भर्खरै :

स्थापना दिवसमा दुई अध्यक्षको फरक–फरक विचार !

– राजन छुस्याबाग
सरकारको नेतृत्व गरिरहेको नेकपाले सोमबार कम्युनिष्ट पार्टीको स्थापना दिवस मनायो । कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने नेकपाले कम्युनिष्ट पार्टीको मूलमन्त्र नै बिस्र्याे । पुँजीवादी व्यवस्थाको घेराभित्र रहेर मनाइएको सो स्थापना दिवसमा पुँजीवादको स्वरले ठाउँ पाउनु आश्चर्यको विषय होइन । पार्टी एकता भए पनि केपी ओली र पुष्पकमल दाहालको विचार हेर्दा फरक–फरक दृष्टिकोण पाउँछौँ । नेकपाका एक अध्यक्ष ओलीको व्यक्त विचार पुँजीपति वर्गकै पक्षमा देखिएको छ । लोकतन्त्र र सामाजिक न्याय बखान गरेर आफ्नो सम्पूर्णजसो अभिव्यक्ति सरकारको गतिविधि र विरोधी पक्षको खण्डनमा खर्च गरेको देखियो । अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीको प्रसङ्ग उठाए पनि कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार भने भुसक्कै बिर्से ।
माक्र्सवाद र लेनिनवादलाई दलको पथप्रदर्शक मान्ने नेकपाका अध्यक्षद्वय ओली र दाहालले वर्गसङ्घर्षको कुनै उच्चारण गरेनन्, पुँजीवाद र समाजवादको भेदबारे कुनै कुरा बोलेनन् । पुँजीवादी बन्दोबस्तभित्र रहेर कुनै पनि दलले जति पटक निर्वाचनमा बहुमत ल्याए पनि समाजवादी गणतन्त्र स्थापना सम्भव छैन । वैज्ञानिक समाजवाद पक्षधरहरू साम्राज्यवाद र विस्तारवादको विरोध गर्छन्, विरोध गरेर जनतालाई सुसूचित पार्छन् । स्थापना दिवसमा आफ्नो दलको एकतामा भाँजो हालेको कुरा पनि नेताद्वयले फुके । आफ्नै दलभित्रको भागवण्डा नमिलेरै या पद बाँडफाँटमा नमिलेरै जिल्ला–जिल्लामा दलको एकता नभएको कुरालाई उनीहरूले छोप्ने काम गरे ।
कम्युनिष्टको पार्टी स्थापना दिवसमा कम्युनिष्ट पार्टीको उद्देश्यबारे बोल्नुपथ्र्याे । कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन सुदृढ पार्न विचार प्रवाह गर्नुपथ्र्याे । कम्युनिष्ट पार्टीको देशीय वर्ग शत्रु र बाह्य वर्ग शत्रुबारे जानकारी दिनुपथ्र्याे एउटै पार्टीका दुई अध्यक्षको फरक–फरक दृष्टिकोण देखिएकोले पार्टी एकता हो कि अझै ए कता हो ? नेकपाकै नेता तथा कार्यकर्ताहरू अन्योलमा छन् । कम्युनिष्ट पार्टीले बाह्य हस्तक्षेपको समर्थन गर्दैन । देश विदेशमा हुने शोषित पीडित जनताको पक्षमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँछ, समर्थन गर्छ । कम्युनिष्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । कम्युनिष्ट पार्टीले माक्र्सवाद र लेनिनवादलाई आफ्नो देशको माटो सुहाउँदो लागू गर्छ, लागू गर्न राजनीतिक गतिविधि गर्छ । जनतालाई सैद्धान्तिक र वैचारिक रुपले सुसूचित र सङ्गठित नगरिएसम्म क्रान्ति सम्भव छैन । अतः कम्युनिष्टहरू क्रान्तिको पूर्वाधार तयार गर्न अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *