भर्खरै :

कटुञ्जेमा मे दिवस

भक्तपुर, १७ वैशाख । १३० औँ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक ५ वडा (कटुञ्जे) समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा छलफल कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सभा सांसद सुरेन्द्रराज गोसाईले वर्तमान नेपाल सरकार नामले कम्युनिस्ट भए पनि व्यवहारमा पुँजीपतिको सेवा गर्ने पुँजीवादी पार्टी भएको स्पष्ट पार्नुभयो ।
“विगतदेखि हालसम्मको सरकारलाई हेर्ने हो भने सबैभन्दा बढी आलोचित र जनताले गाली गर्ने सरकार हालको नेकपा भनिएको एमाले र माओवादीको गठबन्धनमा बनेको सरकार नै हो । वर्तमान सरकार जनताको हक अधिकार कुण्ठित पार्ने तथा प्रजातन्त्रकै हत्या गर्ने कार्यमा अगाडि बढिरहेको छ ।” सांसद गोसाईले भन्नुभयो । उहाँले भन्नुभयो, “यदि यो कम्युनिस्ट सरकार भएको भए शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, किसानका लागि सिंचाइ तथा मल, बीउबिजनको बन्दोबस्त गर्ने, मजदुरका लागि उद्योगहरू खोल्ने गर्दछ । तर हालको सरकारले मजदुर, किसानलाई सफाया गर्ने नीति अवलम्बन गर्दै आएको छ ।”
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सृजना सैंजूले नेपाल मजदुर किसान पार्टीले विचारको लडाइँ गरिरहेको स्पष्ट पार्नुभयो । “नेपाल मजदुर किसान पार्टीले मजदुर, किसान तथा सम्पूर्ण काम गरी खानेमाथि गरिरहेको अन्यायm र शोषणको विरुद्धमा आवाज उठाउँदै आएको छ ।” उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष महेन्द्र बखुन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ब्रजेश खाइजू, नेक्रायुसङ्घ, भजिसका सुरेश बखुन्छेले पनि नेपालको समसामयिक विषय तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको बारेमा विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *