भर्खरै :

सानालाई ऐन ठूलालाई चैन !

‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान त्यसै कसैले कहाँ बनाएको हो र ! ठूलालाई लागू नहुने ऐन कसरी सबैको लागि बराबरी हुन्छ ? ऐन साना–ठूला सबैको लागि समान भएन भने त्यो त काखापाखा नै हुने भयो नि ! ऐन सबैलाई लागू हुँदैन या पक्षपात भयो या समान व्यवहार भएन भने कसैले औंला ठड्याएकोमा के आश्चर्य ! औंला ठड्याउनु, पक्षपातको विरोधमा स्वर निकाल्नु पनि त आन्दोलनकै सिलसिला होइन र ! अनि प्रम ओली किन अब आन्दोलन या सङ्घर्ष जरुरी छैन भनी बर्बराउँछन् ? भैंसीको जत्रो आँखाले हेरेर अरुलाई तर्साउँदै हिँड्छन् ? आफू शासक होइन सेवक हो भनी अरु सबैलाई आफ्नै छत्रछायाँमा राख्ने दुस्वप्न किन देख्दै छन् ? अरु दल र दलको गतिविधिमा प्रतिबन्ध गर्नु, हड्ताल, जुलुुस र घेराउ गर्न पाउने शान्तिपूर्ण एवं प्रजातान्त्रिक आन्दोलनको घेरालाई साँगुरो बनाउनु के प्रम ओलीको प्रजातान्त्रिक पद्धति हो ?
सन्दर्भ भक्तपुरको विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्रमा रहेको तलेजु क्षेत्रको हो । उहिले उहिले बाजेको पालादेखि यहाँ फोटो खिच्न मनाही छ, यसभित्र हिन्दूहरूबाहेक छिर्न पाइँदैन भनी सूचना टाँसिराखेको थियो । तलेजु छिर्ने गेटमा जहिल्यै सेनाको पालो हुन्छ । कसैले फोटो खिच्न खोेजे सुरक्षाकर्मीले रोकिहाल्छ । कहिले सम्झाएर, कहिले तर्साएर त कहिले हप्काएर फोटो खिच्न दिइँदैन । जहिल्यै फोटो खिच्न निषेध गरिएको सो स्थानमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको फोटो खिचियो र सामाजिक सञ्जालमा राखियो । ठूलठूलो अक्षरमा फोटो नखिच्नु भनी सूचना भित्तामा टाँसिराखेको छ । त्यहाँ पुग्ने बित्तिकै जोकोहीले हेर्न र देख्न पाइन्छ । फोटो खिचाउनेहरूले पनि ध्यान पु¥याउनुपर्ने हो । अनि फोटो खिच्न लागेपछि सुरक्षाकर्मीले पनि फोटो नखिच्न आग्रह गर्नुपर्ने हो । तर, त्यहाँ दुइटै काम भएन । यसमा दोषी को ? राष्ट्रपति भण्डारीसमेतको फोटो खिच्ने टोली या फोटो खिच्ने फोटो ग्राफर या पालो बस्ने सेना !
ठूलाबडाले फोटो खिच्न पाउने अनि अरुले नपाउने पनि कानुन हुन्छ ? त्यहाँ राष्ट्रपति भण्डारीसमेतको टोलीले फोटो नखिचेरै के जाने हो ? कि अबदेखि फोटो खिच्न पाउने छुट भयो ? त्यसो त बाहिरी दृश्यको फोटो खिचे पनि केही फरक हुँदैन । भित्र छिर्नुभन्दा अघिको त्यो चोकमा त्यस्ता फोटो खिच्नै नहुने खालका अमूल्य मूर्तिहरू पनि छैनन् । पहिलेदेखि भन्दै, गर्दै आएको भनेर अहिले पनि लागू गर्न खोजिएको हो कि ! फोटो खिच्न मनाही रहेको ठाउँमा राष्ट्रपतिले नै फोटो खिचाएपछि अबदेखि सो स्थानमा (भित्र होइन) फोटो खिचाउने हो कि !
– प्रिया बाइजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *