भर्खरै :

मृत्युसँग साक्षात्कार

चञ्चल सुवाल
भक्तपुर व्यासीस्थित गेटबाट भित्र पसेपछि दायाँतिर पर्ने, बाहिर पाको इँटा र भित्र काँचो इँटामा माटोको जोडाइमा २०३६ सालमा बाले आफ्नै पैतृक जग्गामा बनाउनुभएको पाँचतले घरको बुइगलमा रहेको हाम्रो संयुक्त परिवारको भाञ्छाबाट निस्की भ¥याङ ओर्लेर म आफ्नो कोठामा पसेँ । देवालीको भोज खाएर परिवारका अधिकांश सदस्य यताउति लागिसक्नुभएको तर भक्तपुर अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत मेरा श्रीमान् न्हुछेकुमार बिहानको ड्यूटी सकेर आएको थाहा पाएर ‘सँगै खाना खाउँला’ भनेर बसेकी म उहाँलाई बोलाउन तल ओर्लेकी थिएँ । वि.सं. २०७२ साल वैशाख १२ गते शनिबारको दिन त्यसबेला दिउँसोको १२ बज्न पाँच मिनेट बाँकी थियो ।
म भित्र पस्नु र कोठाको भुईँ पूर्वबाट पश्चिमतिर छाल बगेझैँ तलमाथि तलमाथि गरेर बग्नु एकैपल्ट भयो । झोलुङ्गोसरि हल्लिएको कोठालाई देखेर हर्षविभोर आनन्दित स्वरमा मैले श्रीमान्तिर हेर्दै भनेँ, “भुइँचालो गएजस्तो छ । हेर्नुहोस् त भुइँ कस्तरी बगेको ।” भूकम्प गएको थाहा पाएर उहाँ त त्रास र भयले जड भइसक्नुभएको रहेछ । तत्क्षण मेरो हर्ष पनि पानीको फोकाजस्तै बिलायो किनभने धरतीबाट कहिल्यै नसुनेका भयानक आवाज आउन थाल्यो । ठूलो शक्तिले मलाई पूर्वतिर हुत्यायो, तत्कालै पश्चिमबाट अझ भयानक शक्तिले हुुत्यायो । डरले कहालिँदै, चिच्याउँदै मैले उहाँलाई च्याप्प समाएँ । हामी कोठाबाट बाहिर निस्कन खोज्दा कोठाभित्रै जाँतो रिङेझैँ अघिपछि, दायाँबायाँ रिङ्न थाल्यौँ । बल्लबल्ल एकअर्कालाई समाएर कोठाबाहिर निस्की भ¥याङको मुखसम्म आइपुग्न सफल भयौँ ।
भूकम्प जाँदा भ¥याङ सबैभन्दा असुरक्षित हुन्छ भन्ने जान्दा जान्दै पनि हामी त्यहीँ अड्कियौँ । घर पिङ मच्चिएझैँ मच्चिन थाल्यो । चोटा, कोठा, गा¥हो, छानो, झ्याल, ढोका, कौसीको ढलान, इँटा, माटो, दलिन, घरायसी सामान, खानेकुरा गन्द्रङ् गन्द्रङ् बज्रँदै हामी पुरियौं । छारो उडेर कुइरीमण्डल, आँखै हेर्न गा¥हो भयो । हाम्रो ठूलो संयुक्त परिवार, छोरीचेली, भाञ्जाभाञ्जी आइरहने भएकोले घरमा सरसामान निकै थिए । कौसीमा ट्याङ्की र ड्रममा भएको पानी, भोजलाई पारेको जाँडरक्सी मेघ गर्जेझैँ घनघोर गर्जनसाथ हिले वर्षाझैँ उल्टिएर आएर हामी निथ्रुक्क भिजियौँ । भयानक गर्जनका साथ डग्डग् डग्डग् गर्दै ट्याक्टर गुडिरहेको, हवाइजहाज उडेजस्तो, कहिले कटटट्, डङ्ग्रङ, कति खेर ढ्याङ्, ढक्ढक् ढक् आवाजले कान फुट्लाजस्तो भयो । वरपरका घरहरू गल्र्यामगल्र्याम ढलेको भयावह दृश्यले कहाली लाग्न थाल्यो । त्यसमाथि मानिसको कोलाहल । टाउकोदेखि खुट्टासम्म माथिबाट दलिन, निदाल, झ्यालढोका, चौकोस, इँटा, माटो, भाँडावर्तन बजारिए घाउ भयो । कुनै झड्कामा सानातिना सामान खस्ने, कुनै झड्कामा सिङ्गो भित्ता, सिङ्गो तला नै फाल्ने गर्जनको आतङ्कबीच पिङ मच्चिएझैँ मच्चिँदै चिच्याउँदै, कराउँदै, कोलाहल गर्दै हामी मृत्युसँग प्रत्यक्ष साक्षात्कार गरिरह्यौँ । धन्न हामी उभिएको ठीक माथि झ्यालको चौकोससहितको खापा आएर अडिएको कारण मर्नबाट भने जोगियौँ । मैले लगाइरहेको लुगाको बाहुला च्यातिएर पाखुरा तछारिएको, श्रीमान्को टाउकोबाट रगत बग्न थालेको देखेको हो तर कसरी ज्यान जोगाउने भन्ने चिन्ताको अगाडि ती विषय महत्वहीन भए । एक अर्काको टीठलाग्दो अवस्था हेरेर भक्कानियौँ, गुहार माग्यौँ, करायौँ, चिच्यायौँ, डाँको छाडेर रोयौँ । तर, केही लागेन, केही लागेन । झण्डै एक मिनेट हल्लिएर धरतीले सर्वत्र विनाश लीला मच्चाएर गयो ।
घरको चार तला भत्केर हामीमाथि थुप्रँदा के गति भयो होला ? धुलोमैलो, हिलोले छपक्क भिजेर ती दृश्यलाई सिनेमा हेरेझैँ हेर्दा हाम्रो मानसिकता कस्तो भयो होला ? टाउकोमा के खस्यो, कुममा केले तछा¥यो, के बज्रियो, कहाँ दुख्यो, रगत आयो आएन, घाउ भयो भएन ? हेक्का पनि रहन छाड्यो । किंकर्तव्यविमूढ भए पनि श्रीमान् श्रीमतीसँगै भएकोले मरे पनि सँगै मरिने भइयो भनेर थोरै ढाडस भने प्राप्त भइरहेको थियो ।
जमिन हल्लन छाडेपछि माटो, ढुङ्गा, काठ पन्छाउँदै हामी बाहिर निस्कियौँ । घरमा को को थिए भन्ने पनि थाहा थिएन । ठूलो परिवारमा को कतिबेला आउँछ, को कता जान्छ, को घरमा छ, को छैन सबैलाई थाहा पनि हुँदैन । परिवारका सदस्यमध्ये त्यहाँ नदेखिएका जति भग्नावशेषमा पुरिएको पक्का भयो । हामी अत्तालिँदै माटोको थुप्रो पन्छाउन थाल्यौँ । तर, एक तला अग्लो भइसकेको भग्नावशेष पन्छाउनु हाम्रो बुत्ताले भ्याउने कुरै थिएन । हामी चिच्याउँदै, कराउँदै, रुँदै, माटो पन्छाउँदै गुहार मागिरहेको सुनेर केही मान्छे आए । हामीले हाम्रो परिवार यहाँ पुरिएका छन् भनेर देखाउँदै सहयोग माग्यौँ । त्यसपछि एउटा टोली नै हाम्रो परिवारको उद्धारमा लाग्यो । अब भने अलिकति साहस आयो । चेनता फर्कियो ।
तर ?? बाबु खै ?? छोरा, शुभश्री खै ?? हाम्रो एक्लो सन्तान, १० वर्षको हाम्रो छोरो बिहान खाना खाएर बाहिर खेल्न गएको थियो । ऊ कहाँ खेल्न गएको थियो अन्दाजसम्म थिएन मलाई । हामी त बाँच्यौँ तर कहाँ होला बाबु ? होला कि नहोला ? मलाई सास फेर्नै गा¥हो भयो । मुटु बाहिर निस्केलाजस्तो भयो । कहाँ खोज्न ? घर, पर्खाल, मन्दिर, पाटी भत्केर जताततै थुप्रो लागेकोले बाटो बाटो नभएर भग्नावशेषको पहाड बनेको थियो । त्यो पार गरेर हिँड्न सजिलो थिएन । त्यसमाथि बेलाबेलामा गइरहेको पराकम्पमा अघि सद्दे रहेका संरचनासमेत भत्किरहेका थिए । त्यसबाट जोगिँदै, कतै पहाड बनेको भग्नावशेष चढ्दै, ओर्लँदै, लड्दैपड्दै हाहाकार मच्चिएको नगरमा हामी आफै अर्धघाइते आमाबाबु आफ्नो एक्लो छोरालाई खोज्दै बौलाहाले झैँ जसलाई भेटे पनि ‘हाम्रो बाबुलाई देख्नुभयो ?’ भनेर सोध्दै, ‘बाबु’, ‘बाबु’ भनेर चिच्याउँदै, रुँदै, कराउँदै भौँतारियौँ । जताततै कोलाहाल, रुवावासी, हाहाकार मच्चिएको ठाउँमा हाम्रो आवाज छोरासम्म पुग्ने कुनै सम्भावना थिएन तर हतास, निराश, विवश बाबुआमाले छोरा खोज्ने प्रयास छाडेनौँ । खुट्टामा जुत्ता छैन, लगाएको लुगा च्यातिएको छ, टाउकोदेखि जिउभरि रगत र हिलो कट्कटिएको अर्धघाइते, बिहानभरि काम गरेर थकित, गलित, खाना खान नभ्याएको भोको पेट, घर भत्केर पाताल भएको दृश्य आफ्नै आँखाले देखेको मानसिकता र एक्लो सन्तान कहाँ छ ? सद्दे छ कि छैन ? थाहा नभएको अन्यौलग्रस्त समय । त्यो क्षण सम्झँदा अहिले पनि मन ढुक्क हुन्छ ।
त्राहिमाम ! त्यो समाजका सबै रुँदै, कराउँदै आफन्तलाई खोज्दै थिए । यहीँ पुरिएका छन् भन्ने यकिन भएकालाई उद्धार गरिँदै थियो । कतिलाई जिउँदै निकालिँदै थियो, कति भग्नावशेष पन्छाएर निकाल्दासम्म लास बनिसकेका थिए । त्यो देखेपछि मन झन् व्यथित भयो र मेरो रुवाइको गति झन् बढ्न थाल्यो । कति बेला डाँको छाडेँ, कति बेला सुकसुकाएँ, कति बेला भक्कानिएँ मलाई थाहा छैन । के बोलेँ, कसलाई सोधेँ, कसले के जवाफ दियो, मलाई केही सम्झना छैन । आपूm अर्धचेत भइरहेजस्तो लागिरहेको थियो ।
त्यो अर्धचेत अवस्थामा निकै पर मेरो श्रीमान्ले लतरङ्ग पारेर एउटा बच्चालाई दुई हातले उचालेर ल्याइरहेको जस्तो धमिलो दृश्य देखेँ । आपूmलाई सम्हालँे र कुदै गएर त्यो बच्चालाई हेरेँ । हो, हो, त्यो बाबु नै थियो । भोकप्यासको अनुभव हुन नदिई सक्दो लाडप्यारले हुर्काएको मेरो छोरो, मेरो राजा, मेरो मुटुको टुक्रा, जसलाई सानो चोट लाग्दा पनि हामी बाबुआमा विह्वल हुन्थ्यौँ । बिरामी हुँदा राति कैयौँपल्ट उठेर निधार छाम्थ्यौँ, त्यही प्राणभन्दा प्यारो छोरालाई आज चिथराचिथरा लुगामा रक्तमुछेल, धुलाम्मे, लतरङ्ग परेको देख्दा आपूmलाई सम्हाल्नै सकिनँ र डाँको छोडेर रोएँ । श्रीमान्को अवस्था मेरोभन्दा नाजुक देखेर बाबुलाई उहाँको हातबाट लिएँ । छोरोलाई मेरो जिम्मा लगाएर उहाँ बेहोस हुनुभयो । बाबुको हातगोडा सद्दे छैनन् भन्ने अन्दाज उसलाई देखेरै लगाउन सकिन्थ्यो तर पनि बडो बहादुरीका साथ उसले मलाई सम्झाउँदै भनेथ्यो, “मामुु नरुनोस् न भन्या, मलाई केही भएको छैन ।”
त्यो आतसबीच बद्री व्याञ्जू दाइले मोटरसाइकलमा हालेर बाबुलाई भक्तपुर अस्पताल पु¥याउनुभयो । विपत् व्यवस्थापनको प्रबन्ध नभएको अस्पतालमा एकैपल्ट धेरै बिरामी आएकाले भद्रगोल थियो । तैपनि डाक्टरले प्राथमिक उपचार गरेर टाउको चिरिएको ठाउँमा टाँका लगाइदिए र टाउकोमा चोट लागेको र गोडा पनि दुई÷तीन ठाउँमा भाँच्चिएकोले अन्य अस्पतालमा लगेर उपचार गर्न सके राम्रो हुन्थ्यो भन्ने सल्लाह दिए । त्यसपछि अन्य घाइतेसँगै बाबुलाई मध्यपुर थिमिस्थित मध्यपुर अस्पताल ल्यायौँ । दाइले भतिजोलाई पनि त्यहीँ ल्याइसक्नुभएको रहेछ । त्यहाँ त झन् बेहाल थियो । एक्स रे गर्ने कोठा भत्किएर कामै नलाग्ने भइसकेकोले एक्स रे हुन सकेन । तर पनि रातिसम्ममा एउटी लेडी डाक्टरले बाबुको टाउकोमा ९ टाँका भतिजोको टाउकोमा १७ टाँका लगाइदिइन् । प्राथमिक उपचार गर्दा बाबुको टाउकोमा भएका इँटाका टुक्रासमेत ननिकाली टाँका लगाइदिएको त्यसलाई उधारेर पुनः टाँका लगाउनुपरेको थियो ।
अलिकति राहत भएपछि बाबुले घटनालाई यसरी प्रस्तुत गरेथ्यो । “हगि मामु ! दाइ र म मलाचाको गल्लीमा खेल्दै थियौँ, गल्ली बेस्करी हल्लियो । माथिबाट के के, के के खस्न थाल्यो । मलाई एकदम डर लाग्यो र त्यहाँबाट भागेँ, तर हिँड्नै सकिनँ । एकजना दाइले ‘भुइँचालो गयो बाबु, यस्तो बेलामा भाग्नु हुँदैन, यसरी बस्नुपर्छ,’ भनेर अँगालो मारेर दाइलाई र मलाई दुई हातले छोपेर टाउको निहुराएर बसाउनुभयो । घर भत्केर हामीमाथि खस्यो । मलाई झन् डर लाग्यो, बाबा, मामु भनेर रोएँ । अँध्यारो भएको आयो । सास फेर्न गा¥हो भयो । अनि मलाई केही थाहा छैन मामु ।”
बनेपाबाट आफ्नी फुपूको घरमा देवालीको भोज खान आएको २१ वर्षको केटाले यसरी मेरो छोरो र भतिजोलाई आफ्नै शरीरले चराले बचेरालाई छोपेझैँ छोपेर बसेछन् । भूकम्प रोकिएपछि एक महिलाले आफ्नो नाति खोज्दा बाबुहरू पुरिएको ठाउँबाट ‘ऐया’, ‘ऐया’ आवाज आएको सुनेर उनको नाति पुरिएको छ कि भनेर खोस्रन लगाउँदा बनेपाबाट आएका ती केटाको मृत शरीरले थिचेको बेहोस अवस्थामा मेरो छोरो र भतिजो भेटिएका रहेछन् । उद्धारकर्मीले भतिजोलाई बोकेर ‘यो कसको बच्चा हो ?’ भनी सोध्दै हिँडेको बेला ठूलो दाइले भेटेर अर्धबेहोस भतिजोलाई अस्पतालतिर कुदाउनुभएको छ । यो थाहा पाएपछि मलाई हाम्रो छोरा पनि त्यहीँ होला भन्ने लाग्यो र मलाचा टोलतिर हान्निएँ । मेरो अनुमान मिल्यो ।
भोलिपल्ट बाबुको खुट्टामा सामान्य व्याण्डेज बाँध्नेसिवाय केही भएन । अर्को दिन डाक्टरले बाबुको खुट्टा तीन ठाउँमा भाच्चिएको छ, प्लास्टर गर्नुपर्छ भन्दै त्यसका लागि लाग्ने रकम बताएपछि हामी तनावमा प¥यौँ । हामीसँग २ हजार÷२५ सय रुपियाँमात्र थियो । पाताल भइसकेकोले घरमा हाम्रा सरसामान, मालमत्ता, पैसा, अलिअलि जोरेर राखेको सुनचाँदी सबै पुरिएको थियो । ज्यान जोगाउनै गा¥हो भएको बेला कहाँ घरको भग्नावशेष खोस्रेर पैसा खोज्न जानु ? बैङ्कबाट पैसा झिकौँ चेकबुक, एटिएम कार्ड सबै पुरिएका छन् । कोसँग माग्नू, कोसँग लिनू ? मानिस यस्तो निरीह पनि हुँदोरहेछ । दुई दिन अघिसम्म हामीसँग सबै थोक थियो, अहिले केही छैन । तर, पनि डा. शिक्षाले छोराको खुट्टामा प्लाष्टर गरिदिनुभयो । पछि बाबुहरूलाई काठमाडौँ मोडेल अस्पताल लगेर सिटी स्क्यान गरायौँ । धन्न दुवैको टाउकोमा गम्भीर समस्या देखिएन । पछि कीर्तिपुरस्थित मोडेल अस्पतालमा जाँच्दा बाबुको खुट्टामा गरेको प्लाष्टर नमिलेकोले त्यसलाई खोलेर पुनःअपरेसन गर्नुपर्छ भनेपछि बाबु डराएर “अपरेसन नगर्ने मामु” भनेर रुँदै थियो । म उसलाई सम्झाउँदै थिएँ । पछि एक्स रेको रिपोर्ट हेर्दा खुट्टाको हाड जोडिन थालिसकेकोले अपरेसन गर्न नमिल्ने भयो । बाबुको खुट्टा बाङ्गो हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दा डा. शिक्षाले बच्चाको हाड जोडिन खासै समस्या बताएपछि बल्ल म ढुक्क भएँ । यी सबै गरेर १२ दिनपछि हामी फक्यौँ ।
घर पाताल भएको थियो । वैशाख १२ गते हाम्रो घरमा १२ जना रहेछौँ । हामी दुईबाहेक सबैलाई घरले पुरेको रहेछ । थोरैमात्र पुरिएका देवर र ज्वाइँ सबैभन्दा पहिले निस्कनुभयो । पछि खनीखोस्री गरेर जेठानी, देउरानी, जेठाजु, भतिजा, भतिजी र नातिनीलाई निकालिएछ । खोस्रँदै जाँदा भाञ्जा भेटिएछन् । अन्त्यमा पेटमा टेको लगाएजस्तै गरी दलिन धस्सिएको अवस्थामा भतिजी भेटिइ छन् । दलिन काटेर निकाल्दासम्म उनको ज्यान गइसकेकोरहेछ । उनको दाहसंस्कार गर्न लग्दा घाटमा लासै लासको लहर, बडो ह्दयविदारक दृश्य थियो रे । सबैलाई लस्करै राखेर दाह गरिएको रहेछ । अस्पतालमा भएको कारण उनको क्रियाकर्ममा हामी संलग्न हुन सकेनौँ । यसमा अहिले पनि दुःख लाग्छ ।
छँदा खाँदाको वास गुमाएर हामी शरणार्थी भयौँ । पानी परिरहेकोले कतै न कतै छतको व्यवस्था गर्नैपर्ने थियो । श्रीमान्ले भक्तपुर अस्पतालमा रातको ड्यूटी मिलाउनुभयो र हामीले अस्पताल परिसरमा बास पायौँ । दिनभरि कम्पाउण्डमा बस्ने, राती श्रीमान्को ड्यूटी कोठामा सुत्ने गरेर केही दिन बित्यो । पछि अस्पतालको चौरमा टेन्ट हालेपछि झरीमा रुझ्नुपर्ने बाध्यता रहेन । अन्त्यमा भक्तपुर अस्पतालले हामीलाई तीन कोठाको क्वाटर उपलब्ध गरायो र हाम्रो वासको व्यवस्था भयो । अहिले पनि हामी त्यहीँ छौँ ।
पाटन अस्पतालको सौजन्यमा एउटा ह्वीलचेयर प्राप्त भयो जसले गर्दा बाबुलाई यताउता गराउन सजिलो भयो । डेढ महिनापछि प्लास्टर झिक्दा गरेको एक्स रेको रिपोर्टमा हाड राम्ररी नजोडिएको देखिएपछि फेरि अर्को प्लास्टर गरेर १५ दिन राखेर प्लास्टर काटेपछि उसको भाँच्चिएको खुट्टा राम्ररी जोडियो । महिना दिन मालिस गरेको परिणाम बाबु मजाले कुद्न सक्ने भएको छ ।
यस्तै रहेछ, जीवनमा सुख र दुःखको चक्र चलिरहँदोरहेछ । तर, पनि मृत्युसँग प्रत्यक्ष साक्षात्कार भएको त्यो लगभग एक मिनेटको समय र छोरालाई नदेख्दासम्मको समय दुवैलाई जोड्दा मलाई मेरो सिङ्गो जीवनभन्दा पनि अझ लामो निकै लामो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *