भर्खरै :

विभिन्न कम्पनीका साधारण शेयर बिक्री हुँदै

काठमाडौँ, ७ वैशाख (रासस)ः पछिल्ला दिनमा साधारण शेयर बिक्री गर्नेक्रम एकपछि अर्को गर्दै बढिरहेको छ । शुक्रबारदेखि रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने करीब रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेका हुन् । यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । नेपाल एग्रोले चुक्तापूँजीको ३२.५ प्रतिशतले दरले हुन आउने बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । सो संस्थाले नेपाल धितोपत्र बोर्डबाट गत चैत १८ गते साधारण शेयर बिक्रीका लागि स्वीकृति पाएको हो । यस्तै गणपति माइक्रोफाइनान्सले सोमबार रु तीन करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ । गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गर्न लागेको हो । बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो । यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *