भर्खरै :

गणतन्त्रभित्र राजतन्त्रकै गन्ध जनतालाई अस्वीकार्य छ

सृजना सैंजू
(मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै सांसद सृजना सैंजूले राख्नुभएको विचारको सारसङ्क्षेप)
प्रखर प्रतिपक्षको नाताले वर्तमान प्रदेश सरकारलाई हामीले रचनात्मक सुझाव दिंदै आइरहेका छौँ । जनताको आवाज तथा भावना अभिव्यक्त गरी प्रदेश सरकारलाई वास्तविक जनअभिमत अवगत गराउँदै आइरहेका छौँ । गणतन्त्रमा सामन्ती प्रथा नदोहोरियोस्, व्यक्तिपूजा नगरियोस् र देश तथा राज्यका सम्पत्ति कुनै व्यक्ति विशेषको नाउँ दिएर नराखियोस् भन्ने आवाज सचेत जनताको छ । हिजोका राजा, महाराजा, राणा साहेबहरुले जुनसुकै सार्वजनिक स्थान, सडक, भवन आदिको नाउँ राख्दा अनिवार्यरुपमा आफ्नो नाउँ जोडेर राखे । सडक तथा चोकमा सालिक ठड्याएर आफ्नो व्यक्तिगत महत्वाकांक्षा प्रदर्शन गरे । त्यही प्रचलन, त्यही प्रवृत्तिको निरन्तरता गलत हो । अझ त्यसो गर्नु कम्युनिष्ट दाबी गर्नेहरुलाई झनै सुहाउँदैन । तसर्थ यो विधेयकको नाउँ परिवर्तन गर्न प्रस्ताव गर्दछौँ । गणतन्त्रभित्र राजतन्त्रकै गन्ध जनतालाई अस्वीकार्य छ ।
कमसेकम अब बन्ने संस्था या कुनै संरचना व्यक्तिको नाउँमा राखेर विवाद बढाउनु र द्वन्द्वको लागि ठाउँ छोड्नुभन्दा प्रदेशको मौलिकता, इतिहास, भूगोल र जनभावना झल्किने गरी राख्नु दुरदर्शीताको परिचय हुनेछ । प्रदेशका जनताले अपनत्व वहन गर्ने खालको नाउँ राख्दा सम्भावित दूर्घटनाबाट जोगिनेछौँ ।
भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भक्तपुर स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान बनाइने चर्चा थियो र विधेयक सङ्घीय संसदमा पेश भइसकेको थियो । त्यसको निम्ति यो प्रदेशले पनि घच्घच्याओस् भन्ने जनताको माग छ ।
स्वास्थ्य तथा विज्ञानको क्षेत्रमा आवश्यक जनशक्ति निर्माण गर्नु स्वागतयोग्य छ । जनतालाई स्वास्थ्य सुविधा प्रभावकारी ढङ्गमा दिन सके परिवर्तनको महसुस गर्नेछन् । तर, यी कार्यमा कुनैपनि किसिमका भेदभाव भ्रष्टाचार हुन नदिनेतर्फ सावधानी पु¥याउन आवश्यक छ । मेडिकल माफियाकै कारण नेपालको चिकित्सा क्षेत्र बद्नाम छ । मेडिकल कलेजले सम्बन्धन प्राप्त गर्न करोडौं करोड रुपैयाँ मेडिकल काउन्सिललाई बुझाउनुपर्ने बेथिति कायमै छ । कमिसनतन्त्रको जालो तलबाट माथिसम्म झाँगिएकै छ । आजपनि मेडिकल विद्यार्थीहरुसँग अवैध ढङ्गले रकम असुल गरिरहेको र चरम आर्थिक शोषण गरिरहेको समाचारहरु सुनिन्छन् । यस्ता बेथिती र विकृतिविरुद्ध प्रतिष्ठान उभियोस् ।
२०१८ को तथ्याङ्कअनुसार नेपालमा २३ हजार चिकित्सकहरु छन् । त्यसमध्ये १४ सयले मात्र सरकारी दरबन्दीमा नियुक्ति पाएका छन् । १५ हजार डाक्टर दरबन्दी विहिन अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनको मापनअनुसार १ हजार बिरामी बराबर एक डाक्टर हुनुपर्छ तर नेपालको हकमा ७० हजार बिरामी बराबर एक डाक्टर छ । यो भयानक समस्या रोक्न छात्रवृत्तिमा पढेका चिकित्सक होस् या अन्य सबैलाई स्वदेशमै सेवा गर्न उत्साहित गर्ने नीति आवश्यक छ । आज करिब १२ हजार नेपाली चिकित्सक विदेशमा छन् । अमेरिकामा मात्रै १८ सय नेपाली डाक्टरहरु रहेको चर्चा छ । यो बौद्धिक पलायनले नेपाललाई अझ गरिब बनाउने छ । यसलाई रोक्न, दक्ष जनशक्तिलाई नेपालमै सेवा गर्ने वातावरण प्रदान गर्न प्रतिष्ठानले पहल गरोस् ।
मेडिकल शिक्षा कामदार जनताका छोराछोरीको पहुँचमा छैन । स्वास्थ्य उपचारमा जनताको पहुँच अत्यन्त न्यून छ । समाजवादउन्मुख दाबी गर्ने यो सरकारले प्रतिष्ठानमार्फत मेडिकल शिक्षा र स्वास्थोपचार निःशुल्क र जनताको पहुँचमा लाने विषयलाई महत्वका साथ उठाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *