–पीडित अभिभावकहरू

पुस्तक प्रकाशनको उद्देश्य ज्ञान र सीप प्रचारप्रसार गर्नु हो । तर हिजोआज पुस्तक प्रकाशन र वितरणको एउटैमात्र उद्देश्य नाफा भएको छ । विद्यार्थीलाई अत्यावश्यक पाठ्यपुस्तकको मूल्य अत्यधिक रुपमा बढेको छ । मूल्य बढेको मात्र कहाँ हो र पहिले पहिले दिंदै आएको १०–१५ प्रतिशत छुटको बन्दोबस्त दिन बन्द गरिएको छ । पुस्तक पसलेसित गुनासो गर्दा मैलेमात्र गरेको होइन पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घले नै गरेको निर्णय हो, म एक्लैले केही गर्न मिल्दैन भनी लुक्न र पन्छिन खोज्छन् । पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ भनेको पनि तिनै पसलेहरू नै त हुन् । आफ्नो नाफाको लागि लाखौँ अभिभावकका बाध्यतालाई शोषण गर्ने बहाना तिनीहरूले बनाएका छन् । होइन भने तिनीहरूले हरेक वर्ष बढ्ने पुस्तकको मूल्य घटाउन ठोस दबाब दिनुप¥यो । हरेक वर्ष पुस्तकका मूल्य पनि बढाउने र प्रचलनमा रहेको छुटको व्यवस्था हटाउनु अभिभावक र विद्यार्थीमाथि भएको खुला लुट होइन र ? के हो शून्य छुटको नीति भनेको ? यस्तो निर्णय गर्ने पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ भनेका को को हुन् ? अभिभावकहरू चिन्न चाहन्छन् । आफ्नो तर्कसहित अगाडि आउन सक्नुप¥यो ।
यस्तो संवेदनशील विषयमा जायज आवाज उठाउनुपर्ने बेलामा विद्यार्थी हकका कुरा गर्ने विद्यार्थी सङ्घ सङ्गठनहरू र अभिभावक सङ्घहरू कुन दुलोमा लुकेर बसेका छन् ? कि किताब प्रकाशक र पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घले उपलब्ध गराएका भ्रमणका अवसर र लन्च डिनरहरूमै रमाएका छन् ? देशलाई एक योग्य नागरिक र जनशक्ति उपलब्ध गराउन जुटेका अभिभावकहरूमाथि एकातिर निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरूले ढाडै सेक्ने गरेका छन् भने अर्कोतिर पुस्तक प्रकाशक र बिक्रेताहरूले आलो घाउमा नूनचुक दल्ने गरिरहेका छन् । जनताको सेवा गर्छाैं भन्ने सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरू सर्वसाधारण जनताको समस्या र पीडाबारे नसुन कानमा तेल हालेर र नदेख्न कालो चश्मा लगाएर बसेका छन् ।