भर्खरै :

भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर, १२ वैशाख । २०७२ वैशाख १२ गते गएको भूकम्पको वार्षिकीको सन्दर्भ पारेर ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भएको ‘भूकम्प इन्जिनियरिङ र विपद्पछिको पुनःनिर्माण’बारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक समारोहबीच बिहीबार उद्घाटन गर्नुभयो ।
भूकम्प इन्जिनियरिङ, पुनःनिर्माणलगायतका विषयमा कार्यरत सयौं देशीविदेशी विज्ञ र विद्वानहरूको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले भवन र अन्य भौतिक संरचना निर्माण गर्दा पुराना र प्रचलित आचारसंहितालाई पालना नगर्दा धेरै पुराना भवन र सम्पदाको संरक्षण हुन नसकेको बताउनुभयो ।
“निर्माणका ऐन, कानुन र आचारसंहितालाई बेवास्ता गर्दा २०७२ को भूकम्प र पराकम्पनले धेरै धनजनको क्षति ग¥यो । त्यसबाट शिक्षा लिएर निर्माण संहिताअनुसार भवन निर्माण र समय–समयमा मर्मत सम्भार भए क्षति न्यूनीकरण हुनेमा दुईमत छैन ।”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
भवन निर्माणका पुराना शैली अङ्गाल्न जनतालाई उत्साहित गर्नुपर्नेमा जोड दिंदै उहाँले आधुनिक नगर निर्माणको नाममा सिमेन्ट, फलामे डण्डी र कङ्क्रिटका घरहरू बनाउँदा ५०–६० वर्षपछि ठूलो रकम खर्च गरेर भत्काउनुपर्ने र भत्काएका थुप्रोलाई बन्दोबस्त गर्न वा फाल्न अर्को झन्झट व्यहोर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले नेपालको काठ विदेशमा चोरी निकासी रोक्नुपर्ने र जनताको घर निर्माणमा काठ प्रयोग गर्नसके घरको आयु पनि लामो हुने र सम्भावित रोगव्याधीबाट पनि जोगिने धारणा राख्नुभयो ।
प्रतिनिधिसभा सदस्य प्रेम सुवालले काठमाडौँ उपत्यकामा करोडौँ जनताको बसोबास विस्तार गर्ने सरकारको योजनाले उपत्यकामा थप समस्या निम्त्याउने बताउनुभयो ।
सरकारले उपत्यकाका खुला क्षेत्रको संरक्षण गर्न नसकेको तथ्य तथ्याङ्क प्रस्तुत गर्दै बागमती र हनुमन्ते कोरिडरको नाममा नदी साँघुरो बनाउँदा वरपरका क्षेत्र वर्षायाममा डुबानमा परेको जनताको गुनासो रहेको बताउनुभयो । सरकारले अर्थतन्त्रको ५५ प्रतिशत विदेशी निजी पुँजी भित्र्याउने सरकारको घोषणाले देशको सार्वभौमिकता कमजोर बनाउनुका साथै देशभक्त पुँजीपतिहरूलाई नाङले पसलेमा परिणत गरिदिने बताउनुभयो ।
वैदेशिक रोजगारीको नाममा नेपाली युवाहरू विदेशमा गएको अवस्थाले भूकम्पपछिको पुनःनिर्माणको लागि तालिम प्राप्त जनशक्तिको अभाव भएको चर्चा गर्दै निर्माण सामग्रीको मूल्य बढेको हुनाले सरकारले भूकम्पपीडितलाई दिइने अनुदान बढाउनुपर्ने र आगामी असारसम्ममा भूकम्पपीडित जनताको घर नबन्ने भएकोले अनुदान दिने समय बढाउनुपर्ने विचार राख्नुभयो ।
प्रदेश नं ३ को प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भूकम्पको सङ्कटपूर्ण अवस्थामा दक्षिणी छिमेकीले लगाएको नाकाबन्दी नेपाली जनताले कहिल्यै नभुल्ने बताउनुभयो । आफ्नै खुट्टामा उभिएर सम्पदा पुनःनिर्माण गर्न भक्तपुर नगरपालिकाले देखाएको अग्रसरताबारे चर्चा गर्दै पुर्खाले बनाएका सम्पदा पुनःनिर्माण गर्न विदेशी अनुदानको भर पर्न नहुने विचार राख्नुभयो ।
प्रदेश नं ३ को प्रदेशसभाका अर्का सदस्य सृजना सैंजूले भूकम्पजस्ता प्राकृतिक विपद्बाट मानव जातिलाई जोगाउन अन्तर्राष्ट्रिय सम्मेलनको निचोड उपयोगी हुने धारणा राख्दै २०७२ सालको भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै पनि भूकम्पपीडितको जीवनमा उल्लेख्य सुधार नआएकोमा दुःख व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख तथा सम्मेलन आयोजक मूल समितिका संयोजक सुनिल प्रजापतिले २०७२ सालको भूकम्पपछि पीडित परिवारमा कङ्क्रिटको घर नै बलियो र सुरक्षित हुन्छ भन्ने गलत मानसिकता विकास भएको र त्यही कारण बनेका अधिकांश घर कङ्क्रिटका घर बनेको बताउनुभयो । पर्याप्त बजेट नहुनु, आवश्यकताअनुसार काठ सहज उपलब्ध नहुनु, माल सामानको मूल्यवृद्धि, जनशक्तिको अभाव र निर्माण सामग्री खरिदको नाउँमा अरबौँ पैसा विदेशिनुजस्ता चुनौती रहेको बताउँदै उहाँले मौलिक शैलीलाई जोगाउन जनताको सक्रिय सहयोगविना सम्भव नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले मूर्त सम्पदाको विनाशले अमूर्त संस्कृतिलाई पनि विनाश गर्ने बताउनुभयो ।
पुराना शैलीका घर र नगरको वैज्ञानिक र व्यवहारिक पक्षबारे चर्चा गर्दै उहाँले दुई दसकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सम्पदाको सम्भारमा नकारात्मक प्रभाव पारेको बताउनुभयो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले ठूला भवनले मात्र भूकम्पको समयमा मानवीय क्षति नहुने बरू पुल र बाटाजस्ता पूर्वाधार कमसल बन्दा मानवीय क्षति पुग्ने गरेको बताउनुभयो । उहाँले भूकम्प आफैँले मान्छे नमार्ने बरू मानिसले बनाएका संरचना कमजोर हुँदा मानिस मर्ने बताउनुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डीन रामचन्द्र सापकोटाले भूकम्प इन्जिनियरिङमा गुणात्मक विकासको लागि प्राध्यापक र विद्यार्थी एकसाथ लाग्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले योजनाबद्ध निर्माण नहुँदा गाउँबस्ती र पुराना नगरका स्वरूप बदलिएको र हिजोको सुन्दरता हराउँदै आएको विचार राख्नुभयो ।
उहाँले भक्तपुर नगरले शिक्षा क्षेत्रमा दिइरहेको प्राथमिकता अनुकरणीय भएको विचार राख्दै भक्तपुरबाट तयार हुने विद्यार्थी बहुआयामिक रूपमा सक्षम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका उपरिक्षक हिमालयकुमार श्रेष्ठ र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पनि बोल्नुभएको थियो ।
सम्मेलनअन्तर्गत पहिलो दिन प्रा.डा. सुदर्शनराज तिवारीले सहरी सम्पदाको स्वरूप संरक्षणका चुनौती विषयमा प्रमुख व्याख्यान दिनुभएको थियो । भक्तपुर नपाका उपप्रमुख आर्किटेक्ट रजनी जोशीले भक्तपुर सहरको मूर्त तथा अमूर्त सम्पदाको पुनर्जीवन विषयमा प्रस्तुति गर्नुभएको थियो । बिहीबार तीन विदेशीसहित २७ जना अध्येताहरूले विभिन्न विषयमा प्रस्तुति दिनुभएको थियो ।
सम्मेलन शनिबारसम्म चालू रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *