भर्खरै :

यस्तो होस् शैक्षिक क्यालेण्डर

नयाँ शैक्षिक सत्रको सुरूआत भएको छ । विक्रमको नयाँ संवत्को क्यालेण्डर आइसकेको छ भने कति विद्यालयको नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेण्डर वितरण हुन थालेको होला, कतिको क्यालेण्डर छापिने क्रममा होला । सामूहिक क्यालेण्डरदेखि विद्यालयका छुट्टाछुट्टै क्यालेण्डर पनि बल्ल बन्दै होला । शैक्षिक सत्रको सुरूआत नहुँदै वा सुरूवात हुनेबित्तिक्कै विद्यार्थीको हातहातमा यस्तो क्यालेण्डर पुग्नुपर्ने हो । त्यसो भएको भए विद्यार्थी तथा अभिभावक मानसिक रूपमा ढुक्क र तयार हुन्थे ।
शैक्षिक क्यालेण्डर विद्यालयको भावी योजना हुने गर्छ । खासगरी शैक्षिक गतिविधिको वर्षभरिको खाका क्यालेण्डरमा उल्लेख हुने गर्छ । शैक्षिक क्यालेण्डरमा परीक्षा, अतिरिक्त क्रियाकलाप, भ्रमण, शैक्षिक प्रदर्शनी, बिदा आदि विषय समेटिएको हुन्छ । यसमानेमा शैक्षिक क्यालेण्डरलाई विद्यालयको वर्षभरिको कार्ययोजनाभन्दा फरक पर्दैन ।
शैक्षिक क्यालेण्डर तयार पार्दा विद्यार्थी र शिक्षकको सहभागिता मुस्किलले भएको पाइन्छ । अझ अभिभावकको राय सुझाव त लिएकै पाइन्न । विद्यालय वा शैक्षिक सङ्गठनले शैक्षिक सत्रको अन्ततिर सबै सरोकारवाला पक्ष बसी अन्तरक्रिया गरी शैक्षिक क्यालेण्डर बनाउनु उपयुक्त हुँदा र यो प्रजातान्त्रिक अभ्यास पनि हो ।
विद्यार्थीको व्यक्तित्व विकासको निम्ति अतिरिक्त क्रियाकलाप सबभन्दा महत्वपूर्ण हुन्छ । शैक्षिक क्यालेण्डर बनाउँदा साहित्य गोष्ठी, हाजिरीजवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता, खेलकुद गतिविधि, गीत, नृत्य, सङ्गीतका गतिविधि, शैक्षिक भ्रमण आदि गतिविधि कहिले र कसरी गर्नेबारे उल्लेख हुनैपर्छ । त्यस्तै कोही चित्रकलामा राम्रा हुन्छन्, कोही वक्तृत्वकलामा, कोही हस्तकलामा, कोही सिलाइबुनाइ, कोही मुर्तिकलामा अब्बल हुन्छन् । शैक्षिक क्यालेण्डरमा शैक्षिक भ्रमण, हाइकिङ, ट्रेकिङ, फिल्ड वर्क आदि पनि समेट्नु उपयुक्त हुन्छ । विद्यार्थीलाई गरेर सिक्ने र सिकेर गर्ने खालका गतिविधि गर्नु सबभन्दा प्रभावकारी र रूचिकर हुन्छ । आफैले अनुभव गरी सिकेको ज्ञान जीवनभर स्मरण भइरहन्छ । कति विद्यार्थीलाई सामाजिक सेवाका गतिविधिमा समावेश गराउने कार्यक्रम पनि राख्नु आवश्यक छ । सबैको रूचि र क्षमता पहिचान गर्न पनि अतिरिक्त क्रियाकलाप आवश्यक हुन्छ । विद्यालयका विभिन्न शैक्षिक विषयहरूमा कमजोर देखिएका विद्यार्थीले कुनै न कुनै रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर बन्छ, अतिरिक्त क्रियाकलाप । जुन विद्यालयमा अतिरिक्त क्रियाकलाप व्यवस्थित र विद्यार्थीकेन्द्रित हुन्छ, त्यस विद्यालयका विद्यार्थी खुसी देखिन्छन् । विद्यार्थीलाई फरासिलो, सक्रिय र व्यावहारिक बनाउन पनि कक्षा कोठाको पढाइमामात्र सीमित राख्नु उपयुक्त हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *