भर्खरै :

पर्यटनसँग जोडिँदै मह शिकार

बागलुङ, १२ वैशाख । परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास सुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो ।
ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा वैशाख १९ गते मह शिकार गरिँदै छ ।
मह शिकारसहित विविध खेलकुद र सांस्कृतिक कार्यक्रम हुनेछन् । वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लवले मह शिकार कार्यक्रमको आयोजना गरेका हुन् । रमुवाको मौरीभीरमा रहेका झण्डै एक सय गोलाबाट मह काढिने वडा अध्यक्ष तिलक घर्तीले बताउनुभयो ।
“पर्यटन प्रवद्र्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो”, उहाँले भन्नुभयो, “यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।” रमुवाका भीरमा प्रशस्त भीर मौरी पाइन्छ । गाउँलेले पुस्तौँदेखि मह शिकार गर्दै आएका छन् । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्छन् ।
बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भ¥याङ (पराङ) मा झुण्डिएर मह शिकार गरिने शिकारी धनबहादुर घर्तीले बताउनुभयो । “हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे”, उहाँले भन्नुभयो, “ज्यानकै बाजी लगाएर भीरमा उक्लनुपर्छ ।”
स्थानीय शिकारीले बर्सेनि मह काढ्ने गरे पनि यो वर्ष पर्यटन प्रवद्र्धन गर्ने गरी मह शिकार हुन लागेको उहाँको भनाइ छ । मह शिकार हेर्न पर्यटक भित्रिँदा महको किनबेच पनि बढी हुनेछ । शिकारीले राम्रो याममा एउटै गोलाबाट २० लिटरसम्म मह निकाल्ने गरेका छन् ।
भौगोलिक हिसाबले विकट रुमुवामा सडक, सञ्चारजस्ता सुविधा पुगेपछि पर्यटन गतिविधि सञ्चालन गर्न गाउँले कस्सिएका हुन् । मह शिकार कार्यक्रममा जानेलाई रु. ५० मा मह खाने व्यवस्था मिलाइएको छ । खरिदका लागि पनि मह उपलब्ध हुनेछ । भीर मौरीको मह स्वास्थ्यवद्र्धक मानिने हुँदा व्यावसायीकरण गर्न सजिलो छ ।
गलकोटका धेरै ठाउँमा भीर मौरी रहे पनि मह शिकार कमै हुने गरेको छ । खर्चिलो र जोखिमयुक्त हुने भएकोले शिकार कम हुन्छ । घरायसी प्रयोगमै सीमित भीर मौरीको मह रमुवावासीले भने बिक्रीसमेत गर्दै आएका छन् । मह शिकारका लागि वैशाख–जेठ उपयुक्त महिना हुन् ।
गत वर्ष पनि गलकोट नगरपालिका–४ निलुवामा मह शिकार महोत्सवको आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भीरमा पनि वडा नं १० रमुवाकै अनुभवी शिकारीले मह काढेका थिए ।
निलुवालाई पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । दशकौँपछि गरिएको मह शिकार हेर्न निलुवामा सर्वसाधारणको भीड लागेको थियो ।
परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग हुने गरेका छन् । आँट, साहस भएको र स्वस्थ व्यक्तिमात्रै शिकारका लागि छनोट हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *