भर्खरै :

गोर्कीको कथा

सोफी
“आउ सबैजना भित्र बस ।” भयो अब विद्यार्थीको खेलको निरन्तरता भङ्ग गरिदिए शिक्षकले । मन गाठो पार्दै कति शौचालयतिर कति धारातिर दगुरे । शरीरमा लागेको धुलो झार्दै कक्षामा पसे । कोही गुनगुन गर्न थाले, कसैको निधार मुज्जा देखियो । खेल्दासम्म नलागेको भोक, प्यास कक्षामा एकैपटक किन लाग्छ होला ? विद्यार्थीको आँखामा हेरेर शिक्षक सोच्न थाले । शिक्षकलाई थाहा नभएको होइन, कुनै कुराको मोह भङ्ग गरिदिनुको नतिजा के हुन्छ । फेरि पढाउनु त छँदैछ । विद्यार्थीको ध्यान पटक्कै छैन । के गर्ने, शिक्षक एकछिन गमेर बसे ।
“जोक सुनाउनु न सर” तीखो आवाजले सबैको ध्यान केन्द्रित गर्यो । मन्द मुस्कानसँगै शिक्षकको ओठ खुम्चिए । “फिलिम हेरम” एक कुनामा आवाज गुञ्जियो । चिसो कोठा बाफिन के बेर । कोठाको गुनगुन विस्तारै हराउँदै गयो । “त्यसो भए आज एकजना साहित्यिक व्यक्तिको बारेमा बताउँछु, हुन्छ ?” एक छेउबाट अर्को छेउसम्म आँखा दौडाउँदै शिक्षक बोले । “हुन्छ सर ।” सबैजना एकसाथ चिच्याए । कोठामा करिब २० जनाजति विद्यार्थी छन् । चिसोबाट आपूmलाई बचाउन विद्यार्थीहरू मजेत्रो ओढेर एकटक शिक्षकलाई हेरिरहेका छन् । शिक्षकको धोद्रे स्वर कर्कस सुनियो ।
होचो कदको शिक्षक गोजीबाट हात निकालेर बोर्डमा लेखे– “अलेक्सेयी म्याक्सिमोबीच पेशकोभ” अर्थात् “म्याक्सिम गोर्की” ‘गोर्की’ विद्यार्थीहरू एकसाथ चिच्याउँदा कक्षा गुञ्जायमान भयो ।
“हो, गोर्की । गोर्कीको अर्थ हुन्छ तीतो” शिक्षक बोले । रूसी भाषाका साहित्यकार म्याक्सिम गोर्की एक प्रसिद्ध विश्वविख्यात साहित्यकार हुन् । सानै उमेरमा बुबा गुमाएका गोर्कीले बाल्यकाल हजुरआमासँग बिताएका थिए । हजुरबुबा सा¥है निर्दयी स्वभावका थिए । गोर्की १० वर्षको हुँदा हजुरबुबाले भने – “सुन अलेक्सेयी तँ कुनै तक्मा होइनस् जसलाई म घाँटीमा झुण्ड्याएर हिँड्न सकूँ । अब यहाँ तँलाई बस्ने ठाउँ छैन । जहाँ जान्छस् जा, आफ्नो बाटो लाग् र आफ्नो सुर गरेर पेट पाल् ।” १० वर्षको उमेरमै घरदेखि निकालिएका गोर्कीले सहरको मुख्य सडकको जुत्ता सिलाउने पसलमा सिकारु कामदारको रुपमा काम गरे, पानीजहाजमा भाँडाकुँडा सफा गर्ने काम गरे । विभिन्न दुःख कष्ट अनेकौं हण्डर ठक्कर, धोका र छलको पिटाइले आघात भई आफैंलाई सिध्याउने असफल प्रयास पनि नगरेका होइनन् । उनले ठोकेको गोली मुटुमा नभई फोक्सोमा लाग्यो र बाँच्न सफल भए । उनले त्यो घटनालाई सपना ठानी जीवन जिउने कला सिके । त्यसबेला पढ्ने काम एउटा खतरनाक कुरा हो भन्ठान्थे । पढ्नै हुन्न भन्ने धारणा थियोे । लेखपढ गर्नु गैरकानुनी मानिन्थ्यो । गोर्की आफ्ना किताब चुलोको मुखमा लुकाउँथे र सबै सुतिसकेपछि चुलोको प्वालबाट किताब झिक्थे र झ्यालमा गएर जुनको उज्यालोमा पढ्न सुरु गर्थे । कहिलेकाहीँ जुनको उज्यालोलाई बढी चम्किलो पार्नको लागि तामाको चम्किलो तावा पर्खालमा झुण्ड्याएर प्रकाश एकीकृत गर्थे र पढ्थे । जुन निकै मलिन भएको अवस्थामा पूजा कोठानिरको बेञ्चमा चढ्थे र भित्रबाट आएको पिलपिले बत्तीको उज्यालोमा पढ्थे ।
गरिबीको तल्लो तहमा बाँचेका गोर्कीले जिन्दगीको अनुपम सौन्दर्यलाई आफ्नो वर्गका मानिसहरूमाझ पस्किए । उनी यस्ता साहित्यकार हुन् जसको नाम र परिचयको उपस्थितिमा संसारका पुँजीवादी पक्षधरहरूको दिमागमा झड्का लाग्छ । उनी लेखनको उद्देश्य जनताको सेवा हुनुपर्ने र वास्तविक सत्यको खोजी गरी मानव जगतको सेवा गर्नुपर्नेमा जोड दिन्छन् ।
शिक्षकले लामो श्वास फेरे । कक्षा शान्त थियोे । विद्यार्थीहरूको आँखामा हेरी शिक्षक फेरि बोले । आमा, तीन व्यक्तित्व, टक्करजस्ता विश्व प्रसिद्ध कृति लेखेका उनले ‘एक आलोचना’ नामक कथामार्फत साहित्यकारको ईश्वर को हो ? आफैसँग अपराधी साहित्यकार, आफैंमा महत्वकाङ्क्षा र घमण्ड भएका लेखकले पाठकलाई आफ्नो विचार पस्कने अधिकार के ? साहित्यकारले मानिसलाई प्रचार गर्ने कुरा के ? उनीहरूसँग अरूलाई सिकाउने अधिकार कसले दियो ? भन्नेजस्ता प्रश्न सोधेका छन् । साहित्यको क्षेत्रमा प्रगतिशील, यथार्थवादी साहित्यको सूत्रपात गर्ने गोर्कीले अनेकौं कालजयी साहित्य रचना गरी सम्पूर्ण मानव जातिको मुक्तिको बाटो देखाए ।
शिक्षकले विद्यार्थीतिर हेरे । अँध्यारो फैलिदै थियोे । (कक्षा सकाउने तयारी साथ) यस्ता साहित्यकार हाम्रो माटोमा कहिले जन्मेलान् भनी तर्कना गरे । कक्षा सकियो । विद्यार्थी घरतिर लागे । पर अँध्यारो बाटोमा कोही ‘गोर्की’ भन्दै चिच्याएको आवाज सुनियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *