भर्खरै :

नक्कली भ्याट बिल बनाई सात अर्बको कर छली, पाँच सयको पहिचान

नारायण ढुङ्गाना
काठमाडौँ, १९ वैशाख । मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ ।
विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरूले अनुमानित रु. सात अर्ब कर छली गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ । त्यसमध्ये २४ घटनामा १६ माथि रु. एक अर्ब ६५ करोडको बिगो जरिवाना र तीन वर्ष कैद माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरिएको र बाँकीको अनुसन्धानपछि मुद्दा दर्ता गरिने विभागको भनाइ छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले भन्नुभयो, “सामान्य आँखाले हेर्दा सबै प्रक्रिया ठिक्कै छ, एसीपे चेक छ, आय विवरण पनि देखिन्छ, राजस्व तिरेको पनि छ, खरीद के छ भनेर खोज्दै जाँदा केही छैन, आर्थिक हैसियत पनि देखिँदैन, नक्कली बिल बनाएको हुन्छ, यो सबै भित्री तहमा गएर सूक्ष्म अनुसन्धानपछि मात्रै पत्ता लाग्छ ।”
असी जनामा गरिएको अनुसन्धानमा भने कारोबार नगरी बिलमात्रै बेच्ने गरेको पाइएको छ । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गर्नेसमेत छन् । कतिपयले भने आफ्नै कर्मचारीसँग खरीद बिक्री गरेको बनाएर भुक्तानी दिँदै कर छली गरेका छन् ।
सार्वजनिक क्षेत्रको निर्माण, व्यापार र सेवा क्षेत्रमा यस्ता गतिविधि पाइएकोले आर्थिक अनुशासनको कारबाही तीव्र पारिएको हो । भन्सार चोरीपैठारी, अण्डर बिलिङ, खरीदबिक्रीसम्बन्धी कागजमा मूल्य मिलाएर कर छली गरिएका घटना छन् । व्यवस्थापन र सञ्चालक एउटै भएकोमा बढी यस्ता घटना देखिएको महानिर्देशक मैनालीको भनाइ छ ।
जसमा कर सहयोगी र अडिटरसमेत संलग्न भएका पाइएका छन् । एकपटक आयात गरेपछि त्यसैलाई देखाएर सामान पटकपटक ल्याउने अवस्था देखिएकोले यसलाई पनि विभागले कानुनको दायरामा ल्याएको छ । “प्रधानमन्त्रीको स्पष्ट निर्देशन छ, भोटर होस् या नेता, कसैलाई छाडिँदैन”, मैनालीले भन्नुभयो । विगतमा सङ्गठितरूपमा आर्थिक अपराध हुने गरेको भए पनि पछिल्लो समयमा व्यक्तिगतरूपमा आर्थिक अपराध भइरहेको उहाँले बताउनुभयो । अहिले राजस्वको उच्च जोखिमका क्षेत्र पहिचान गरेर अनुसन्धान केन्द्रित गरेर प्रणालीगत सुधारमा विभाग लागेको जनाइएको छ ।
यसअघि फागुन मसान्तसम्ममा विभागले ६४ मुद्दामा १६७ विरुद्ध रु. १३ अर्ब ५५ करोड बिगो जरिवाना र तीन वर्षसम्मको कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरिसकेको छ । जसमा एक भन्सार अधिकृतसहित आठ सरकारी कर्मचारीसमेत छन् ।
मूल्य अभिवृद्धि कर (भ्याट) बिल/प्यान बिल नक्कली बिजक बिक्री गरी राजस्व छल्नेदेखि नक्कली कारोबार गर्ने, अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्ने, वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत अवैधरूपमा अन्तरदेशीय कारोबार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने गिरोह र अर्थतन्त्रलाई उन्नत हुन नदिने सङ्गठित अपराधविरुद्ध कारबाही चलाएको थियो ।
मजदुरलाई प्रलोभनमा पारी फार्म खडा गरेर झूटा तथा नक्कली बिजक बिक्री गरी राजस्व छली गरेका घटनासमेत छन् । उक्त आरोपमा जयकिशोर साह र परमेश्वर साहमाथि रु. एक अर्ब ७५ करोड बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको कसुरमा स्काई ओभरसिज सर्भिसेस प्रालि काठमाडौँका सञ्चालक बलबहादुर तामाङमाथि बिगो र जरिवानासहित रु १९ करोड ५७ लाख र तीन वर्ष कैदसजाय मागदाबीसहितको मुद्दा चलाइएको छ ।
नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठ निर्माणका काम तथा सेवा सुविधामा ढिलासुस्तीका समस्या कायमै रहे पनि सरकारले चालेका कदमलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुहुन्छ । अर्थ मन्त्रालयबाट विसं २०७४ फागुन १३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएको विभागले अनुसन्धान गरी सरकारी वकिलको रायअनुसार अदालतमा मुद्दा चलाउने अधिकार प्राप्त छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *