भर्खरै :

मे दिवसको शुभकामना

श्रमिक जनताको गौरवपूर्ण क्रान्तिकारी इतिहासबाट जन्मिएको मे दिवस आज संसारभरका कामदार जनताले विभिन्न गतिविधि गरी मनाइरहेका छन् । संसारका सबै श्रमिक जनताप्रति मे दिवसको अवसरमा हार्दिक शुभकामना । पुँजीवादी देशहरूमा मे दिवस पुँजीवादले श्रमिक जनतामाथि गरेको अत्याचार र शोषणको प्रतिरोधमा मनाउने गरिन्छ भने समाजवादी देशहरूमा आफ्नो क्रान्तिकारी इतिहासबारे नयाँ पुस्तालाई दीक्षित गर्ने सुखद् दिनको रूपमा मनाउने गरिन्छ ।
पुँजीवादी व्यवस्था नै मजदुर वर्गको जन्मदाता हो । तर, पुँजीवादी व्यवस्थाको शोषणमूलक चरित्रका कारण यो खोटपूर्ण व्यवस्थाको अन्त्य मजदुर वर्गबाटै हुने गर्छ । पुँजीवादी व्यवस्थामा मे दिवस मजदुर वर्गको प्रतिरोधी आन्दोलनको अवसर हो भने समाजवादी व्यवस्थामा मे दिवस विजयोत्सवको दिन हो ।
नेपालमा पुँजीवादी व्यवस्थाको विकाससँगै मजदुर वर्ग र पुँजीपति वर्गबीचको अन्तर्विरोध गहिरो बन्दै गइरहेको छ । नाफाको लागि पुँजीपति वर्गले मजदुरमाथिको शोषण कसिलो बनाउँदै लगेसँगै मजदुर वर्गमा वर्गीय चेतनाको विकास हुन्छ र त्यही चेतनाले समाजमा क्रान्तिकारी आन्दोलनको विकास गर्छ । मजदुर वर्गमा चेतना देशभित्र र बाहिरका मजदुरहरूको अवस्था र आन्दोलनले विकास गर्ने गर्छ । नेपालको सन्दर्भमा देशभित्रको मजदुर आन्दोलनले विकास गरेको नेपाली मजदुरहरूको चेतनास्तर पूर्ण होइन । बरु नेपालभन्दा खँदिलो गरी पुँजीवादको विकास भएका देशहरूमा मजदुरको रूपमा श्रम गर्न गएका नेपाली मजदुरहरूका अनुभव पनि नेपालको मजदुर आन्दोलन विकासको लागि उपयोगी हुनेछ ।
मजदुर आन्दोलनमा आउने सबभन्दा विषालु दुई विचारधारा भनेको अर्थवाद र टे«ड युनियनवाद हो । आफ्नो पेशागत हितलाई मात्र ध्यान दिने र पेशागत आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोड्न नखोज्ने खोटो विचार अर्थवाद हो । सीमित सुविधा र स्वार्थ पूर्ति भएपछि मजदुर आन्दोलनलाई बिसर्जनतिर अथवा पुँजीवादी भासमा धकेल्ने पुँजीवादी विचार ट्रेड युनियनवाद हो । संसारका अधिकांश देशको मजदुर आन्दोलनमा देखिएका यी रोग नेपालमा पनि देखापर्नु कुनै आश्चर्यको विषय होइन । अर्थवाद र टे«ड युनियनवादले मजदुरहरूको अल्पकालीन फाइदा गरे पनि दीर्घकालीन हित गर्दैन । मजदुर वर्गको बृहत् हित राज्य व्यवस्था र राजनीतिसँग अन्योन्यास्रित रूपमा जोडिएको विषय हो । मजदुर वर्गको हित राजनीति र राज्य व्यवस्थाबाट टाढा रहन सक्दैन । तसर्थ मजदुर आन्दोलन समाजको आमूल परिवर्तन गर्ने समाजवादी आन्दोलनकै हिस्साको रुपमा विकास गर्न जरुरी छ ।
नेपालको आन्तरिक औद्योगिक उत्पादन निकै कम भए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाल सस्तो मजदुरहरूको देशका रुपमा परिचित छ । नेपाली मजदुरहरूले विभिन्न पुँजीवादी देशहरूमा ज्यामीको रुपमा काम गरिरहेका छन् । नेपालमा जमिन बाँझो छोडेर विदेशमा नेपाली पाखुरा बजाउन जानुका नकारात्मक पक्ष छन् । तर, नेपाली युवाहरूले हासिल गर्ने पुँजीवादी व्यवस्थाको शोषणमूलक चरित्रको अनुभव भने सकारात्मक पक्ष हो । यही अनुभवले नेपालमा पनि क्रान्तिकारी आन्दोलनको विकास गर्न जग राख्नेछ ।
पुँजीवादी व्यवस्था कुनै एउटा देशको सिमानाभित्र कैद व्यवस्था होइन । पुँजीवादी व्यवस्थाले संसारका हरेक कुनाका प्राकृतिक स्रोत साधनको दोहन गरेजस्तै संसारका जुनसुकै देशका मजदुरमाथि पनि शोषण गर्ने गर्छ । पुँजीवादले जुनसुकै देशका मजदुरमाथि शोषण गर्ने गरेकोले मजदुर आन्दोलन पनि अन्तर्राष्ट्रिय आन्दोलनको रुपमा विकास भएको हो । एउटा देशका मजदुरहरूले आफ्ना शोषक वर्गविरुद्ध गरेको आन्दोलन वा दमनको प्रतिकारप्रति अर्को देशका मजदुरहरूले ऐक्यबद्धता जनाउनु अन्तर्राष्ट्रिय कर्तव्य हो । मे दिवसको अवसरमा मजदुरहरूबीच आफ्ना पेशागत समस्या, आफ्नो देशको पुँजीपति वर्गले गरिरहेको शोषण र अन्तर्राष्ट्रियरूपमा मजदुर आन्दोलनको अवस्थाबारे छलफल र बहस चलाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *