पनि बानी प¥यो होला । त्यसैले त छाउगोठ भत्काउनमा भन्दा टिकाइराख्न भूमिका खेलिरहेछन् ।”
साहुनी दिदी मलाई अन्तै पठाउन निकै प्रयास गर्दै थिइन् । अनेक उपाय रच्दै थिइन् । “अलिकति पनि लसपस गर्न मिल्दैन मिस हामीलाई । बरु तपाईँलाई अरूको घरमा पठाउँछु ।” यति भन्दै तल्लो घरकी सानी बहिनीलाई बोलाउनुभयो । साहुनीले आफ्नो घरमा ठाउँ नभएको बताउनुभयो । बहिनीले पनि आफ्नो घर साँघुरो भएको बताइन् । साहुनीले मिलाएर सुत्न भन्नुभयो र म बहिनीसँगै उनको घरमा गएँ । त्यहाँ पनि म मिन्स भएको कुरा थाहा भएको भए बास पाउन मुस्किल पथ्र्यो । धन्न ! त्यो दिदीले आफ्नो घरका देवीदेउतालाई रिसाउन हाल्नु परेन । तर उहाँले त्यो बहिनीलाई भने केही भन्नुभएन ।
साथी, मलाई त्यो रातभर निद्रा लागेन । आँखाबाट आँसु बगिरह्यो । आमाले सधैँ म घरबाट हिँड्ने बेला भनिरहने कुरा सम्झेँ । आमा भन्नुहुन्थ्यो, “छोरीमान्छेलाई समय सधैँ एकैनाश हुँदैन । विभिन्न समस्या आउँछन् । एक्लै हिँड्न सजिलो छैन ।” त्यो दिन साँच्चिकै एक्लै हिँड्नुको पीडा महसुस गरेँ । साथी, ग्रामीण क्षेत्रमा महिलाहरूले अनेकौँ पीडा भोग्नुपर्छ । महिनावारी पनि यस्तै समस्या हो । हुन त महिनावारी महिलाले गौरव गर्नुपर्ने, प्रकृतिले दिएको अनुपम उपहार हो । तर यसलाई कुरीति, कुसंस्कार एवं अन्धविश्वासका कारण स्वयं महिलाहरूले नै अभिशापको रूपमा लिन बाध्य छन् । छाउगोठमा बस्नुपर्दा बर्सेनि कैयौँ दिदीबहिनीहरू अकालमै ज्यान गुमाउन विवश छन् । देवीदेउता रिसाउने, पुरुषलाई छोएको खण्डमा उनीहरूको आयु घट्नेजस्ता अन्धविश्वासका कारण छाउपडी प्रथा हट्न सकेको छैन । महिनावारीमा हुने छुवाछूत अन्त्य गर्नुपर्छ र छाउपडी प्रथा जरैदेखि उखेल्नुपर्छ भन्दै सभा तथा भाषण गर्नेहरू नै घर गएपछि आफैं छाउगोठमा पुग्ने गरेको समाचारले पत्रपत्रिका रङ्गीन हुन छोडेका छैनन् । साथी, तपाईँ पनि काठमाडौँमा एनजीओको हाकिम हुनुहुन्छ । विभेदको अन्त्य गर्ने लक्ष्य लिने अनि सहर छोड्न नसक्नेहरूकै कारण गाउँमा विभेद, अन्धविश्वास, कुसंस्कारले झन्झन् जरा गाड्दै छ । हाकिम साब, तपाईँ र तपाईँको संस्थाले समाजमा प्रचार गर्ने कुरा व्यवहारमा अलिकतिमात्रै लागू गराउन सक्नुभएको भए यो दुरवस्था रहने थिएन कि ?
आज एनजीओ, आइएनजीओको काम हात्तीको देखाउने दाँतमात्रै बनेको छ । विकासका लागि छुट्याइएको बजेट हात पार्ने र कसरी हुन्छ खर्च गरेको देखाउनेबाहेक अरू उपलब्धि देखिँदैन । काठमाडौँमा बसेर गाउँका दुईचार जना टाठाबाठालाई बजेट खर्च गर्न खटाइएकोले नै ती साहुनी दिदीजस्ता कट्टर अन्धविश्वासीहरू मोटाउन पाइरहेका छन् । यस्ता अन्धविश्वासीहरूले के साँच्चिकै समाजमा परिवर्तन ल्याउन टेवा पु¥याउलान् ? आफ्नै कर्मचारीको व्यवहारमा समेत परिवर्तन ल्याउन नसक्ने तपाईँ र तपाईँको संस्थाबाट तब हामीले के आश गर्ने ?
साथी, मेरो कुराले तपाईँको मन नमीठो गरी चिमोट्यो होला । मेरो मनसाय कसैको चित दुखाउनु होइन । तर, साँचो कुरा यहीँ हो । सत्य अलि तीतो हुँदोरहेछ । ग्रामीण तथा विकट क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्ने र सहर फर्केर कानमा तेल हाली बस्नाले केही नहुने कुरा तपाईँले बुझिसक्नुभयो होला । यस्ता कार्यक्रम वर्षौँदेखि गरिँदै आएको हो । उपलब्धि खोइ त ?
साथी, देशमा साक्षरहरू बढिरहेका छन् । पूर्ण साक्षर गाविस घोषणा गर्ने होडबाजीका खबर पनि आजकल कम सुनिन्छ । कति ठाउँमा त “एक घर एक स्नातक कार्यक्रम” पनि सुरु भइसकेको छ । यसरी हेर्दा देश प्रगतिको बाटोतिर लम्किरहेजस्तो लाग्न सक्छ । तर, समाजमा बौद्धिकहरूको जमात बढ्दै गर्दा हत्या, हिंसा, बलात्कार, छुवाछूत, बोक्सी, छाउपडीजस्ता कुप्रथाहरू अझ उस्तै छन् । आखिर यस्तो कहिलेसम्म ? शिक्षितमात्र भएर नपुग्ने रहेछ । सबैलाई वैज्ञानिक व्यवहारको निम्ति प्रशिक्षित गर्न जरुरी छ । तपाईँ गाउँ फर्केर महिला हिंसा, छाउपडी प्रथा एवं अन्धविश्वासविरुद्ध कम्मरकसेर लाग्नुहुनेछ भन्ने भरोसाले यो पत्र लेखेकी छु ।
प्रिय साथी, तपाईँ पुुुरूष भए पनि पुरुषवादी हुनुहुन्न । तपाईँले महिलाहरूको समस्यालाई नजिकबाट केलाउनुभएको छ । मेरो भावनालाई बुझ्नुहुनेछ भन्ने विश्वासका साथ कलम यहीँ रोक्छु ।
उहीँ तपाईँलाई माया गर्ने,
तुल्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *