भर्खरै :

विभिन्न जिल्लामा मे दिवस

कालीकोट, १९ वैशाख । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सदरमुकाम मान्ममा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले मजदुरहरू देश निर्माणका मेरूदण्ड भएको चर्चा गर्दै मजदुरहरूको गाँस, बास र स्वास्थ्य उपचारको ग्यारेन्टी राज्यले बहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला समिति कालीकोटका अध्यक्ष नवराज कोइरालाले नेकपा सरकारले मजदुरहरूको हक–हितबारे कुनै काम नगरेको चर्चा गर्दै पुँजीपति, कालाबजारी, तस्करीहरूको संरक्षणमा ओली सरकार लागिपरेको बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाही, आयोजक समितिका सचिव खड्गराज शाही र धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
सुर्खेत
नेक्रामजदुर सङ्घ सुर्खेतको आयोजनामा कोणसभा सम्पन्न भयो । सभामा नेमकिपा सुर्खेतका संयोजक हरिबहादुर बोहराले मजदुर दिवसको इतिहासबारे जानकारी दिँदै मजदुर आन्दोलनको जीतलाई सम्झना गरी मजदुर दिवस मनाउने गरेको चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष अकलबहादुर रानाले नेकपा सरकारले कम्युनिस्टको नाम लिएर नेपाली मजदुरको अहितमा काम गरिरहेको हुँदा मजदुरहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा शेरबहादुर शाही र निरकबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
जुम्ला
नेपाल मजदुर किसान पार्टी जुम्लाको आयोजनामा तातोपानी गाउँपालिकाको भित्ताकोटमा १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा खुला जनसभा भयो ।
उक्त जनसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य दिल्लीप्रसाद काफ्लेले विश्वमा भएका मजदुर आन्दोलनबारे चर्चा गर्दै खेत खलिहान र कलकारखानामा पसिना बगाउनेहरू शारीरिक मजदुर र वैज्ञानिक, डाक्टर, इन्जिनियरलगायतका तलबदारीहरू बौद्धिक मजदुरहरू हुने बताउनुभयो । उहाँले शोषण अन्त गरी परिवर्तन चाहनेहरू क्रान्तिकारी मजदुरहरू हुन् भने व्यक्तिगत स्वार्थका लागि शोषणको विरोध नगर्ने ट्रेड युनियनवादीहरू प्रतिगामी मजदुर हुन् भन्नुभयो । दुईतिहाइ बहुमतको सरकार कम्युनिष्ट भनिए तापनि सरकारी बजेट, नीति तथा कार्यक्रमहरू पुँजीवादी भएको हुँदा यो सरकार पुँजीपति वर्गको सरकार हो, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जुम्लाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले प्रजातन्त्र र गणतन्त्रपछिको सरकारले पनि राणा, पञ्चायत र प्रतिगामीकै शैलीमा शासन र शोषण गरेको हुँदा सो पार्टी प्रतिगामी हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य विर्ष सार्की, नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला अध्यक्ष विर्ष रावत, जिल्ला सदस्य यज्ञ बुढ्थापा, कर्मचारी समाजका पूर्व केन्द्रीय सदस्य पूर्णलाल खत्री, पूर्व जिल्ला समिति सचिव हस्त कँुवर र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जिल्ला अध्यक्ष नरबहादुर खत्रीलगायतले बोल्नुभएको थियो । कार्यक्रम टङ्क कार्कीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *