भर्खरै :

पुस्तकको उपयोगितालाई आम्दानीमा नतौलौँ

–साम्या प्रकृति
हिजो मङ्गलबार विश्व पुस्तक दिवस थियो । नेपालमा केही संस्थाहरूले पुस्तकको महत्वबारे एकाध कार्यक्रम गर्नुका अतिरिक्त खासै चर्चा पाएन । पुस्तक दिवस मनाउनुको उद्देश्य विश्वभर पुस्तक प्रकाशन र पठनको प्रवृत्तिलाई बढावा दिनु नै हो । मानव जातिको ज्ञान र पुस्तकको गहिरो सम्बन्ध छ । हुन त ज्ञान र सीप पुस्तकमा सीमित छैन तर ज्ञान र सीपको प्रचार–प्रसार, अभिलेख र संरक्षणमा पुस्तक सर्वोपयोगी बनिरहेको तथ्यमा कसैको दुईमत नहोला । पुस्तकको आकारप्रकार र प्रयोग भएका वस्तु र तिनको गुणस्तर काल र स्थानअनुसार भिन्नाभिन्नै छन् तर उद्देश्य एकै भएको प्रस्ट छ । त्यसैले जहाँ पुस्तकको प्रकाशन, वितरण र पठनपाठन व्यापक भए, ती स्थानमा ज्ञान र सीपको विकास र विस्तार तीव्ररुपमा भए र समग्र समाजको विकास नै धेरै अगाडि बढ्यो भने जहाँ पुस्तकको प्रकाशन र पठनपाठनमा कुनै कारणले अवरोध भए, ती स्थान र देश समाज विकासको दृष्टिले पछाडि परे ।
नेपाल पछाडि पर्नुमा १०४ वर्षे राणाशासन कालमा घोषित रुपमा र ३० वर्षे पञ्चायतकालमा अघोषित रुपमा शिक्षा र पुस्तकको प्रचारप्रसारमा लगाइएको कडा प्रतिबन्ध जिम्मेवार छ । २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि भने पुस्तक प्रकाशनको उद्देश्य ज्ञान र सीप प्रसारमा सीमित भएन बरु नाफाको लागि प्रकाशन गर्ने प्रवृत्ति बढ्यो । विद्यार्थीलाई अत्यावश्यक पाठ्यपुस्तक र चर्चित लेखकका पुस्तकको मूल्य अत्यधिक रुपमा बढेको छ । हाम्रो समाजमा अझै पनि पुस्तक पठनपाठनको प्रवृत्तिले व्यापकता पाएको छैन । पुस्तक अध्ययनको उपयोगितालाई त्यसले दिने जानकारी, ज्ञान र सीपभन्दा तत्कालै वा छोटो अवधिपछि हुने आम्दानीसित तुलना गर्न थालिएको छ, जुन राम्रो सोचाइ होइन । पुस्तक पठनले मानिसलाई जानकार, ज्ञानी, सभ्य, आत्मसंयमित र चिन्तक बनाउँछ । देश र समाजको हितका लागि दीर्घकालसम्म योगदान दिनसक्ने सक्षम नागरिक बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *