भर्खरै :

झूटको खेती गर्दै साम्राज्यवाद

संरा अमेरिकी ट्रम्प सरकारको आड प्राप्त भेनेजुयलाका अवैध ‘अन्तरिम राष्ट्रपति’ ह्वान ग्वाइडोले मङ्गलबार निकै अभद्र नाटक मञ्चन गरे । कोरलोटा हवाई सैनिक अड्डाका केही सिपाहींले विद्रोह गरी आफूलाई समर्थन गरेको भनी उनले नक्कली समाचार सम्प्रेषण गरी भेनेजुयाली जनता र संसारलाई भ्रममा पार्ने प्रयास गरे । तर, ग्वाइडोको यो प्रयास केही घण्टा पनि टिकेन । माडुरो सरकारविरूद्ध सम्भावित हमलाको प्रतिरोध गर्न भेनेजुयाली सरकारको आह्वानमा जनता सडकमा उत्रे । सेना, कर्मचारी र राजनीतिक नेतृत्वले माडुरोप्रति आफ्नो समर्थन अझ बलियो भएको र कुनै पनि हमलाको कडा प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
केही पश्चिमा सञ्चारमाध्यमले केही सीमित सरकारविरोधी मानिसको भीडका तस्वीर र दृश्य देखाएर माडुरो सरकारको पक्षमा जनता नभएको देखाउने असफल प्रयास गरे । उनीहरूले माडुरो सरकारको बचाऊमा मिराफ्लोर्स राष्ट्रपति भवनअघि उत्रेका लाखौँ जनतालाई भने प्रकाशमा ल्याएनन् । पुँजीवादी सञ्चारमाध्यमले ग्वाइडोको भ्रमपूर्ण समाचारको खण्डन गर्नुको सट्टा ‘माडुरो भाग्न खोजेको’ जस्ता झुठा प्रचार गरे । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले पनि यस्तै झुठको खेती गर्ने प्रयास गरे । तर, संसारले केही समयपछि नै भेनेजुयलाका सबै सेना माडुरो सरकार, भेनेजुयाली संविधान र सार्वभौमिकताको पक्षमा उभिएको वास्तविकता थाहा पाए । भेनेजुयलामा जनताले चुनेको निर्वाचित गरेको माडुरो सरकारलाई बदनाम गर्ने साम्राज्यवादी प्रयास फेरि एकपटक असफल मात्र भएको छैन । बरू साम्राज्यवाद र झुठको खेती गर्ने सञ्चारमाध्यम आफै नाङ्गिए ।
भेनेजुयलामा साम्राज्यवादले लामो समयदेखि राजनीतिक अस्थिरता थोपरेर कब्जा जमाउने प्रयास गरिरहेको छ । ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रलाई आफ्नो ‘करेसाबारी’ मान्ने संरा अमेरिकी शासक वर्गको मुनरो सिद्धान्तअनुसार यतिबेला ट्रम्प सरकारले भेनेजुयला, क्युवा, निकारागुआलगायत साम्राज्यवादविरोधी देशमाथि एकपछि अर्को नाकाबन्दी थोपरिरहेको छ । उनीहरू ल्याटिन अमेरिकी देशका प्राकृतिक स्रोत–साधनमाथि कब्जामात्र जमाउन खोजिरहेका छैनन्, बरू कुनै पनि अरू देशलाई ल्याटिन अमेरिकामा पस्न निषेध गर्न खोजिरहेका छन् । त्यसको निम्ति ट्रम्प सरकारले क्युवा र निकारागुआजस्ता साम्राज्यवादविरोधी मोर्चालाई कमजोर र छिन्नभिन्न बनाउन अनेकन प्रपञ्च रचिरहेका छन् । साथै ब्राजिललगायतका देशको सत्तामा अतिदक्षिणपन्थी शक्ति ल्याएर वामपन्थी शक्तिलाई दुःख दिइरहेका छन् ।
ल्याटिन अमेरिकी साम्राज्यवादविरोधी देशहरूको सबभन्दा ठूलो शक्ति भनेको त्यहाँका साम्राज्यवादविरोधी क्रान्तिकारी जनता हुन् । क्युवा, निकारागुआ र भेनेजुयलाका नेतृत्वमाथि विगतमा पनि पटक–पटक हमला भएका थिए । त्यस्ता हरेक हमलाबाट साम्राज्यवादविरोधी नेतृत्वको रक्षा गर्ने काम त्यहाँका जनताले गर्दै आएका छन् । निःसन्देह भेनेजुयला आज सङ्कटमा छ । तर, यो सङ्कटको स्रोत संरा अमेरिकी साम्राज्यवाद नै हो । यस्तो सङ्कटको समयमा भेनेजुयाली जनता हजारौं प्रतिकूलताको सामना गरिरहेका छन् । तथापि उनीहरू साम्राज्यवादसामु झुक्न तयार छैनन् । उनीहरू आफ्नो दैनिक जीवनमा आइपरेका केही प्रतिकूलताको समाधान गर्न देशको सार्वभौमिकता बेच्न तयार छैनन् । तिनै क्रान्तिकारी जनता आफूले चुनेको राजनीतिक नेतृत्वको रक्षामा आज पनि काराकसका सडकमा उत्रेका छन् । भेनेजुयलामा साम्राज्यवादी हस्तक्षेपको विरोधमा बुधबार संसारभरका जनताले साम्राज्यवादको विरोध गरे । बुधबारको मे दिवसको अवसरमा आयोजित क्रान्तिकारी जनताको जुलुसमा श्रमिक जनताले माडुरो सरकारको पक्षमा आवाज उठाए । संसारभरका यिनै जनताको शक्तिशाली आवाज नै साम्राज्यवादविरूद्ध लड्ने सबभन्दा प्रभावशाली हतियार हो । भेनेजुयाली जनताको पक्षमा ऐक्यबद्धता विश्वका न्यायप्रेमी जनताको अन्तर्राष्ट्रिय कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *