(संसारका कामगरी खाने जनताका गुरु तथा अक्टोबर समाजवादी क्रान्तिका नेता लेनिनको १४९ औँ जन्म दिवसको अवसरमा श्रमिक साप्ताहिक र मजदुर दैनिकको परिशिष्टाङ्कका लागि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँगको अन्तर्वार्ता – सं)

– संसारका कामदार जनताका शिक्षक लेनिनबाट सिक्नुपर्ने प्रमुख कुरा के हुन् ?
आफूभन्दा पहिलेका क्रान्तिकारीहरूका जीवनी, रचनाहरूको अध्ययन र अग्रजहरूको परिस्थिति एवम् आफ्नो परिवेशबारे तुलनात्मक अध्ययन अत्यन्त आवश्यक छ । कार्ल माक्र्स र एँगेल्सले आफूभन्दा पहिलेका विभिन्न प्रकारका समाजवादीहरूको जीवनी र रचनाहरू अध्ययन गर्नुभएको थियो । पहिलेका दार्शनिक, अर्थशास्त्री र राजनीतिज्ञहरूका जीवनी र रचनाहरूको अध्ययन गर्नुभएको थियो । साथै, समकालीन वैज्ञानिक र लेखकका रचनाहरूको अध्ययन गर्नुभएको थियो । मानव समाज र राज्य व्यवस्थामा प्रभाव पार्ने हरेक विषयको अध्ययनको कारण नै वैज्ञानिक समाजवादको बाटो पहिल्याउन उहाँहरू सफल हुनुभयो । समकालीन अनेक राजनैतिक घटनाहरूलाई उहाँहरूले इतिहाससँग तुलना गर्नुभयो र भविष्यको समाज निर्माणबारे वैज्ञानिक विश्लेषण गर्नुभयो ।
लेनिनको अध्ययनले त्यही बाटो लियो । उहाँले रुसको इतिहास, यूरोपको इतिहास र विश्वमा भइरहने अनेक तत्कालीन घटनासँगसँगै ती देशहरूको इतिहासलाई जोड्नुभयो । लेनिनले पुँजीवादको विकास, साम्राज्यवाद र उपनिवेशवादबारे गम्भीर अध्ययन गर्नुभयो । यूरोपका मजदुर आन्दोलन र कम्युनिस्ट आन्दोलनहरू, पेरिस कम्युनको असफलताका कारणहरूलाई केलाउनुभयो । साम्राज्यवादीहरूका बलिया र कमजोर पक्ष एवम् तिनीहरूको अन्तरविरोध तथा उपनिवेशवादबारे स्पष्ट जानकारी राख्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनमा देखिएको अवसरवाद, संशोधनवाद, सुधारवाद र वडाराष्ट्र अहङ्कारवाद एवम् सङ्कीर्ण तथा अन्धराष्ट्रवादको विरोधमा पनि सङ्घर्ष गर्नुभयो । रुसको मजदुर र कम्युनिस्ट आन्दोलनसँगसँगै उहाँले सम्पूर्ण यूरोपेली देशहरूको किसान, मजदुर र कम्युनिस्ट आन्दोलनलाई आत्मसात् गर्नुभयो तथा आफू र आफ्नो पार्टीलाई शिक्षित गर्नुभयो ।
लेनिनले रुसी क्रान्तिको निम्ति गुप्तरूपले सङ्गठन गर्दै हुनुहुन्थ्यो भने एसियादेखि अमेरिकासम्मको राजनैतिक र मजदुर आन्दोलनहरूमा उहाँको ध्यान थियो । एसियाका विभिन्न देशहरू र अमेरिकामा समेत साथीहरूलाई दूतको रूपमा पठाउनुभयो र एउटा नयाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको तयारीमा पनि लाग्नुभयो ।
कार्ल माक्र्स र एँगेल्सपछि लेनिनले नै विश्वव्यापी कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक र व्यावहारिक पक्षमा ध्यान दिनुभएको प्रस्ट छ । आफ्नो देश, छिमेकी देशहरू, यूरोप, एसियादेखि अमेरिकी महादेशहरूमा समेत उहाँको दृष्टि थियो । यस अर्थमा उहाँ एक सच्चा अन्तर्राष्ट्रवादी र युगद्रष्टा हुनुहुन्थ्यो । उहाँको गम्भीर अध्ययन, सङ्गठनको निरन्तरता र क्रान्तिको निम्ति पार्टीको शुद्धताको एकाग्रताबाट हामीले सिक्नुपर्ने देखिन्छ ।
– विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदानको कसरी सम्झना गर्न सकिन्छ ?
लेनिनले यूरोपेली मजदुर आन्दोलन र कम्युनिस्ट क्रान्तिबाट शिक्षा लिनुभयो र रुसी क्रान्तिको निम्ति तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गर्नुभई एउटै देशमा पनि समाजवादी क्रान्तिको सम्भावनाबारे नयाँ सिद्धान्त प्रदान गर्नुभयो र व्यवहारमा पनि लागू गरेर देखाउनुभयो ।
दोस्रो महत्वपूर्ण विषय हो – उहाँले एसियाका विभिन्न उपनिवेशहरूमा समेत कम्युनिस्ट पार्टीहरूको स्थापनामा उत्साह प्रदान गर्नुभयो र एक नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको जग हाल्नुभयो । तर, नक्कल नगर्न पनि खबरदारी गर्नुभयो ।
तेस्रो, संसारमा वैज्ञानिक समाजवादको उद्घाटन गर्नुभयो । सारमा यी नै लेनिनले विश्व कम्युनिस्ट आन्दोलनलाई दिनुभएको योगदान हो ।
– लेनिन आफैँ माक्र्सवादी हुनुहुन्थ्यो । फेरि लेनिन र रुसी क्रान्तिबाट लेनिनवादको जन्म भयो । माक्र्सवाद र लेनिनवादबीच के–के भिन्नता छन् ?
निश्चय पनि लेनिन माक्र्सवादी हुनुहुन्थ्यो । साम्राज्यवादी युगमा लेनिनले सर्वहारा क्रान्ति र सर्वहारा हुकुममार्फत सन् १९१७ मा बोल्शेविक क्रान्तिलाई सफलतामा पु¥याउनुभयो । एक अर्थमा लेनिनवाद सर्वहारा क्रान्ति र सर्वहारा हुकुमको सिद्धान्त र कार्यनीति वा व्यवहार हो । माक्र्स र एँगेल्सकै शिक्षा वा माक्र्सवादको सिद्धान्तमै टेकेर नयाँ परिस्थितिमा लेनिनले सर्वहारा क्रान्ति सफल पार्नुभयो । सर्वहारा वर्गको हुकुमलाई व्यवहारमा लागू गरेर देखाउनुभयो ।
तर, केही मानिसहरू लेनिनवादलाई रुसजस्तो किसान बाहुल्य भएको देशमा किसान समस्या समाधान गर्ने सिद्धान्तको रूपमा मात्र लिन्छन् ।
त्यस्तो व्याख्याले लेनिनवाद सर्वहारा क्रान्ति र सर्वहारा हुुकुमको सिद्धान्त र व्यवहार रुसजस्तो देशमा मात्रै लागू हुने तथा अन्तर्राष्ट्रवादी होइन भनी लेनिनवादलाई साँघुरो घेरामा पु¥याउनेछ । माक्र्सवाद पुँजीवादको उत्पति, विकास र पतनको सिद्धान्त हो भने लेनिनवाद पुँजीवादको सबभन्दा माथिल्लो अवस्था साम्राज्यवादी युगमा सर्वहारा क्रान्ति र सर्वहारा हुकुमको सिद्धान्त र व्यवहार साबित भयो ।
लेनिनको शिक्षाका रूपमा ‘राज्य र क्रान्ति’, ‘साम्राज्यवाद पुँजीवादको सबभन्दा माथिल्लो अवस्था’, ‘सर्वहारा क्रान्ति र विश्वासघाती काउत्स्की’, ‘वामपन्थी कम्युनिज्म एक केटाकेटी रोग’ जस्ता रचनाहरू महत्वपूर्ण छन् ।
– लेनिनवादी हुनुको अर्थ के हो ?
माक्र्सवादलाई स्वीकार गर्दै लेनिनका शिक्षालाई पनि आत्मसात् गर्दै व्यवहारमा उतार्ने अर्थात् एक कम्युनिस्ट राजनीतिलाई अँगाल्ने राजनैतिक पार्टीको नेतृत्वमा क्रान्तिलाई सम्पन्न गर्न लाग्नेहरू नै लेनिनवादी हुन् ।
नेपालको वर्तमान सन्दर्भमा लेनिनवादी हुनुको सरल अर्थ हो –
– सर्वहारा क्रान्ति र सर्वहारा हुकुमको सिद्धान्तलाई स्वीकार गर्ने,
– क्रान्ति सशस्त्र सङ्घर्षबाट हुन्छ, संसद्मा बहुमत ल्याएर सर्वहारा क्रान्ति र सर्वहारा हुकुम स्थापना हुँदैन भन्ने अडानमा बस्ने,
– राजनैतिक र सैद्धान्तिक सङ्घर्षलाई अगाडि बढाउन निर्वाचनहरूलाई प्रयोग गर्न आवश्यक हुन्छ भनी व्यवहारमा लाग्ने,
– प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर कामदार जनतालाई पुँजीवादी प्रभाव (पद र पैसाको लोभलालच) बाट जोगाउनु आवश्यक छ भन्नेबारे प्रचार अभियानमा लाग्ने,
– सिद्धान्तच्यूत कम्युनिस्टहरू अर्थात् माक्र्सवाद–लेनिनवादको झन्डा उठाई माक्र्सवाद र लेनिनवादलाई बदनाम गर्ने विश्वासघातीहरूको विरोधमा सङ्घर्ष गर्नेहरू,
– संशोधनवाद, सुधारवाद, अवसरवाद, उदारवादजस्ता सिद्धान्त र व्यवहारमा खुकुलोपना ल्याउनेहरूको विरोधमा सङ्घर्ष गर्नेहरू,
– साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववाद, उपनिवेशवाद तथा फासिवादको विरोधमा सङ्घर्ष गर्नेहरू नै लेनिनवादी हुन् ।
– प्रथम विश्व युद्धमा लेनिनले साम्राज्यवादी शक्ति आपसमा लडिरहेको अवस्थामा गृहयुद्ध छेड्ने नीति लिनुभयो र त्यही वैचारिक जगमा अक्टोबर समाजवादी क्रान्ति भयो । लेनिनले तत्कालीन परिस्थितिमा त्यो नीति नलिई संशोधनवादी नीति नै अँगाल्नुभएको भए संसारको कम्युनिस्ट आन्दोलनमा कस्तो प्रभाव पर्ने विश्लेषण गर्नुहुन्छ ?
साम्राज्यवादीहरू आपसमा मिल्थे र संयुक्तरूपमा रुसको कम्युनिस्ट आन्दोलनलाई दबाउँथे । पेरिस कम्युनको हारपछि युरोपमा धेरै वर्ष सर्वहारा क्रान्ति र मजदुर आन्दोलन कमजोर भएको थियो ।
– नेमकिपाले ‘प्रक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर पनि व्यापक कामगरी खाने जनताको सेवा गर्ने’ लेनिनवादी नीतिलाई पञ्चायतकालदेखि नै अँगाल्दै आएको छ । सो नीतिबारे केही प्रकाश पार्नुहुन्छ कि ?
नेपाल मजदुर किसान पार्टीले पञ्चायतकालको सुरुदेखि नै निर्वाचन र प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर जनताको सेवा गर्दै आएको छ । आज पनि पुँजीवादी व्यवस्थाको प्रतिक्रियावादी सङ्घ–संस्थामा गई जनताको सेवा गर्न कार्यकर्तालाई उत्साहित गर्दैछौँ । त्यसको अर्थ पद र पैसाको निम्ति होइन, बरु भ्रष्टाचार, गुण्डागर्दी, कालो बजारी, मिसावट आदि जनविरोधी र देशविरोधी कामको विरोधमा कार्यकर्ताहरू सङ्घर्ष गर्दैछन् ।
पहिले आजको एमाले र हिजोका मशाल एवम् जनमोर्चाहरूले पनि जनमत सङ्ग्रहसमेत बहिष्कार गरी पञ्चायतलाई जिताएका थिए । पछि हामी कारागारमै रहेको बेला त्यसबेलाका ‘झापाली समूह’, ‘थाहा’ र अन्य समूहहरूले पनि निर्वाचनलाई उपयोग गर्ने समझदारीअनुसार पद्मरत्न तुलाधर, कर्ण ह्योजू आदिले राष्ट्रिय पञ्चाjयतको चुनावलाई उपयोग गरेका थिए ।
तर, पछि चुनावको उपयोग गर्न गएका राष्ट्रिय पञ्चायतका सदस्यहरू र नगरपालिका एवम् अन्य सङ्घ–संस्थामा जनताको सेवामा गएका राजनैतिक कार्यकर्ताहरूले बोल्शेविकवाद वा लेनिनवादलाई बिर्से – अर्को भाषामा क्रान्तिकारी संसद्वादलाई बिर्सेको हुनाले आजको गणतन्त्रमा एमाले–माओवादी आदि कम्युनिस्ट भन्नेहरू सङ्घीय संसद्, प्रादेशिक संसद् र स्थानीय निकायहरूमा पनि बदनाम हुँदैछन् । आज कम्युनिस्ट बनेका हिजोका पञ्चहरू नेमकिपाविरुद्ध बदलाको भावनाले काम गर्दैछन् ।
– लेनिनको व्यक्तित्वका कुन–कुन पक्षले यहाँंलाई प्रभावित बनाउने गर्दछ ?
मेरो अध्ययनले बताएसम्म लेनिनको सरल जीवन, खतरा मोल्ने उत्साह, शत्रुको विरोधमा नदब्ने उत्साह, सक्रियता, गम्भीर अध्ययन र हरेक प्रकारको कठिनाइबाट पछि नहट्ने तथा प्रकाशमा नआउने बानी र व्यक्तिगत महत्वाकाङ्क्षा होइन, सिघ्र निर्णय, समाज परिवर्तन र क्रान्तिको महत्वाकाङ्क्षा नै लेनिनको समग्र व्यक्तित्व हो ।
– लेनिनका पुस्तक यहाँले कहिलेदेखि पढ्न थाल्नुभयो ? उहाँका कुन पुस्तकले सबभन्दा बढी प्रभावित बनाएको छ ?
विसं २०१५–१६ सालमा मैले लेनिनबारे र उहाँका स–साना पुस्तकहरू पढ्ने अवसर पाएको थिएँ । गाउँका गरिबहरूसँग र ‘वामपन्थी कम्युनिज्म एक केटाकेटी रोग’ भन्ने रचनाले मलाई सा¥है प्रभाव पा¥यो ।
रुसी क्रान्तिको परिस्थिति नै नबुझी ‘बोल्शेविक’ क्रान्तिको नक्कल गर्न खोज्ने अन्य देशका उग्रवादी कम्युनिस्टहरू, निर्वाचनको प्रयोग र प्रतिक्रियावादी सङ्घ–संस्थालाई प्रयोग गर्ने गा¥हो–फा¥हो कामसँग डराउने कम्युनिस्टहरूलाई लेनिन सा¥है प्रस्ट भाषामा आलोचना गर्नुहुन्थ्यो ।
लेनिन सा¥है अनुशासित र सचेत हुँदाहुँदै पनि मेलोनोभस्कीजस्ता जारका गुप्तचरहरू बोल्शेविक पार्टीमा घुसी अनेक राम्रा–राम्रा कार्यकर्ताहरूलाई पक्राउ गर्न लगाउँथे, ज्यान सजाय वा हत्या गराउँथे र कतिलाई कालापानी पठाउन लगाउँथे । त्यस सन्दर्भलाई सम्झँदा नेपालका कम्युनिस्ट भन्ने शासनमा जान पल्केका कति कम्युनिस्ट पार्टीमा कति देशी र विदेशी गुप्तचरहरू होलान् गम्भीर विषय हो । कति विदेशी मेलोनोभस्कीहरू कम्युनिस्ट सरकारका सल्लाहकारहरू होलान् भन्न गा¥हो छ !
– लेनिनबारे अध्ययन गर्न उत्साहित युवा–विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ ?
लेनिनको अध्ययनले हाम्रा युवा–विद्यार्थीहरूलाई मेहनती बनाउनेछ भने खतरा मोल्ने तथा देश र जनताको निम्ति ‘निःस्वार्थरूपले’ क्रान्तिमा समर्पित हुने भावना र सक्रिय जीवनले हाम्रा युवा–विद्यार्थीहरूलाई उत्साह प्रदान गर्नेछ ।
– लेनिन दिवसको अवसरमा भन्नुपर्ने केही थप कुरा छन् कि ?
लेनिन दिवसको अवसर र सिलसिलामा हाम्रा युवा र विद्यार्थी भाइ–बहिनीहरूलाई लेनिन र क्रुप्सकायाका जीवनी पढ्न र लेनिनका सरल रचनाहरू अध्ययन सुरु गर्न उत्साहित गरौँ ।