सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

कम शुल्कमा गुणस्तरीय शिक्षा दिने मूल उद्देश्य राखेर भक्तपुर नगरपालिकाले २०५८ मा ख्वप इन्जिनियरिङ कलेज र २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ स्थापना गरेको हो । हालसम्म ख्वप इन्जिनियरिङ कलेजमा मनाङबाहेक ७६ जिल्लाका ३,७१९ जना र ख्वप कलेज अफ इन्जिनियरिङमा १,६७९ जना गरी ५३९८ जना विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । ख्वप इन्जिनियरिङ कलेजबाट स्नातक तहमा १६८५ जना र स्नातकोत्तर तहमा १८४ गरी जम्मा १८६९ र ख्वप कलेज अफ इन्जिनियरिङबाट ८२४ जना गरी दुवै कलेजबाट जम्मा २६९३ जनाले अध्ययन पूरा गरेका छन् । ती प्राविधिक जनशक्ति देशका विभिन्न क्षेत्रमा कार्यरत छन् । हाल दुवै कलेजमा गरी १,७०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
यी कलेजहरू देशमै पहिलोपटक नगरपालिकाले सञ्चालन गरेका कलेजहरू हुन् । इन्जिनियरिङ कलेजलगायत विभिन्न ७ वटा शैक्षिक संस्थाहरू खोलेर देशभरका जनताको सेवा गर्न पाएकोमा हामी भक्तपुरवासीहरू अत्यन्त खुसी छौँ । विद्यार्थीहरूमा अध्ययनको साथै देशभक्तिको भावना हुनुपर्नेमा हामीले जोड दिंदै आएका छौँ ।
यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो । २०७२ वैशाख १२ गतेको भूकम्पले देशको धेरै धनजन क्षति भयो । यसलाई ध्यानमा राखेर २०७३ वैशाख १२ गतेदेखि १४ गतेसम्म पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न ग¥याँै । त्यस सम्मेलनमा चीन, जापान, नेदरल्याण्डलगायत १४ देशका प्रतिनिधिहरूले भाग लिनुभएको थियो । हाल नेपाल, चीन, जापानलगायतका ६५÷६६ जना नेपाली र विदेशी प्रतिनिधिहरूले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
२०७२ को भूकम्पबाट ७ लाख ६२ हजार ६०४ घर पूर्णतः क्षति भएकोमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार ३ लाख ८२ हजार ६०० घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि अझै लाखौँ घरहरू पुनःनिर्माण गर्न बाँकी छन् ।
भक्तपुर नगरपालिकाभित्र करिब ८ हजार घर भत्केकोमा कूल ७,६१९ परिवार लाभग्राही सूचीमा परेका छन् । त्यसमध्ये ५,५३० परिवारले पहिलो किस्ताबापत रु. ५०,००० ।– पाए भने दोस्रो किस्ता लिनेहरूको सङ्ख्या १,६८९ र तेस्रो किस्ता लिनेहरूको सङ्ख्या १,४५० मात्रै छन् । भूकम्पपछिको यस ४ वर्षको अवधिमा करिब २० प्रतिशतमात्रै घर निर्माण सम्पन्न भए ।
भक्तपुरभित्र निजी घरहरूसँगै १३० वटाभन्दा बढी सम्पदाहरू क्षतिग्रस्त भयो । यस अवधिमा भनपाले १७ वटा मन्दिर, ३४ वटा पाटी, ४ वटा द्यो छेँ, ३ वटा प्रवेशद्वार, ५ वटा ढुङ्गेधारा र अन्य ५ वटा गरी ८३ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न ग¥यो भने ३२ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । हालसम्म सम्पदा संरक्षणको लागि भनपाले २३ करोड ३७ लाख ७८ हजार रुपैयाँ खर्च गरिसकेको छ । त्यसैगरी नेपाल सरकार पुरातत्र्व विभागले पनि सम्पदा जीर्णोद्धार र पुनःनिर्माण गर्दैछ ।
सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारसँगै भनपाले त्यसलाई अध्ययन अनुसन्धानको विषय पनि बनाउँदै छ । हामीले सम्पदाहरू पुनःनिर्माण वा जीर्णाेद्धार गर्दा मौलिकता जोगाउनेतर्फ पनि जोड दिँदैछौँ । मौलिकता जोगाउन सकिएन भने पुनःनिर्माणको कुनै अर्थ नहुनेप्रति हामी अत्यन्त सचेत छौँ ।
भूकम्पपछि पीडित परिवारहरूमा ‘कंक्रिटको घर नै बलियो र सुरक्षित हुन्छ’ भन्ने गलत मानसिकताको विकास भएको पाइन्छ । त्यसैले जति पनि घरहरू बन्ने ती अधिकांश कंक्रिटकै छन् । हाम्रा कतिपय सहरहरूको मौलिक स्वरुपहरू गुम्दैछन् । अब हामीले चाहेर पनि पुरानै अवस्थामा फर्काउन सम्भव छैन ।
भक्तपुर नगरपालिकाले सम्पदा पुनःनिर्माण वा जीर्णाेद्धार उपभोक्ता समितिमार्फत गर्दैछ । सम्पदाहरूमा स्थानीय जनताको अपनत्व कायम गर्न, मौलिक स्वरुप बिग्रन नदिन, गुणस्तरीय निर्माण गर्न र स्थानीय जनतालाई रोजगारीको अवसर प्रदान गर्न उपभोक्ता समितिलाई जोड दिंदै आएको हो । तर जनताले वर्षभरि दुःख गरी निर्माण गरेका संरचनाहरूको मूल्याङ्कन एक दुई दिन हिसाब हेर्ने पदाधिकारीहरूले वास्तविकता कति बुझ्छन् भन्नेबारे पनि प्रश्न उठ्ने गरेको छ । जनताले गरेका श्रमदान र योगदान सरकारको हिसाबमा नरहे पनि जनताको स्मरणमा भने सँधै रहिरहनेछ । उपभोक्ता समितिमार्फत काम गर्दा केही सहजतासँगै थुप्रै कानुनी चुनौतीहरू हाम्रोसामु खडा छन् । यद्यपि यसलाई हामी निरन्तरता दिंदै जानेछौँ ।
पर्याप्त बजेट नहुनु, आवश्यकताअनुसार काठ सहज उपलब्ध नहुनु, माल सामानको मूल्यवृद्धि, जनशक्तिको अभाव र निर्माण सामग्री खरिदको नाउँमा अरबौं पैसा विदेशिनु हामी सबैको साझा चुनौतीहरू हुन् । मौलिक शैलीलाई जोगाउन जनताको सक्रिय सहयोगविना सम्भव नहुने भएकोले भक्तपुर नगरपालिकाले पुरानो नगर क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडामा लाग्ने काठ, इँटा र झिङ्गतीमा ३५ प्रतिशत अनुदान दिंदै आएको छ ।
भक्तपुरका ठूलठूला संरचनाहरूको पुनःनिर्माण र जीर्णोद्धार गर्न अझै केही वर्ष लाग्नेछ । भनपा वडा नं. १ सल्लाघारीस्थित नेपाली सेनाको नियन्त्रणमा रहेको रानी पोखरी, ङातापोल (पाँचतले मन्दिर), दरबार क्षेत्रस्थित पहिले नगरपालिका रहेको भवन र भूमिसुधार रहेको भवन तथा कला सङ्ग्रहालय रहेको भवन, पुजारी मठलगायत महत्र्वपूर्ण सम्पदाहरू अझै जीर्णोद्धार र पुनःनिर्माण गर्न बाँकी छन् । ती सम्पदाहरू एक एक गरी जीर्णोद्धार र पुनःनिर्माण गर्न नगरपालिकाले आवश्यक तयारी गर्दैछ ।
अन्त्यमा, भूकम्प र विपद् व्यवस्थापनमा आइपर्ने चुनौतीहरू समाधान गर्न अनुसन्धानकर्ताहरू, प्राज्ञिक व्यक्तित्वहरू र राजनैतिक नेतृत्वबीच समन्वय गरी नयाँ नयाँ समाधानका उपायहरू पत्ता लगाउनु आजको आवश्यकता हो । यही मान्यताका साथ दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछौँ ।
सबैको साथ र सहयोगमा सम्मेलन भव्यरुपमा सम्पन्न हुने आशा व्यक्त गर्दछौं र पुनः स्वागत गर्दछौँ ।