– नारायण अधिकारी
चितवन, १२ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुन सकेको छैन ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचान हुन नसकेका कतिपय गैँडाको हाडखोरमात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए ।
घिमिरेको भनाइमा लिङ्गसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरूमा मरेका गैँडा हुन् । उहाँले भन्नुभयो “एक वर्षमा २२÷२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ ।” यस वर्ष मृत सङ्ख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण सङ्ख्या बढी भएको उहाँले बताउनुभयो ।
घिमिरेका अनुसार निकुञ्जले चालू आर्थिक वर्षमा पटकपटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेका हुन् । विगतका वर्षहरूमा भन्दा बढी गैँडा प्राकृतिक कारणले नमर्ने उहाँको भनाइ छ ।
प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार हालसम्म मृत भेटिएका गैँडामध्ये २० वटा अमलटारी र १४ वटा कसरा क्षेत्रका रहेका छन् । अन्य गैँडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् । धेरै गैँडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्दछ ।
दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीको प्रभावका कारण मरेका गैँडा निकुञ्जको खानतलासीको क्रममा भेटिएको अनुमान गरिएको छ । बाढीले तितरवितर पार्दा अलमलमा परेर पनि गैँडा मरेको बताइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको नभएर अघिल्ला वर्षहरूमा मरेको भेटिएको बताउनुहुन्छ । धेरै गैँडा कङ्काल अवस्थामा भेटिएको भन्दै उहाँले विगतका वर्षहरूमा मरेका गैँडाहरू अहिले भेटिएको बताउनुभयो ।
प्राकृतिक कारणले मरेका गैँडाहरू निकुञ्जको अपरेसनको क्रममा क्रमशः भेटिँदै गएको खड्काको भनाइ छ । यद्यपि गैँडाको मृत्युका कारण पहिचान गर्न निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा प्राविधिकहरूको टोली गठन भई काम भइरहेको पनि उहाँले बताउनुभयो । एकै वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको भन्ने हल्ला चलेको भए पनि तथ्याङ्क हेर्दा विगत वर्षहरूमा मरेको र पहिचान हुन नसकेका गैँडा धेरै भेटिएको खड्काले बताउनुभयो । यस वर्ष निकुञ्जको पूरै क्षेत्र समेट्ने गरी अपरेसन गरिएको उहाँको भनाइ छ ।
सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् ।
गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ ।